२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

बसपार्कमा सेनिटाइज गेट निर्माणमा रोटरीको सहकार्य

बुधवार , आश्विन १४, २०७७


बुटवल, १४ असोज । 
रोटरी क्लब अफ बुटवलले बुटवल उपमहानगरपालिका र पश्चिम नेपाल बस व्यवसायी प्रालिसँगको सहकार्यमा लुम्बिनी बस टर्मिनलमा सेनिटाइज गेट निर्माण गरेको छ । कोरोना भाइरस (कोभिड–१९) बाट यात्रुहरुलाई सुरक्षित गराउने उद्देश्यले बसपार्कमा सेनिटाइज (निसंक्रमिकरण) गेट निर्माण गरिएको हो ।

अब बुटवल बसपार्कबाट छुट्ने लामो तथा छोटो दूरीका बसलाई निसंक्रमित गरी सञ्चालन गरिनेछ । त्यस अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले कोभिड–१९ बाट बच्न रोटरीले सेनिटाइज गेट निर्माणमा सहकार्य गरेकोमा धन्यवाद दिए । 

क्लबका अध्यक्ष सुनिल श्रेष्ठले यसबाट कोरोना भाइरसको सम्भावित जोखिमबाट यात्रुहरुलाई जोगाउन सकिने उद्देश्यले उपमहानगरपालिका र बस समितिसँग सहकार्य गरी सेनिटाइज गेट निर्माण गरिएको जानकारी दिए । उनले क्लब सधै सामाजिक काममा अग्रसर रहेको भन्दै अब छिट्टै नै मानव सेवा आश्रममा रहेकाहरुका लागि खाना खुवाउने कार्यक्रम आयोजना गरिने जानकारी दिए ।

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का सञ्चालक नारायण घिमिरेले यात्रुहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै उपमहानगरपालिका र रोटरी क्लबसंग मिलेर गरिएको यो काम सराहनीय रहेको बताए । सेनिटाइज गेट निर्माणमा एसके ट्रेडिङले प्राविधिक सहयोग गरेको छ ।