२०८३, आश्विन २६ गते

Oct 12 2026 | २०८३, आश्विन २६ गते

पाल्हीनन्दनमा लामखुट्टेको बासस्थान खोजी र नष्ट गर्ने अभियान

सोमवार , आश्विन २६, २०८३

  • 46
    Shares
  • 46
    Shares
  • पश्चिम नवलपरासी, २६ असोज । डेंगी संक्रमणको जोखिम न्यूनीकरण गर्नका लागि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गर्ने (‘खोज र नष्ट गर’) अभियान सञ्चालन गरिएको छ । जिल्लाको पाल्हीनन्दन गाउँपालिकाले विभिन्न स्थानहरूमा अभियान सञ्चालन गर्दै डेंगी नियन्त्रणका लागि समुदाय स्तरमा सक्रियता बढाएको हो ।

    अभियानअन्तर्गत लामखुट्टेले अण्डा पार्न सक्ने र लार्भा हुर्कन सक्ने सम्भावित स्थानहरू–जस्तै फालिएका टायर, ग्यारेज, खुला भाँडाबर्तन तथा पानी जम्ने ठाउँहरूको खोजी गरी ती बासस्थान नष्ट गर्ने कार्य भइरहेको छ ।
    पाल्हीनन्दन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद गुप्ताका अनुसार बजार तथा ग्यारेजहरूमा पुगेर अनुगमन र निरीक्षण तीव्र पारिएको छ । ‘टायर, ट्युब वा पानी जम्ने अन्य ठाउँहरूमा जमेको पानी हटाई त्यसमा डिजेल तथा मट्टितेल राखी लार्भा नष्ट गर्ने र नागरिकहरूलाई घरपालुवा तथा वरपरको सरसफाईबारे जनचेतनामूलक जानकारी गराउने काम भइरहेको छ,’उहाँले भन्नुभयो ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द केसीले प्रशासनिक समन्वय र स्रोत–साधनको प्रभावकारी परिचालनमार्फत अभियानलाई निरन्तरता दिइने बताउनुभयो । ‘डेंगीको जोखिमबाट नागरिकलाई बचाउन गाउँपालिकाले कुनै कसर बाँकी राख्ने छैन, हामीले सबै वडा र स्वास्थ्य संस्थाहरूलाई उच्च सतर्कताका साथ परिचालन गरेका छौं, ’उहाँले भन्नुभयो ।

    त्यस्तै गाउँपालिकाका लेखा शाखा प्रमुख सञ्जय शर्माले डेंगी नियन्त्रण तथा स्वास्थ्य सचेतना अभियानका लागि आवश्यक बजेट व्यवस्थापनमा कुनै कमी हुन नदिइएको बताउनुभयो । ‘स्वास्थ्य जस्तो संवेदनशील विषयमा बजेट अभाव हुन दिइएको छैन, आवश्यक औषधि, रसायन तथा जनचेतना कार्यक्रमका लागि तत्काल स्रोत परिचालन गरिएको छ,’शर्माले भन्नुभयो ।

    गाउँपालिकाले आफ्नो घर, पसल र वरपर पानी जम्न नदिन तथा लक्षण देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्थानीयबासीलाई अपील गरेको छ । स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका वरिष्ठ मलेरिया निरीक्षक देवीलाल पौडेलका अनुसार जिल्लामा चालू आर्थिक वर्षमा हालसम्म ७८ जनामा डेंगी पोजिटिभ देखिएको छ ।