२०८३, आश्विन २६ गते

Oct 12 2026 | २०८३, आश्विन २६ गते

‘पलाँस’ मा फूल्न खोज्दा........!

सोमवार , आश्विन २६, २०८३

  • 64
    Shares
  • 64
    Shares
  • पलाँस कवितासङ्ग्रह नारायण भण्डारीको पहिलो कृति हो । विभिन्न पत्रपत्रिकाहरुमा फूटकर रचना प्रकाशित गर्दै आएका उनले पलाँस कवितासङग्रह हामीबीच ल्याउँदा साहित्य आकाशमा एउटा तारा थपिएको छ । निजामती कर्मचारीका रुपमा रहेका नारायण भण्डारीले साहित्यिक यात्रामार्फत् आफूलाई कविका रुपमा परिचित गराएका छन् । पलाँस कवितासङ्ग्रहमा ४९ वटा लामा तथा छोटा कविताहरु समावेश गरी दरिलो कविका रुपमा आफूलाई प्रस्तुत गरेका छन् ।

    कविताबाहेक उनले कथा, लघुकथा, लेख, निबन्धहरु लेख्दै आएका छन् । उनले बुटवल, भैरहवा क्षेत्रमा आफूलाई कविकै रुपमा स्थापित गर्ने यात्रामा छन् । भैरहवा, मणिग्राममा रहेका विभिन्न साहित्यिक संघ–संस्थाहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका उनले साहित्यमा नै जीवन समर्पित गर्ने सपना बुनेका छन् ।

    नारायण भण्डारीले लेख्ने कविताहरु प्रायः राष्ट्रवादी र विभेदविरुद्धका छन् । समानताका पक्षधर उनी लेखनमामात्र होइन व्यवहारमा नै सोही कुरा खोज्छन् । हक्की स्वभावका उनी कवितामा समेत उस्तै बिम्बहरुको समेत प्रयोग गर्छन् । भारत, मलेसिया, चीन, इण्डोनेशियालगायतका देशमा भ्रमण गरिसकेका उनले नेपालका आधाभन्दा बढी जिल्ला घुमिसकेका छन् । लेखनामा रुची राख्ने उनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

    नारायणका कविताहरु पढिरहँदा मनमा एउटा छुट्टै उर्जा आउँछ । उत्साह थपिन्छ । कवितामा झल्किने बिम्ब, प्रतिबिम्बहरुले मिठास थपेको हुन्छ । पलाँस कवितासङ्ग्रहसमा समाहित कविताहरुले मनमा सकारात्मक भावनाको विकास गराँउछन् । कविता वाचन शैली समेत उनको राम्रो र जाँगरिलो छ ।

    कवितासङ्ग्रहको मूलकविता ‘मैले पलाँस नै रोजें त के भयो ?’ शीर्षकको कवितामा उनी यसरी प्रस्तुत भएका छन्–

    अनगन्ती फूलहरुको बगैँचामा 
    अनायासै म भुलें त के भयो ? 
    हजारौं सुगन्धित चमेली र गुलाबको माझमा 
    मैले पलाँस नै रोजें त के भयो ? 
    सायद कसैको साथ पाएमा 
    ऊ पनि हाँस्ने छ गुलाबको सौन्दर्यसँगै
    रमाउने छ चमेलीको बास्नासँगै 
    त्यसैले,
    मैलै गुलाब र चमेली छाडें त के भयो ? 
    मैले पलाँस नै रोजें त के भयो ?

    बिम्बात्मक यो कविताले समानताको कुरा उठाएको छ । बासना नआउने फूल होइन भन्ने भाष्यलाई यसले तोडेको छ । सबैले सुन्दर र बास्नादार फूललाईमात्र रोज्नुपर्छ भन्ने छैन, बरु सबैले घृणा गरेको फूललाई स्वीकार गरी आफ्नो बनाउनु र स्याहार गर्नु मानवता हो भन्ने सन्देश कविताले प्रवाह गरेको  छ । हाम्रो समाजमा नि हुनेखाने र सुन्दर मान्छेलाई नै आफ्नो बनाउँछन् । विचारमा कुरुप र विभेदकारी भए पनि । विचार र भावनाका सुन्दर तर, पछाडि पारिएका मानिसहरुलाई आफ्नो कसैले ठान्दैनन् । कारण यही हो–हरेक सुन्दर बस्तुमा मानिसको कुरुप नजर छ । 
    क्षणिक स्वार्थकै लागि आस्था बदल्नेहरु

    कहिल्यै कसैका हुँदैनन् 
    कोही कसैका हुँदैनन् 
    आस्था बेच्नेहरु आस्थावान हुन सक्दैनन्
    विचार फेर्नेहरु विचारवान् हुन सक्दैनन् ।

    विचारपरक कविताको यो अंशले आस्था र विचार बदलेर संसारको नौलो मानिस हुन नसकिने ठहर गरेको छ । आस्था र विचार बदलेर मानिसलाई केवल क्षणिक रुपमा गोडामूति न्यानो त होला तर दीर्घकालीन शान्ति असम्भव छ । संसारमा मानिस जीवित रहने उसको आस्था र विचारले नै हो । जब यी कुराहरु नै मानिसले पटकपटक बदलिरहन्छ ऊसँग केवल स्वार्थको घैटौं रहने कविले उल्लेख गरेका छन् । जो कुनै बेला फुटेर छताछुल्ल हुन बेर लाग्दैन ।

    दिउँसो चामलको पीठोको चिल्लो पुवा 
    तोरीको तेलमा झानेको मेवाको कोरेको अचार
    साँझमा साग र पिंडालुको तरकारी
    मासको दाल, अनदीको चामलको खाजा
    आहा ! कति मिठो हुन्थ्यो 
    आहा ! कति आनन्द लाग्थ्यो ।

