सोमवार , आश्विन २६, २०८३
भैरहवा, २६ असोज । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ मा आयोजित तेस्रो वडास्तरीय नकआउट फुटबल प्रतियोगिता–२०८३ को उपाधि एअरपोर्ट एभेन्जर्सले जितेको छ ।
वडा नम्बर ४ को कार्यालयको आयोजनामा आइतबार सम्पन्न फाइनल खेलमा दुर्गा तथा कृष्ण मन्दिरलाई ३–० गोलले पराजित गर्दै एअरपोर्ट एभेन्जर्सले उपाधि हात पारेको हो ।
उपाधि जितेसँगै एअरपोर्ट एभेन्जर्सले नगद २१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता दुर्गा तथा कृष्ण मन्दिरले नगद ११ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेलमा एअरपोर्ट एभेन्जर्सका सामथ्र्य गुरुङ म्यान अफ द म्याच घोषित हुनुभयो ।
विजेता तथा उपविजेता टीमका खेलाडीलाई एक कार्यक्रमबीच प्रमुख अतिथि समाजसेवी मनोज गिरी, सिद्धार्थनगर नगरपालिका–४ का वडाध्यक्ष मुक्तिनाथ यादव (भोला), कार्यक्रम संयोजक एवं वडा सदस्य हरिबहादुर के.सी., फूलबारी सेवा समाजका अध्यक्ष हुकुमराज गुरुङलगायतले पुरस्कार प्रदान गर्नुभयो ।
प्रतियोगितामा प्रनित गुरुङ उदयीमान खेलाडी, अनुज गुरुङ उत्कृष्ट गोलरक्षक र आकाश राना सर्वाधिक गोलकर्ता घोषित हुनुभयो । उहाँहरुलाई कार्यक्रममा पुरस्कृत गरिएको थियो ।
त्यस्तै प्रतियोगिताअन्तर्गत शनिबार र आइतबार सम्पन्न पाँचवटा खेलमा म्यान अफ द म्याच घोषित खेलाडीलाई नगदसहित पुरस्कृत गरिएको थियो । पाँच खेलमा चारजना खेलाडी म्यान अफ द म्याच घोषित भएका थिए ।
पुरस्कृत हुनेमा दुर्गा तथा कृष्ण मन्दिरका आकाश राना, एअरपोर्ट एभेन्जर्सका आशिष गुरुङ, एअरपोर्ट योङ ब्वाइजका अभि पुन र एअरपोर्ट एभेन्जर्सका सामथ्र्य गुरुङ रहनुभएको छ । आकाश राना दुईवटा खेलमा म्यान अफ द म्याच घोषित हुनुभएको थियो ।
समापन कार्यक्रममा बोल्दै वडाध्यक्ष मुक्तिनाथ यादव (भोला)ले वडा कार्यालयले खेलकुद प्रतियोगितालाई निरन्तरता दिँदै आएको बताउनुभयो । उहाँले तेस्रो वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा ६ वटा टोलीको सहभागीता रहेको जानकारी दिनुभयो । आगामी तिहारमा रात्रिकालीन फुटबल प्रतियोगिता आयोजना गरिने उहाँले बताउनुभयो ।
त्यस्तै फूलबारी सेवा समाज सिद्धार्थनगर–४ का अध्यक्ष हुकुमराज गुरुङले फुटबल प्रतियोगिता आयोजना गर्ने वडा कार्यालय परिवारप्रति आभार व्यक्त गर्नुभयो ।
वडा सदस्य तथा कार्यक्रम संयोजक हरिबहादुर केसीको स्वागत मन्तव्य तथा सहायक कम्प्युटर अपरेटर कल्पना खनाल र समाजसेवी अर्जुन गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा फुटबल प्रशिक्षक तथा रेफ्रीहरूलाई पनि सम्मान गरिएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij