मंगलवार , आश्विन २७, २०८३
बुटवल, २७ असोज । रूपन्देहीका उद्योगीहरूले करको भार, जग्गाको अभाव, बैंकबाट ऋण लिन कठिनाइ र नीतिगत जटिलता समाधान गर्न तीनै तहका सरकारसँग आग्रह गरेका छन्।
रूपन्देही उद्योग संघको ४८औँ वार्षिक साधारणसभामा उद्योगीहरूले उद्योगमैत्री नीति, लगानीको सुरक्षा र निजी क्षेत्रको मनोबल बढाउने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
सोमबार बुटवलमा सम्पन्न साधारणसभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री तुलसीप्रसाद चौधरीले उद्योग क्षेत्र बलियो नभएसम्म आर्थिक विकास सम्भव नहुने बताउनुभयो।
उहाँले रूपन्देहीलाई औद्योगिक तथा आर्थिक गतिविधिको महत्त्वपूर्ण केन्द्रका रूपमा उल्लेख गर्दै नीतिगत समस्याका कारण उद्योगीहरूले कठिनाइ भोग्नुपरेको बताउनुभयो। बैंकको ब्याजदर घटे पनि उद्योगीहरूले सहज रूपमा ऋण पाउन नसकेको उल्लेख गर्दै मन्त्री चौधरीले सफल उद्योगीमाथि हुने गलत व्यवहारले निजी क्षेत्रको मनोबल कमजोर बनाउने धारणा राख्नुभयो। उहाँले उद्योगको स्थायित्वका लागि नयाँ प्रविधिको प्रयोग, प्रदूषण नियन्त्रण र उद्योग तथा स्थानीय समुदायबीच समन्वय आवश्यक रहेको बताउनुभयो।
औद्योगिक क्षेत्रको व्यवस्थापन प्रभावकारी हुन नसकेको स्वीकार गर्दै उहाँले प्रदेश सरकारले काम गर्न खोजे पनि संघीय सरकारबाट आवश्यक सहयोग र अधिकार प्राप्त हुन नसकेको उल्लेख गर्नुभयो। रूपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुलभ खरेलले सरकार र निजी क्षेत्रबीच सहकार्यबाट मात्रै लगानीको वातावरण सुधार गर्न सकिने बताउनुभयो। उहाँले मूल्यवृद्धि र बजारको अस्थिरताले आर्थिक गतिविधिमा प्रभाव पारेको उल्लेख गर्दै सरकारका कमजोरी सुधार गरी निजी क्षेत्रको विश्वास जित्नुपर्नेमा जोड दिनुभयो।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्यालले स्थानीय सरकारले काम गर्ने क्रममा विभिन्न अवरोध सामना गर्नुपरेको बताउनुभयो। उहाँले स्थानीय तहका सकारात्मक कामलाई प्रोत्साहन गर्न र कमजोरी भए रचनात्मक सुझावमार्फत सुधार गर्न उद्योगी तथा सरोकारवालालाई आग्रह गर्नुभयो। संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले उद्योगीहरूले विभिन्न शीर्षकमा धेरै ठाउँमा कर तिर्नुपरेको, उद्योग विस्तारका लागि पर्याप्त जग्गा उपलब्ध नभएको र नीतिगत जटिलताले व्यवसाय सञ्चालनमा समस्या भएको बताउनुभयो। उहाँले स्वदेशी उद्योगलाई संरक्षण गर्दै लगानीमैत्री वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभयो।
साधारण सभामा सहभागी उद्योगी तथा व्यवसायीहरूले कर प्रणालीलाई सहज बनाउन, औद्योगिक क्षेत्रको व्यवस्थित विकास गर्न, उद्योग विस्तारका लागि आवश्यक जग्गा उपलब्ध गराउन र प्रशासनिक झन्झट हटाउनुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा विभिन्न उद्योगी, व्यवसायी, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। अध्यक्ष पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव सुमन बस्यालले गर्नुभएको थियो भने वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेले स्वागत र प्रथम उपाध्यक्ष हरिबहादुर खत्रीले धन्यवाद ज्ञापन गर्नुभएको थियो।
साधारणसभाले कोषाध्यक्ष विशाल बेल्वासेले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन र महासचिव बस्यालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन पारित गरेको छ। कार्यक्रममा संघको आजीवन सदस्यता प्राप्त गर्ने तथा साधारणसभा सम्पन्न गर्न सहयोग पु¥याउने उद्योगीहरूलाई सम्मानसमेत गरिएको थियो। उद्योगीहरूले समग्र औद्योगिक विकासका लागि सरकार, निजी क्षेत्र र सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेका छन्।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij