२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

जनै धागोमा आत्मनिर्भर बन्दै राधा धागो उद्योग 

बुधवार , कार्तिक १२, २०७७

बुटवल, १२ कार्तिक । 
विगतमा भारतबाट आयात हुने करोडौं रुपैयाँको जनै धागोलाई विस्थापित गरी नेपाली जनै धागो उत्पादनमा आत्मनिर्भर बन्ने उद्देश्यका साथ बुटवलमा राधा धागो उद्योग स्थापना भएको छ । भारतबाट आउने बैद्धिक जनै र शास्त्रीय रक्षाबन्धनका साथै नेपाली बजारमा समेत उत्पादन गरिने कतिपय नक्कली जनै र रक्षाबन्धनलाई समेत विस्थापन गर्ने उद्देश्यले बुटवलमा शास्त्रिय र बैदिक जनै धागो उद्योग स्थापना गरिएको हो । यसबाट स्वदेशमै जनै धागो उत्पादन हुने, रोजगारीको अवसर सिर्जना हुने र झण्डै ८० प्रतिशत बजार समेत ओगट्न सफल हुने विश्वास गरिएको छ । 

विगतमा वर्षेनी करोडौं रुपैयाँको जनै, रक्षाबन्धन लगायतका धागोजन्य सामाग्रीहरु भारतबाट आयात हुने गरेकोमा हाल बुटवलस्थित राधा बैद्धिक तथा शास्त्रीय धागो उद्योगमा उत्पादित जनै तथा पवित्र धागोहरु नेपालका अधिकांश स्थानमा पुग्ने गरेका छन । स्वदेशमै विधिवत बैद्धिक एवं शास्त्रिय जनै उत्पादन हुन थालेपछि एकातर्फ वर्षेनी भारत जाने करोडौं रुपैयाँ नेपालमै रोकिएको छ भने यसरी बनाइएको जनै तथा रक्षाबन्धन मिसावटरहित र पवित्र पनि हुने धार्मिक विद्धान बुद्धि प्रसाद शर्माको भनाइ छ । शर्मा भन्छन्—हामी आफैले विधिपूर्वक बनाउने हुनाले यो शतप्रतिशत शुद्ध पनि छ ।  

राधा धागो उद्योगका संचालक समेत रहेका शर्माका अनुसार विगतमा हरेक वर्ष करोडौं रुपैयाँको जनै, रक्षाबन्धन लगायतका पूजाआजामा प्रयोग गरिने पवित्र धागोहरु भनिने सामाग्रीहरु भारतबाट आयात हुने गर्दथ्यो । हाल नेपालमै उत्पादन गरेर पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म जनै, रक्षाबन्धन, लक्षबत्र्ती र अन्य पवित्र धागोहरु आपुर्ति गर्ने गरिएको छ । कुल २२ लाख रुपैयाँको लागतमा स्थापना गरिएको बुटवल ४ राममन्दिर स्थित सो पवित्र धागो उद्योगले यस वर्ष ३० लाख भन्दा बढीको जनै, रक्षाबन्धन लगायतका शास्त्रिय र बैदिक सामाग्री उत्पादन गरी विक्री वितरण गरेको छ । 

radha.jpgविश्वब्यापी महामारीका रुपमा फैलिरहेको कोरोना कहरका कारण यस वर्ष उत्पादन र विक्री पनि कम भएको संचालक शर्माको भनाइ छ । सो उद्योगले जनै उत्पादनमा आत्मनिर्भर बनाउनुका साथै भारतीय जनैको आयात कम गर्न ठूलो सहयोग गरेको स्थानीय जनै धागो व्यापारी नुरु प्रसाद पाण्डे बताउँछन् । पाण्डे भन्छन्–पहिले जनै तथा रक्षाबन्धन लगाएतका पुजा सामग्रीका रुपमा प्रयोग हुने धागोहरु भारतबाट आउने गर्दथ्यो । अहिले झण्डै ८० देखि ९० प्रतिशत बजार नेपाली उत्पादनले नै धानेको छ । 
जनै, सप्तऋषिलाई तर्पण दिई प्रत्येक डोरामा हुने नौ सराका तन्तुदेवताहरु र शिखामा ब्रह्मा, विष्णु, महेश्वर र जगत्जननीको पूजा गरी गायत्री मन्त्रद्वारा मन्त्रित गरिने शास्त्रीय र वैद्धिक जनैका सम्पादनकर्ता समेत रहेका शर्माले बताए । पछिल्लो समय नक्कली जनैको बिगबिगीले बजारमा असर परेको भन्दै बुटवल, भैरहवा, पाल्पा, गुल्मी, अर्धाखाँची लगायत नेपालका विभिन्न भागमा आफ्नो उद्योगले बैद्धिक उत्पादन पठाउने गरेको शर्माको भनाइ छ । 

1234.jpgहाल पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका बिभिन्न जिल्लामा बुटवलमै उत्पादन गरिएका जनै, रक्षाबन्धन लगायतका पवित्र धागोहरु प्रयोग गर्ने गरिएको छ । यो उद्योगले स्थानीय स्तरमा धर्म संस्कृति धान्न मात्र सहयोग गरेको छैन, ४ दर्जन बढी मानिसलाई प्रत्यक्ष अप्रत्यक्ष रोजगारी समेत दिएको शर्माले बताए ।