शुक्रवार , मंसिर ११, २०८३
भैरहवा, ११ मंसिर । रुपन्देहीको मायादेवी गाउँपालिकामा १४८ जनालाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गरिएको छ । गाउँपालिका र नापी कार्यालय, रुपन्देहीको आयोजनामा वडा नम्बर ७ का विभिन्न गाउँब्लकका जग्गाधनीलाई लालपूर्जा वितरण गरिएको हो ।
गाउँपालिकाका अमिन हृदयदेश कुमार बनियाका अनुसार बिहीबार गाउँब्लकका कित्ताहरूको लालपूर्जा वितरण गरिएको हो ।
लालपूर्जा वितरण कार्यक्रममा बोल्नुहुँदै गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीले वितरण कार्यमा केही महिना ढिलाइ भए पनि विभिन्न वडामा लालपूर्जा वितरण भइसकेको बताउनुभयो । गाउँपालिकाका अन्य वडामा पनि प्रक्रिया अगाडि बढिरहेको उहाँले जानकारी दिनुभयो । वर्षौंदेखि जग्गा जोतभोग गर्दै आए पनि लालपूर्जा नहुँदा नागरिकले विभिन्न समस्या भोग्नुपरेको उल्लेख गर्दै उहाँले अब त्यस्ता समस्या समाधान हुँदै गएको बताउनुभयो ।
गाउँपालिकाको उपाध्यक्ष नर्वदा देवी उपाध्यायले लालपूर्जा प्राप्त गर्ने सबैलाई बधाई दिँदै सामूहिक प्रयास र सहकार्यबाट यो काम सम्भव भएको बताउनुभयो ।
नापी कार्यालय रुपन्देहीका प्रमुख नापी अधिकृत मणि प्रसाद रेग्मीले मायादेवी गाउँपालिकाअन्तर्गतका सम्पूर्ण गाउँब्लकको काम सम्पन्न गर्ने लक्ष्यसहित गाउँपालिकासँग समन्वय र सहकार्य भइरहेको बताउनुभयो । २०२७ सालमा गाउँब्लकका रूपमा छाडिएका जग्गामा नागरिकले लामो समयदेखि भोगचलन गर्दै आए पनि कानूनी स्वामीत्व नहुँदा विभिन्न अधिकारबाट वञ्चित हुनुपरेको उहाँले बताउनुभयो । बाँकी गाउँब्लकको काम सम्पन्न गर्न गाउँपालिकाबाट समन्वय र सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । अहिले १४८ जनालाई लालपूर्जा वितरण गरिएको उल्लेख गर्दै उहाँले संख्या थोरै देखिए पनि प्राप्त गर्ने नागरिकका लागि यो ठूलो उपलब्धी भएको बताउनुभयो । साथै लालपूर्जा वितरण कार्यलाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले करिब ५६ वर्षपछि नागरिकले जग्गाधनी प्रमाणपूर्जा प्राप्त गरेको बताउनुभयो । उहाँले यस कार्यमा योगदान पुर्याउने कर्मचारी र जनप्रतिनिधिप्रति आभार व्यक्त गर्नुभयो । लालपूर्जा केवल रातो कागजको टुक्रा नभइ नागरिकको जग्गामाथिको कानूनी स्वामीत्व सुनिश्चित गर्ने महत्वपूर्ण प्रमाण भएको उहाँको भनाइ थियो । लालपूर्जा प्राप्त भएपछि नागरिकले भोग्दै आएका विभिन्न कठिनाइ अन्त्य हुने उहाँले बताउनुभयो । मायादेवी गाउँपालिकामा भू–उपयोग वर्गीकरणको काम सम्पन्न भइसकेको र जग्गा कित्ताकाटको कामसमेत सुचारु भइसकेको उहाँले जानकारी दिनुभयो ।
गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का अध्यक्ष शैलेन्द्र कुमार पाण्डेयले २०२७ सालमा नापी भए पनि गाउँब्लकका रूपमा रहेका जग्गाको लालपूर्जा नागरिकले ५६ वर्षपछि प्राप्त गरेको बताउनुभयो । यसबाट स्थानीयबासीमा खुसी छाएको उल्लेख गर्दै उहाँले वडाका बाँकी गाउँमा पनि लालपूर्जा वितरणका लागि तत्काल प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । समस्या समाधानका लागि कर्मचारीहरूले अहोरात्र खटेर काम गरेको उहाँले बताउनुभयो ।
नापी कार्यालय रुपन्देहीका नापी अधिकृत सूर्य बहादुर कार्कीले पुस्तौंदेखि जग्गाको कानूनी स्वामीत्व र पहिचानको प्रतीक्षामा रहेका नागरिकका लागि लालपूर्जा प्राप्त हुनु ऐतिहासिक उपलब्धी भएको बताउनुभयो । यसले नागरिकको सम्पत्तिमाथिको कानूनी अधिकार सुनिश्चित गर्नुका साथै सम्पत्तिको सुरक्षा र आर्थिक तथा सामाजिक हैसियत मजबुत बनाउने आधार बनेको उहाँको भनाइ थियो ।
लालपूर्जा प्राप्त गर्नुभएका स्थानीय राकेश कुमार पाण्डेयले जग्गाको पूर्जाका लागि वर्षौंदेखि प्रयास गर्दै आएको बताउनुभयो । लालपूर्जा नहुँदा विभिन्न कठिनाइ भोग्नुपरेको उल्लेख गर्दै उहाँले पूर्जा प्राप्त भएपछि आफूहरू निकै खुसी भएको बताउनुभयो । ‘लालपूर्जा पाउँदा हामी एकदमै खुसी भएका छौं, खुसीको कुनै सीमा नै छैन,’उहाँले भन्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij