सोमवार , आश्विन २६, २०८३
भैरहवा, २६ असोज । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ स्थित संस्कृत विद्या संन्यास आश्रममा शुद्ध तथा चिसो पिउनेपानीको व्यवस्था गरिएको छ । मारवाडी महिला मञ्च, भैरहवाले आश्रममा वाटर कुलर मेसिन जडान गरेको हो ।
आश्रममा अध्ययनरत बटुकहरूलाई गर्मीयाममा चिसो तथा स्वच्छ पिउनेपानीको अभाव हुन नदिन मेसिन जडान गरिएको मञ्चले जनाएको छ । उक्त मेसिन जडानका लागि २ लाख ३९ हजार ९ सय ५० रुपैयाँ खर्च भएको छ ।
मारवाडी महिला मञ्च, भैरहवाको अध्यक्ष बेनु अग्रवालले समाजको विकासमा योगदान पुर्याउने उद्देश्यसहित मञ्चले विभिन्न सामाजिक कार्य गर्दै आएको बताउनुभयो । समाजका लागि केही राम्रो काम गर्न पाउँदा आत्मसन्तुष्टि प्राप्त हुने उल्लेख गर्दै उहाँले सामाजिक सेवामा मञ्चको टीम निरन्तर लागिपरेको बताउनुभयो । उहाँले आश्रममा रहेका बटुकहरुका लागि आगामी दिनमा पनि आवश्यक सहयोग गरिने बताउनुभयो ।
मञ्चको संस्थापक अध्यक्ष बिना अग्रवालले संस्कृत आश्रममा सेवा गर्ने अवसर पाउँदा निकै खुसी लागेको बताउनुभयो । स्वच्छ पिउनेपानी (स्वच्छ पेय जल) को व्यवस्था गर्न पाउनु सन्तुष्टिको विषय भएको उल्लेख गर्दै उहाँले मञ्चमा आबद्ध महिलाहरूलाई आग्रह गर्दा सबैले सहयोगका लागि तत्परता देखाएको बताउनुभयो । उहाँले आश्रमले सेवा, समुन्नति र संस्कारलाई आत्मसात गर्दै आएको बताउनुभयो ।
संस्कृत विद्या संन्यास आश्रमका पूर्वअध्यक्ष डीआर शर्माले वाटर कुलर जडान गर्नु पुण्य कार्य भएको बताउनुभयो । गर्मीयाममा बटुकहरूलाई पिउनेपानीको व्यवस्थापनमा केही समस्या हुने गरेको उल्लेख गर्दै उहाँले त्यसको समाधानका लागि सोचिरहेको अवस्थामा मारवाडी महिला मञ्चले सहयोग गरेको बताउनुभयो । ‘पानी जीवन हो । आश्रममा स्वच्छ तथा चिसो पिउनेपानीको व्यवस्था गरेर मञ्चले उदाहरणीय काम गरेको छ,’ उहाँले भन्नुभयो ।
सोमबार आयोजित वाटर कुलर मेशिन हस्तान्तरण कार्यक्रममा संस्कृत विद्या संन्यास आश्रमका पीठाधीश स्वामी श्री १००८ शान्तानन्द सरस्वती, मारवाडी युवा मञ्च, भैरहवाका अध्यक्ष रोहित कुमार अग्रवाल, मारवाडी महिला मञ्च भैरहवाको पदाधिकारी, सदस्य लगायतको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij