२०८३, मंसिर १० गते

Nov 26 2026 | २०८३, मंसिर १० गते

स्थानीय तहमा अब नेतृत्वसहित दलित महिलाको सहभागीता हुनुपर्नेमा जोड

बिहिवार , मंसिर १०, २०८३

  • 142
    Shares
  • 142
    Shares
  • पाल्पा, १० मंसिर । दलित महिलाहरू अझै पनि दोहोरो–तेहोरो विभेदको मारमा रहेको र स्थानीय तहमा जनप्रतिनिधि बने पनि निर्णय प्रक्रियामा उनीहरूको नेतृत्व कमजोर रहेको भन्दै दलित महिला नेतृत्वलाई सशक्त बनाउनुपर्नेमा जोड दिइएको छ ।

    जागरण मिडिया सेन्टरले बिहीबार पाल्पाको तिनाउ गाउँपालिकाका निर्वाचित दलित कार्यपालिका सदस्य तथा दलित महिला वडा सदस्यहरूसँग गरेको छलफलमा सहभागीहरूले दलित महिलाको सहभागीता मात्र पर्याप्त नभइ नेतृत्वदायी भूमिका सुनिश्चित गर्नुपर्ने बताएका हुन् ।

    छलफलमा संविधान सभा सदस्य तथा जागरण मिडिया सेन्टरको अध्यक्ष कमला विश्वकर्माले दलित महिलाहरू जातीय, लैंगिक तथा सामाजिक विभेदको मारमा रहेको उल्लेख गर्दै अब नेतृत्वसहितको सहभागीता आवश्यक रहेको बताउनुभयो । महिलालाई नेतृत्वमा स्थापित गर्न राजनीतिक दलहरूले समेत जिम्मेवारी निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ ।

    कार्यक्रममा तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले गाउँपालिकाले दलित सशक्तिकरणसम्बन्धी ऐन निर्माण गरी दलित समुदायको अधिकार सुनिश्चित गर्ने प्रयास गरेको बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापाले दलित, जनजाति तथा महिलाका क्षेत्रमा बजेट विनियोजन गरी काम भइरहेको बताउनुभयो । उहाँले शिक्षामा सुधार र समुदायको अधिकारका लागि सबैले अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

    कार्यपालिका सदस्य सन्तोष परियारले विषयगत समितिमा दलित समुदायको सहभागीता नरहेको बताउँदै दलित सशक्तिकरण विधेयक ल्याउन निकै कठिनाइ भएको अनुभव सुनाउनुभयो ।

    कार्यपालिका सदस्य छविलाल गहतराजले दलित सशक्तिकरण विधेयक निर्माणमा जागरण मिडिया सेन्टरले छलफल कार्यक्रम राखेर सकरात्मक दबाब दिएको बताउनुभयो ।  उहाँले तिनाउका धेरै ठाउँमा अझै विभेद कायम रहेको उल्लेख गर्नुभयो ।

    छलफलमा वडा नम्बर १ को वडा सदस्य रुपा विक, वडा नम्बर २ की वडा सदस्य शान्ति विक, वडा नम्बर ३ की वडा सदस्य पुजा दमैले सुरुमा वडा सदस्यको भूमिकाबारे जानकारी नभए पनि क्रमशः सिक्दै जनताको सेवामा सक्रिय भएको अनुभव सुनाउनुभयो ।
    स्थानीय अगुवा राम बहादुर कौसल, प्रेम विश्वकर्माले दलित समुदायको अधिकार स्थापित गर्ने सवालमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रमको उद्देश्यबारे जागरण मिडिया सेन्टरका लुम्बिनी प्रदेश प्रमुख विनोद परियारले प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पत्रकार कृष्ण दर्नालले गर्नुभएको थियो ।

    कार्यक्रमपश्चात वडा नम्बर ४ को वडा सदस्य कमला विकको संयोजकत्वमा दलित महिला तिनाउ गाउँ सञ्जाल गठन गरिएको छ ।  सञ्जालमा दलित कार्यपालिका सदस्यहरू सल्लाहकार तथा दलित महिला वडा सदस्यहरू सदस्य रहनेछन् ।

    दलित महिला जनप्रतिनिधिहरूको अनुभव र चुनौतीलाई साझा रूपमा उठाउँदै स्थानीय तहमा दलित महिलाको संगठित नेतृत्व विकास तथा अधिकार सुनिश्चितताका लागि सञ्जाल गठन गरिएको जनाइएको छ । 

    ––