२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

कोरोनाका कारण बस व्यवसायी मारमा

चाडपर्वमा रित्तै हिड्नुपर्ने वाध्यता

शुक्रवार , कार्तिक ७, २०७७

बुटवल, ७ कार्तिक । 
हरेक वर्ष दशैं आयो भनेपछि अन्य जस्तै यातायात व्यवसायीहरु पनि निकै उत्साहित हुन्थे । वर्षभरी सामान्य रुपमा संचालन भए पनि दशैं नजिकिएसँगै खासगरी बस व्यवसायीहरु मनग्य आम्दानी हुने कुरामा निश्चिन्त हुन्थे । महिना दिनसम्म खचाखच यात्रु भरेर गुड्ने गरेका बसहरु अहिले भने रित्तै दगुरेका देखिन्छन् । 

बसपार्कमा रहेका टिकट काउण्टरहरु खाली छन् । हिजो आज बसपार्कमा यात्रुहरु भन्दा बढी गाडी मालिक र स्टाफहरुको मात्र भिडभाड देखिन्छ । बस व्यवसायी भन्छन्–सरकारले यातयात संचालन गर्नका लागि स्वास्थ्य सुरक्षाका उपायहरु अपनाएर मापदण्ड अनुरुप सवारीसाधन चलाए पनि यात्रु छैनन्  । 

तम्घासबाट काठमाण्डौंका लागि गुडेको लु २ ख ३८९ नम्बरको डिलक्स बसले जाँदा १२ जना यात्रु लिएर गएको र फर्किदा १० जना मात्र लिएर आएको चालक बासुदेव अर्याल बताउँछन् । गाडी चलाएर यात्रुबाट कमाउनु त कुरै छोडौं, काठमाडौं पुगेर आउँदा ५ देखि ७ हजार बढी खर्च हुन्छ र उल्टै साहुले तिर्नुपर्छ । अर्यालका अनुसार लकडाउनका कारण सवारीसाधन लामो समयदेखि थन्काएर राखिरहदा इञ्जिनमा खिया लाग्ने डर, लाईट व्याट्री लगायतका सामाग्री बिग्रने डर लगायतका कारणले सवारीसाधन बाटोमा निकालेको बताए । अर्याल भन्छन्–संचालन खर्च र मर्मत सम्भार खर्च उठाउनै धौधौ छ । 

उता बुटवलदेखि बुर्तिवाङ्ग हिडेको लु २ ख ४६१ नक्बरको डिलक्स यात्रुबाहक ४२ सिट क्षमताको बस बसपार्कबाट ८ जना मात्र यात्रु लिएर गन्तव्यका लागि गुड्यो । बाटोमा निस्केपछि चोकचोकबाट यात्रु पाइएला भन्ने आशामा गुडेको सार्वजनिक सवारीसाधनमा ८÷९ घण्टाको यात्रापछि बुर्तिवाङ्ग पुग्दा मात्र १० जना यात्रु । उताबाट फर्किदाँ त झन बस पुरै रित्तै । न त सवारी खर्च पुग्छ न त स्टाफ खर्च नै, प्रत्येक ट्रिपमा उल्टै ४ देखि ५ हजार घाटा गाडी साहुलाई हुन्छ । गाडीका चालक रमेश डुम्रेका अनुसार लामो समय थन्काएर राख्दा गाडी आफै जीर्ण बन्दै जाने डरले सवारीसाधनलाई कन्डिसनमा राख्न र सडकमा गाडी चलेका छन् है भन्नका लागि मात्र गाडी चलाइएको छ । 

नम्बर लागेर बसपार्कसम्म गए पनि यात्रु अभावमा ट्रिप मिस गरेर बसेको कतिपय चालक तथा व्यवसायीहरु बताउछन् । गुल्मी रुटका संयोजक विजय तिवारीका अनुसार जिल्लाका विभिन्न स्थानबाट संचालन गरिने रात्री बसहरुमा विगतमा दैनिक ५२ वटासम्म क्यिूव हिड्नेमा अहिले ५–६ कियू मात्रै गाडी हिड्को बताए । गाडी तेर्साएर राख्यो यात्रु आउदैनन् के गर्ने, अनि फर्किनुको विकल्पै छैन । तिवारी भन्छन्–बुटवलबाट बुर्तिवाङ्गका लागि दैनिक ४ वटा बस छुट्ने गरेकोमा अहिले दिनको १ मात्र चल्छ त्यो पनि भरिंदैन बरै ! बस काउण्टरमा दिनभरमा ५० भन्दा बढी यात्रु आउदैनन् कसरी चल्ने ? उनि प्रतिप्रश्न गर्छन् । 
काठमाडौं रुटमा गाडी संचालन गरेका व्यवसायीहरुले प्रत्येक ट्रिपमा ४ देखि ६ हजारसम्म गाडी मालिकले तिर्नुपरेको अवस्था रहेको काठमाण्डौं रुटका रात्री संयोजक लिलाधर खरालको भनाइ छ । यता सरकारले प्रत्येक दिन विभिन्न संचारमाध्यमबाट सकभर सार्वजनिक सवारीसाधनमा यात्रा नगर्नु भनि प्रचार गरिरहेको अवस्था एकापट्टी छ भने अर्कातिर यात्रु अभावका कारण गाडी स्टाफले भत्तासमेत पाउन नसकेको खराल बताउँछन् । 

