२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

मूल मुद्दाहरुमा समान धारणा बनाउन संवाद र सहकार्य आवश्यक : प्रधानमन्त्री देउवा

शुक्रवार , मंसिर १०, २०७८

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • चितवन, १० मङ्सिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दाहरुमा समान धारणा बनाउन संवाद सहकार्य आवश्यक रहेको बताएका छन् ।

    नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उनले दलहरुबीच नीतिगत विषयमा भएका बिमतिहरुलाई संविधानमार्फत निर्धारण गरेका विधिबाट टुङ्गो लगाउनुपर्ने बताएका हुन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले भने, “त्यसलाई हामी सबैले स्वीकार गर्ने पद्धति बसाल्नु पर्दछ । नेपाली कांग्रेस पार्टी यिनै मूल्य मान्यताप्रति प्रतिबद्ध रहेको छ ।”

    लोकतान्त्रिक संसदीय शासन, पद्धतिको मर्मअनुसार १०औँ महाधिवेशन आयोजना गर्ने नेकपा एमालेलाई बधाई दिँदै उनले महाधिवेशनको पूर्ण सफलताको कामना पनि गरे । उनले भने, “नेपालको लोकतान्त्रिक आन्दोलन विभिन्न उतारचढाव पार गर्दै देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न हामी सफल भएका हौँ ।” सबै मिलेर संविधानसभाबाट नयाँ संविधान बनाएको स्मरण गराउँदै उनले यसलाई संस्थागत गर्न जिम्मेवारी सबै दलहरुमा रहेको बताए ।

    प्रधानमन्त्री देउवाले नयाँ संविधानमार्फत लोकतन्त्रका मूल्य र मान्यतालाई संस्थागत गर्न यस अभियानमा विभिन्न राजनैतिक दलहरुसँगै नेकपा एमालेले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै हामीहरुबीच मतभेदहरु रहेको छ र त्यसैका कारण फरक राजनैतिक दलमा आबद्ध भएको बताए । उनले भने, “लोकतान्त्रिक मूल्यमान्यतालाई जीवन पद्धति बनाउन, कानुनी शासन र जनाधिकार स्थापना गर्न, व्यक्तिगत स्वतन्त्रता र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न तथा राष्ट्रियतामा जनतालाई सुनिश्चित गर्दै देशलाई समृद्ध बनाउन एवम् समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्‍याउन हामी सबै पार्टी एक हुनुपर्दछ ।”

    उनले हामी सहमति, सद्भावबाट हरेक समस्याको समाधान निकाल्न चाहान्छौँ भने । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत उनका साथीहरु आफ्नो जेलका साथी भएको भन्दै उनले जुन अवस्था आफूहरुले भोग्यौँ अब जनताले भोग्न नपर्ने गरी काम गर्नुपर्ने बताए । उनले भने, “यी सबै कुराहरु हामी सबैले भोग्यौँ । जेलमा भोगेका दुःखलाई ध्यानमा राखेर भोलिका दिनमा कुनै नेपालीलाई कहीँ दुःख नपरोस् भन्ने कुरामा हामी सचेत हुनुपर्छ ।” एउटा मूल्य र मान्यतालाई संस्थागत गर्न आफू प्रतिबद्ध रहेको भन्दै उहाँले नेकपा एमालेले सरकारका विधि, विधानलाई थिति बसाल्ने काममा साथ दिनुपर्ने बताए ।

    प्रधानमन्त्री देउवाले मुलुक कोरोनाले आक्रान्त भएका बेला खोप पु¥याउनु हाम्रो पहिलो कर्तव्य थियो भन्दै सबैको साथ र सहयोगले लक्ष्य हासिल गर्न सफल भएको बताए । नागरिकको जीवन रक्षाजस्तो यो महान् कार्यमा सबै राजनीतिक दल, सामाजिक संस्था तथा नागरिकहरु मित्रराष्ट्र, दातृ संस्थाहरुबाट प्राप्त सहयोगप्रति उनले सम्मान व्यक्त गरे । कोरोना भाइरस सङ्क्रमण अहिले निराकरण हुँदै गएको भन्दै आर्थिक अवस्था सामान्य बन्दै गएको बताए।

    प्रधानमन्त्री देउवाले लोकतान्त्रिक संविधानको भावनाअनुरुप देशमा सुशासन, सद्भाव, समृद्धि कायम गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको उल्लेख गरे । उनले भने, “मैले नेतृत्व गरेको वर्तमान सरकार यिनै मान्यताका आधारमा काम गर्ने विश्वास दिलाउँछु ।” संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलहरुसँग सहकार्य गरी देश र जनतालाई केन्द्रमा राखेर साझा धारणाका मान्यतामा म आफू प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाले भने । रासस