२०८३, कार्तिक १० गते

Oct 27 2026 | २०८३, कार्तिक १० गते

रुपन्देहीमा एकै दिन ८ फरार प्रतिवादी पक्राउ

मंगलवार , कार्तिक १०, २०८३

  • 151
    Shares
  • 151
    Shares
  • भैरहवा, १० कार्तिक । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले एकै दिनमा ८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ। रुपन्देही जिल्ला अदालतको विभिन्न मिति र फैसलाबमोजिम विभिन्न मुद्दामा कैद तथा सजाय भइ हालसम्म फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय, रुपन्देही तथा मातहत कार्यालयसमेतबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार जिल्लाका विभिन्न स्थानहरुबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

    प्रहरी निरीक्षक चन्द्र किशोर शाहका अनुसार पक्राउ पर्नेमा ज्यान मार्ने उद्योग मुद्दाका बुटवल उपमहानगरपालिका–११ माझगाउँका बाचे भन्ने किसन थापा, सवारी ज्यानका रोहिणी गाउँपालिका–५ प्रिपरहवाका शिबराज भन्ने सुरज कुमार चौधरी, बैंकिङ कसुरका सैनामैना नगरपालिका–३ मुर्गियाका लक्ष्मी बुढाथोकी, चेक अनादरका रोहिणी–४ खुरहुरीयाका गणेशमणी यादव, अंश नामसारीका रोहिणी–२ बैरिहवाका महम्मद उमर पठान, बैंकिङ कसुरका सिद्धार्थनगर नगरपालिका–१० शंकरपुरका अमित कुमार पाण्डे र चेक अनादरका सिद्धार्थनगर–५ का सरस्वती श्रेष्ठ रहेका छन् । पक्राउ परेका ७ जनालाई फैसला कार्यान्वयनका लागि रुपन्देही जिल्ला अदालतमा पेश गरिएको छ । सरस्वती श्रेष्ठलाई अदालतमा पेश गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

    भन्सार छलीका सामान बरामद

    जिल्ला प्रहरी कार्यालय, रुपन्देहीबाट खटिएको टोलीले सोमबार अन्दाजी मूल्य २ लाख ७४ हजार १ सय ४३ रुपैयाँ बराबरको सामान बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरीपैठारी गरेर ल्याइएको सामान नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक चन्द्र किशोर शाहले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएका सामान आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया पठाइएको उहाँले बताउनुभयो ।

    प्रहरीले बरामद गरेको सामानमा तेजपत्ता, अदुवा, मेसिनरी पाटर्स, मोटरसाइकलसहित ब्रोईलर कुखुरा, फेसवास, चाउचाउलगायत छन् ।