२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

एमाले महाधिवेशनमा २५० स्वास्थ्यकर्मी परिचालन हुने

आइतवार , मंसिर ५, २०७८

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौँ, ५ मङ्सिर। नेकपा (एमाले)को दसौँ राष्ट्रिय महाधिवेशनमा दुई सय ५० भन्दाबढी चिकित्सक परिचालन गरिने भएको छ ।

    महाधिवेशनअन्तर्गतको स्वास्थ्य समितिले महाधिवेशनका लागि चिकित्सकसहितको सबै व्यवस्थापन तयारी पूरा गरेको जनाएको छ । स्वास्थ्य समितिको संयोजक भानुभक्त ढकाल र उपसंयोजक वैकल्पिक केन्द्रीय सदस्य रचना खड्का सहसंयोजक रहेकी छन् । समितिका सदस्यले चितवनमा गएर खुलासत्र हुने नारायणी नदीको किनार र बन्दसत्र हुने सेभेन स्टार होटेलको अवलोकन गरिसकेको छ । समितिले प्राथमिक उपचारदेखि भैपरी आउने स्वास्थ्य समस्या हेर्ने गरी व्यवस्थापन गरेको संयोजक ढकालले बताए । आवश्यक सङ्ख्यामा तयारी अवस्थामा एम्बुलेन्स राखिनेछ ।

    महाधिवेशन उद्घाटनका दिन मङ्सिर १० गते नारायणी नदी किनारमा चिकित्सकहरुको नेतृत्वमा औषधि र उपकरणसहितको चारवटा स्टल राख्ने तयारी भएको छ । बन्दसत्रका लागि सेभेन स्टार होटेल नजिकै रहेको लायन्स क्लबको भवनमा चारवटा सटर राखेर नियमित चेकजाँचसहितको आपत्कालीन चिकित्सकीय सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।

    समितिमा रहनुभएका डा कृष्ण अधिकारी र डा सन्तोष पौडेलले दुई दिनअघि चितवनमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीसँग छलफल गरेर आवश्यक व्यवस्थापन टुङ्गो लगाएका छन् । फिल्डमा खटिने अधिकांश चिकित्सक चितवन र आसपास क्षेत्रका हुनेछन् ।

    समितिले होटेलमा रहेका प्रतिनिधिहरुका लागि आपत्कालीन स्वास्थ्य समस्या आइपरे नजिकका अस्पतालमा लगेर निःशुल्क उपचारको व्यवस्था मिलाएको छ । अतिआवश्यकीय सेवाका लागि प्रतिनिधि रहने क्षेत्रमा डेक्स राखिने ढकालले बताए । नियमित र उमेरजन्य औषधि सेवनका लागि निःशुल्क व्यवस्था मिलाइएको छ । जस्तैः सुगर, प्रेसरका औषधि छुटेका प्रतिनिधिहरुलाई सहजै उपलब्ध गराइनेछ ।

    आमसभा वा बन्दसत्रका लागि निर्धक्कसँग आउनेजाने र स्वास्थ्यको जोखिम नहुने गरी व्यवस्थापन गरिएको संयोजक ढकालले बताए । “महाधिवेशन नसकिँदासम्म स्वास्थ्य सेवा प्रवाहित गर्छौं,” उनले भने, “सामग्रीहरुको सपोर्ट केन्द्रबाट हुन्छ, चिकित्सकहरु स्थानीय नै रहनुहुनेछ ।” कोभिड– १९ को जोखिम कम नभएकाले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइने संयोजक ढकालले बताउनुभयो । “सचेत पङ्क्ति नै आउने भएकाले मापदण्ड पालना हुनेमा दुईमत छैन”, उनले भने ।

    खुला र बन्द दुवै सत्रमा अनिवार्यरुपमा मास्क र स्यानिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने व्यवस्था मिलाइएको छ । विदेशबाट आएका प्रतिनिधिलाई सम्बन्धित देश फर्कंदा पिसिआर परीक्षण सहजरुपमा गराउने व्यवस्था पनि समितिले नै मिलाएको जनाइएको छ । रासस