    ‘हाम्रो गाउँघरमा’ उल्लेखित कविताका यी अंशले अतीत सम्झाउँछ  । सहर पसेका अनि कर्मचारी भएर देश, दुनियाँ घुम्न थालेपछि कवि नारायणले कवितामा आफ्नो गाउँघर सम्झिएका छन् । आफूले खाएका अर्नि वा खाजा सम्झेका छन् । गाउँघरमा खाइने तरकारी तथा खाद्यपदार्थको स्वादिलो जिभ्रो लिएर कवितामा पोखिरहेका छन् । भान्सामा ती पदार्थहरु आज नपाक्दा कताकता कवि नारायणलाई खल्लो लागेको पनि हुन सक्छ ।

    छाडिदेऊ अब क्रमभंगता र छलाङ्गका कुराहरु 
    अनि बिर्सिदेऊ युद्धकौशल, विभीषिका र कुटुताहरु
    बरु आऊ सँगालौं सिर्जनाका सुन्दर सपनाहरु 
    अँगालौ र पहिल्याउँ विकासका नयाँनयाँ गोरेटाहरु ।

    कवि नारायणले राजनीति नेतृत्वहरुलाई युद्धलाई शान्तिमा, क्रान्तिलाई शान्तिमा र विभीषिकालाई शान्तिमा रुपान्तरण गर्न अनुरोध गरेका छन् । सुन्दर सपनाहरुलाई सिर्जनामा बदल्न अपील गरेका छन् । विकास नै समृद्धिको असल गोरेटो हो भनेर उनले सबैलाई सम्झाएका छन् कवितामार्फत् । कुनैबेला क्रमभङ्गता र छलाङ्गका आवश्यकता समेत थिए होलान् तर, अब शान्तिको बाटो समाएर विकास, निर्माणलाई अंगाल्नुपर्ने बेला आइसकेको कवितामार्फत् सन्देश छरेका छन् ।

    शक्ति र सत्ताको भरेङ्ग चढ्दै 
    उक्लिरहेछौ अहङ्कारको चुचुरो 
    दम्भको सिरानी हालेर
    अर्ति,उपदेशको चाङ् लगाइरहेका छौं ।

    शक्ति र सत्ताको आँखा हुँदैन । जसलाई जतिबेला पनि दमन गर्न सक्नेछ । हिंसामा पार्न सक्छ । शक्तिले विचार दबाउँछ । दम्भले सत्ता सञ्चालन गर्न सहयोग गर्छ । सत्तामा रहनेहरु नै अहंकारको चुचुरो चढ्न लालायित हुन्छन् । शासकहरु दम्भको सिरानी हालेर दुनियाँलाई अर्ति, उपदेशको पाठ पढाइरहेका हुन्छन् । कवितामा अत्यन्तै मिठासपूर्ण तरिकाले कविले शासकका बयान गरेका छन् ।

    प्रेमको जरो बल्झियो मेरो हृदय बीचमा
    जीवनभरि कल्पनासँगै सम्झना साथमा 
    इच्छा ती सबै बिलाई गए उत्साहै तोडियो 
    प्रेमको साटो रोदन दियौ स्नेह छाडियो ।

    छोरी आकाङ्क्षा र छोरो आदर्शका बुबा बनिसकेका कवि नारायण विगतको प्रेम सम्झेर हो या विछोड सम्झिएर माथिको कविता हरफ कोरेका छन् । साथमा जीवनसंगीनी छन् तर विगतको प्रेमालाप कवितामा बिछोडको रचना किन गरेका होलान् झैं लाग्छ । भलै, कवि भनेको भावनाको सर्जक पनि हो । यथार्थ नहोला । यतिबेला कवि नारायणका चारजनाको परिवार सुखमय छ । उनलाई विगतका प्रेम, रोदन, स्नेह फिक्का लाग्दा हुन् ।

    सुस्ता रुँदा सुस्ताउँछ, जुर्छ कविता 
    खुर्दलोटन थुनिदाँ नि, फुर्छ कविता 
    महलीसागर बाँधतिर सुसाउँछ कविता 
    सीमा सर्दा पूर्वबाट उदाउँछ कविता ।

    कवि नारायणलाई कहिले कविता फुर्दोरहेछ, कविताका यिनै हरफहरुबाट थाहा लाग्छ । राष्ट्रवादी कवि नारायण, देशप्रेमी कविता लेख्न रुचाउँछन् । कवितामा आफ्नो भूगोलको भावना उन्छन् । स्नेहको भावना गुन्छन् । उनले आफ्नो गाउँ पीपलडाँडा, रम्भाका बारेमा समेत कविता कोरेका छन् । कवितामा जन्मे, हुर्केको ठाउँको बयान गरिरहँदा नोस्टाल्जिक भएका छन् । 
    कवि नारायण भण्डारीका कविताहरु छापिनका लागि थुप्रिएका छन् । कहिले अवसर पाउने हुन सङ्ग्रह बनेर आउन ? कवितामा उनी पोखिएका छन् तरपनि कवितालाई कसी लगाउनै पर्छ । संख्यामा होइन, गुणवेत्तामा कविता खोज्नुपर्छ । प्रयास र अभ्यास राम्रो छ । कवि मन न हो, कहिलेकाँही हतारमा लेखिन्छन् कविताहरु । आफ्नो कविताका सम्पादक आफै बन्नुपर्छ । आफैले आफ्ना कवितामा कैंची चलाउन सक्नुपर्छ । कवि नारायण पाका र संवेदनशील छन् आफ्ना रचनामा । कवितालाई मज्जाले बुझेका छन् र अरुलाई बुझाउने प्रयास गरेका छन् । यो नै कवि नारायणको कवित्व हो । खास विशेषता हो ।