विगतका वर्षहरुमा दशैंतिहार जस्ता ठुला चाडपर्वमा एक डेढ महिना अगावै अग्रिम टिकट बुकिङ्ग खुल्ने गरेकोमा यसपाली अग्रिम बुकिङ्ग खुलेकै छैन । बढीमा १० जना यात्रु बोकेर करोडौका सवारीसाधन गुडाउँदा सवारीसाधनलाई सम्भार गर्नका लागि गुडाइएको पश्चिम नेपाल वस व्यवसायी प्रा.लि.का संचालक गोपाल पौडेलको भनाइ छ । पौडेल भन्छन्– ५० प्रतिशत क्वियू घटाएर सवारी गुडाउन थालेको हिजो मात्रै पहिलो दिन पनि रात्री बसमा बुटवलबाट काठमाण्डौं जाने सबै बसका यात्रु संख्या जम्मा २१ थियो । यसरी कसरी चल्ने हामी, हाम्रो समस्या पिरमर्का कसले बुझ्ने, कसले हेर्ने ? सरकारसंग पटकपटक बैंक ब्याज, जरिवाना लगायतका विषयमा राहतका लागि सहयोगको अपिल गरेको भए पनि कुनै सुनुवाई भएन । 

कोरोना कहरका कारण लामो समयदेखि गुडन नसकेका सवारी लकडाउन खुलेसँगै रमाएका थिए तर यात्रु नपाउँदा निराश बन्न पुगेका छन् । लामो दरीमा गुड्ने सवारीसाधनले यात्रु नपाउँदा खाली गाडी गुडाउन बाध्य भएका छन् । झण्डै ६ महिनादेखि बन्द रहेका सार्वजनिक सवारीसाधन यात्रु नपाउँदा मारमा परेको व्यवसायीहरु बताउँछन् । 

गत चैत्र ११ गतेबाट सुरु भएको देशव्यापी लकडाउन असोज १ गतेसम्म झण्डै ६ महिना ठप्प रहेको यातयात क्षेत्र लकडाउन खुलेसँगै केही राहतको महसुस गरेका थिए । तर यातायात व्यवसायीले सोचे अनुरुप यात्रुहरु नपाउँदा निराश बन्न पुगेका छन् । करोड रुपैयाँ पर्ने सवारीसाधन, बैकको व्याज कर्मचारी पाल्न पनि धौंधौं परिहेको अवस्था छ । छोटो दुरीका केही सार्वजनिक सवारीसाधनले अलिअलि यात्रुहरु पाए पनि लामो दुरीका सवारीसाधनले यात्रु पाउन नसकेको गुनासो गर्छन् । ८/१० जनाको भरमा हिड्दा कमाउने भन्दा पनि उडाउने काम भइरहेको कतिपय व्यवसायीहरुको भनाइ छ । 

1.jpgचाडपर्व नजिकिएसंगै एक डेढ महिना अघिनै अग्रिम टिकट बुकिङ्ग खुल्ने भए पनि यसपटक घटस्थापना सुरु हुँदासम्म पनि यात्रुको चहलपहल नभएको कर्मचारीको गुनासोे छ । चाडपर्वमा सवारीसाधन नुग्दा थप सवारीसाधन थप्नुपर्ने विगतका दिन सम्झदै अर्का संचालक चेतनारायण बेल्वासे (गोली) बताउँछन् । बेल्वासेका अनुसार अहिले टिकट काट्नका लागि १० प्रतिशत मात्रै यात्रुहरु आउने गरेका छन् । अन्य ८० प्रतिशत व्यक्तिहरु ल्कडाउन अगावै गाँउमै रहेको र ५ प्रतिशत निजि साधन प्रयोग गर्ने र ५ प्रतिशत घर नजाने बताए । 

विगतका दिन सम्झदै समितिका कर्मचारीहरु भन्छन्–यो कोरोना कहरका कारण यसपाली आम्दानी शून्य रहेको भो, न त घर परिवार धान्न सकिने भो न त बैंकको व्याज थेग्न सारै समस्यामा परेको उनीहरुको गुनासोे छ । 

3.jpgIMG_4841.JPG