२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

रुपन्देहीको स्थानीय तहमा मतदाता नामावली संकलन मंसिर १७ देखि

बुधवार , मंसिर १५, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • भैरहवा, १५ मंसिर ।
    रुपन्देही जिल्लाभित्रका स्थानीय तहको केन्द्रमा मतदाता नामावली संकलन विशेष कार्यक्रम–२०७८ यही मंसिर १७ गतेदेखि सुरु हुने भएको छ । जसअन्तर्गत मर्चवारी, सम्मरीमाई, कोटहीमाई, मायादेवी, सियारी, गैडहवा गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा मंसिर १७ गतेदेखि सुरु हुने जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ । यी ७ वटा स्थानीय तहमा मंसिर १७ गतेदेखि पुस २ गतेसम्म मतदाता नामावली संकलन कार्यक्रम सञ्चालन हुने जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीले बताए ।

    त्यस्तै शुद्धोधन, कञ्चन, रोहिणी, ओमसतिया गाउँपालिका तथा देवदह, तिलोत्तमा, र सैनामैना नगरपालिकामा पुस ४ देखि पुस १८ गतेदेखि सञ्चालन हुने भण्डारीले जानकारी दिए । 

    ‘कुनै काम विशेषले आफ्नो स्थायी बसोबास भएको जिल्लाबाट अन्य जिल्लामा बसोबास गर्ने नागरिकले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न छुटेको भए दर्ता गर्नका लागि २०७८ मंसिर १७ गतेदेखि जिल्ला निर्वाचन कार्यालय, रुपन्देहीमा आफ्नो सक्कल नागरिकता प्रमाणपत्र साथै सो को फोटोकपीसहित उपस्थित भई मतदाता नामावलीमा दर्ता गराउन सकिनेछ, ’उनले भने ।

    जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय रुपन्देही र ईलाका प्रशासन कार्यालय बुटवलमा भने निरन्तर रुपमा मतदाता नामावली दर्ता चलिरहने उनको भनाइ छ । ईलाका प्रशासन कार्यालय, बुटवलले बुटवल उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले सिद्धार्थनगर नगरपालिकाको समेत निरन्तर मतदाता नामावली दर्ता गर्ने भण्डारीले जानकारी दिए ।

    ‘कोभिड–१९ तथा अन्य कारणले रोकिएको मतदाता नामावली सकंलन तथा अद्यावधिक कार्यक्रम पालिकास्तरमा लैजादैछौं, फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रम १५–१५ दिन हुँदैछ, ’उनले भने । 

    जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले मतदाता नामावली संकलन विशेष कार्यक्रम २०७८ सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम बुधबार भैरहवामा सम्पन्न गरेको छ । 

    कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मतदाता नामावली संकलन कार्यक्रम सञ्चालन गर्दा कुनै समस्या भए सहकार्य गरेर समाधान गरिने बताए । उनले यो अभियानमा सहयोग गर्न स्थानीय तहका प्रतिनिधिहरुलाई आग्रह गरे । ‘तीनै तहको निर्वाचन सम्पन्न गर्नु छ, मतदाताको नामावली संकलन महत्वपूर्ण कार्य हुनेछ, ’प्रजिअ तिवारीले भने । उनले मतदाता नामावलीमा धेरै भन्दा धेरै नागरिकलाई समावेश गर्न सकिए उपलब्धीमुलक हुने बताए । 

    बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले सबै नागरिक मतदाता नामावलीमा समावेश गर्नुपर्ने बताए । उनले विश्वसनीयता प्रविधिमा सजगता अपनाउन निर्वाचन आयोग/कार्यालयलाई आग्रह गरे ।

    जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका नायब सुब्बा बाबुराम आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    मतदाता नामावलीमा नाम दर्ता गर्न चाहने नागरिकले पेश गर्नुपर्ने कागजात

    (क) नेपाली नागरिकताका सक्कल प्रमाणपत्र अनिवार्य हुने । नागरिकतामा उल्लेख भएको स्थायी ठेगानामा नाम समावेश गर्न चाहनेको हकमा नेपाली नागरिकताको प्रमाणपत्रबाहेक अन्य थप प्रमाण आवश्यक नपर्ने ।

    (ख) नागरिकतामा उल्लेख भएको स्थायी ठेगाना भन्दा फरक स्थानको मतदाता नामावलीमा नाम समावेश गर्न चाहेको भए देहायबमोजिमको थप प्रमाण अनिवार्य पेश गर्नुपर्ने :

     –  नाम दर्ता गर्न चाहेको स्थानमा बसाई सरी आएकोमा बसाईसराई  प्रमाणपत्रको प्रतिलिपि (एउटै स्थानीय तहभित्रको फरक वडाको हकमा समेत)

    –  नाम दर्ता गर्न चाहेको स्थानमा विवाह भइ आएकोमा विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि ।

    (ग) मतदाता नामावली ऐन, २०७३ को दफा ७ को उपदफा (१) बमोजिम कुनै गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडामा बसोबास गर्दै आएको व्यक्ति भन्नाले बुँदा नं. (क) वा (ख) बमोजिम पेश गरेको प्रमाणमा उल्लेख भएको ठेगानामा बसोबास गर्ने व्यक्तिलाई मात्र बुझ्नुपर्नेछ । कुनै गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडामा बसोबास गर्दै आएको भनी सिफारिस गरिएका अन्य प्रमाणलाई स्थायी ठेगानाको आधार नमान्ने ।

    (घ) नाम दर्ता गराउन आएको व्यक्तिको नागरिकताको प्रमाणपत्रमा जन्म मिति, उमेर वा बासस्थान अस्पष्ट वा उल्लेख नभएको अवस्थामा मात्र मतदाता नामावली ऐन, २०७३ को दफा ११ को उपदफा (१) र (२) बमोजिमको थप प्रमाणहरु माग गरी स्पष्ट हुने ।