शुक्रवार , मंसिर ५, २०८२
भैरहवा, ५ मंसिर । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रोशन ज्ञवालीले बजार अनुगमन गर्ने अधिकार प्रदेश र स्थानीय सरकारको पनि भएको बताउनुभएको छ । उहाँले संघीयतापश्चात अधिकार र जिम्मेवारी पाएका प्रदेश र स्थानीय सरकारका निकाय सक्रिय नहुँदा वाणिज्य विभागमा कामको चाप बढेको बताउनुभयो ।
विभागले बिहीवार रुपन्देहीको भैरहवामा आयोजना गरेको लुम्बिनी प्रदेशमा रहेका विद्युतीय कारोबार (ई–कमर्श) सम्बन्धि व्यवसाय गरिरहेका उद्योगी–व्यवसायीहरुसँग तथा उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रममा महानिर्देशक ज्ञवालीले यस्तो बताउनुभएको हा । ‘प्रदेश र स्थानीय तह जुन रुपमा अनुगमनमा सक्रिय हुनुपर्ने हो, त्यो हुन सकेको छैन । त्यसकारण विभागमा कामको चाप बढेको छ, ’उहाँले भन्नुभयो ।उहाँले समस्या समाधानका लागि अफ्ठयारा परेका विषयमा सुझाव दिन उद्योगी–व्यवसायीलाई आग्रह गर्नुभयो ।
‘ई–कमर्श नयाँ ट्रेण्ड हो, आवश्यकता हो, चाहेर÷नचाहेर यसलाई स्कीप गर्न सकिदैन, महानिर्देशक ज्ञवालीले भन्नुभयो–‘हाम्रा केही निश्चित दायित्व पूरा गर्नुपर्छ । ई–कमर्शका माध्यमबाट ठगिने घटना बढेको छ ।’
उहाँले व्यवसायी र उपभोक्ताका कमजोरीका कारण मात्र नभइ दुवैको कमजोरी रहेको बताउनुभयो । उहाँले उपभोक्ता सचेत हुनुपर्नेमा जोड दिनुभयो । एउटा नाममा अर्को व्यवसाय गर्न नपाइने उहाँको भनाइ छ ।
‘खाद्यान्न पसल दर्ता गरेर जुत्ता बेच्न पाइँदैन, ’उहाँले भन्नुभयो–‘फरक कारोबार गर्न फरक दर्ता गर्नुपर्छ ।’ राज्यकोतर्फबाट केही कमजोरी भए सुझाव दिन आग्रह गर्दै सबै पक्षमा राज्यको कमजोरी नठान्न उहाँले आग्रह गर्नुभयो ।
उहाँले उपभोक्ता संरक्षण ऐनले मूल्य निर्धारणको मापदण्ड तयार गर्नुपर्ने भने पनि त्यो अहिलेसम्म तयार हुन नसकेको बताउनुभयो । महानिर्देशक ज्ञवालीले विभिन्न समयमा विभिन्न प्रयासहरु भए तापनि मूल्य कसरी निर्धारण गर्ने भन्ने अनुत्तरित प्रश्न गरेको बताउनुभयो । उहाँले मुलुकभित्रै उत्पादन भएका वस्तुलाई अर्को जिल्लामा विक्री गर्दा एमआरपी राख्न समस्या हुने जस्तो नलागेको बताउनुभयो । ‘हामीलाई नयाँ अभ्यासमा जाने चरणमा जाने क्रममा हरेक कुरालाई अफ्ठयारोको रुपमा महसुस गर्ने मानवीय स्वभावका कारणले केही समस्या सिर्जना भएका छन्, ’उहाँले भन्नुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कूल प्रसाद न्यौपानेले अनुगमन एकद्वार प्रणालीबाट गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बढी जरिवाना तिराउनु मात्रै समस्याको समाधान नभएकोमा जोड दिनुभयो । अनुगमन चाडपर्वमा मात्र नभइ नियमित गर्नुपर्ने बताउनुभयो । उहाँले अनुगमन आउँदा व्यवसायी सटर खोलेर बस्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले सरकारबाट सेतो मटर आयात नभए पनि बजारमा देखिएको, बजारमा कसरी देखियो र अनुगमन खै भन्दै प्रश्न गर्नुभयो । उहाँले उद्योगी–व्यवसायीलाई आयात गर्ने बाटो किन बन्द गरिएको भन्दै पनि प्रश्न गर्नुभयो ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले वैद्य व्यापारलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष तेज कुमार पाठकले स्वच्छ वातावरणमा बस्न पाउने अधिकार कुण्ठित गर्न नपाइने बताउनुभयो । उहाँले उपभोक्ता अनलाईन खरिदबाट ठगिएको बताउनुभयो ।
कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य प्रितम रौनियार, रचना क्षेत्री लगायतले बोल्नुभएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij