
आइतवार , फाल्गुण २९, २०७८
रुपन्देही, २९ फागुन ।
सैनामैना खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सैनामैनाको आठौं साधारणसभा आइतबार सम्पन्न भएको छ । साधारणसभाको लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले उद्घाटन गर्दै आम नागरिकले शुद्ध पानी पिउनुपर्ने बताए ।
मन्त्री खाँले मानव जीवनका लागी शुद्ध पानी अपरिहार्य भएका कारण पिउने पानीको अभावमा विभिन्न समस्या उत्पन्न हुने बताए । प्रत्येक उपभोक्तालाई सर्वसुलभ तथा छरितो तरिकाले पानी दिनुपर्नेमा जोड दिदैै प्रदेश सरकारबाट आवश्यक सहयोग रहने मन्त्री खाँको प्रतिबद्धता रहेको थियो ।
त्यस्तै कार्यक्रममा नेपाली कांग्रेसका रुपन्देहीका पूर्व जिल्ला उपसभापति फणेन्द्र प्रसाद शर्माले स्वस्थ र निरोगी बन्न पानीको आवश्यकता रहेको बताए । जनताले शुद्ध पानी पाउनुपर्ने अधिकार भएको शर्माले बताए ।
कार्यक्रममा संस्थाका अध्यक्ष कविराम कुंवरले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दैै संस्थाले आम उपभोक्तालाई शुद्ध पानी पुर्याएको बताउँदै पाइपलाइन विस्तारलाई समेत तीव्रता दिएको बताए । पानीको पहँचका लागि गरीब तथा विपन्न परिवारलाई निःशुल्क धारा जडान गरेको अध्यक्ष कुंवरले बताए ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) सैनामैनाका अध्यक्ष मान बहादुर महत, खानेपानी महासंघ जिल्ला अध्यक्ष धुर्व कुमार धिताल, सैनामैना वडा नम्बर १ का वडा अध्यक्ष केयरसिंह गलामी लगायतले बोलेका थिए ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष धन बहादुर थापाले आर्थिक प्रतिवेदन पेश गरेका थिए भने संस्थाका सचिव रेशम खाँणले कार्यक्रमको सञ्चालन गरेका थिए । सामुदायिक वनको प्रांगणमा भएको कार्यक्रममा सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत भएको संस्थाका व्यवस्थापक सुमन परियारले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij