२०८२, मंसिर ५ गते

Nov 21 2025 | २०८२, मंसिर ५ गते

कार्तिकमा ३९ फरार प्रतिवादी पक्राउ

शुक्रवार , मंसिर ५, २०८२

  • 166
    Shares
  • 166
    Shares
  • भैरहवा, ५ मंसिर । रुपन्देही प्रहरीले एक महिनाको अवधिमा ३९ जना फरार प्रतिवादी पक्राउ गरेको छ । अदालतबाट २६ वर्ष ८ महिना २५ दिन कैद सजाय तोकिएका ३९ जना फरार प्रतिवादी पक्राउ गरिएको र उनीहरुबाट ८ लाख ६ हजार ८ सय ३५ रुपैयाँ जरिवाना असुलउपर गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सुरज कार्कीले बताउनुभयो ।

    त्यस्तै प्रहरीले कार्तिकमा करिब १ करोड ५९ लाख ९३ हजार ६ सय ५७ रुपैयाँ बराबरको अवैध सामानहरु सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको टोली विभिन्न स्थानहरुबाट भन्सार छली चोरी निकासी गरी भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरिएका विभिन्न सामान बरामद गरेको हो ।

    बरामद गरिएका सामान, २७ वटा मोटरसाइकल, एउटा कार, चारवटा पीकअप, दुईवटा अटोरिक्सा र ३२ जना व्यक्तिलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय, पशु चेकपोस्ट कार्यालय बेलहिया र राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

    त्यसै गरी प्रहरीले अवैध माटो तथा बालुवा उत्खनन् गरिरहेको अवस्थामा सवारीसाधनहरुलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि सम्बन्धित स्थानीय तहको कार्यालयमा पठाइएको छ । दुईवटा ट्याक्टर, ३ वटा टिप्पर, हाईवा र एउटा जे.सि.भी. नियन्त्रणमा लिइएको र सम्बन्धित पालिकाबाट २ लाख ५३ हजार रुपैयाँ जरिवाना भएको प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।

    कार्तिकमा रुपन्देहीमा २६ वटा आत्महत्याको घटना भएको प्रहरीले जनाएको छ । त्यस्तै सोही महिनामा जिल्ला प्रहरी कार्यालय तथा मातहत संयुक्त रुपमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीसँग गरिएको चेकजाँचमा ४२२ सवारीसाधनलाई कारवाही गरिएको र त्यसबाट ४ लाख ३७ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ ।