मंगलवार , कार्तिक १०, २०८३
भैरहवा, १० कार्तिक । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कुनै पनि सार्वजनिक सडक, फुटपाथ वा सडकको क्षेत्राधिकारभित्र थ्रेसर मेसिन राखी धान झाँट्ने÷काट्ने कार्यमा रोक लगाएको छ । नगरपालिकाले थ्रेसिङ गर्ने कार्य आफ्नै निजी खेत वा सुरक्षित स्थानमा मात्र गर्न÷गराउन नगरबासीमा अपील गरेको छ ।
त्यस्तै खेतमा बाँकी रहेको पराल, ठुटा वा अन्य कृषिजन्य फोहोरमा आगो लगाउन पूर्ण रुपमा प्रतिबन्ध लगाइएको नगरप्रमुख रामकृष्ण खाणले बताउनुभयो । पराललाई आगो नलगाई कम्पोष्ट मल बनाउन वा पशुआहार तथा अन्य प्रयोजनमा उपयोग गर्न नगरप्रमुख खाणले अनुरोध गर्नुभयो । यसको अवज्ञा गरी सार्वजनिक सडकमा थ्रेसर प्रयोग गरेको वा परालमा आगो लगाइएको पाइएमा प्रचलित कानूनबमोजिम भइ जाने नगरपालिकाले जनाएको छ ।
तिलोत्तमा नगरपालिका क्षेत्रभित्र धान भित्र्याउने मौसम सुरु भएसँगै केही स्थानहरुमा सार्वजनिक सडक, राजमार्ग तथा सडक किनारमा थ्रेसर मेसिन राखी थान थ्रेसिङ गर्ने र खेतमा बाँकी रहेको पराल तथा ठुटा (अवशेष) मा आगो लगाउने कार्य भइरहेकोप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको नगरपालिकाले जनाएको छ ।
सार्वजनिक सडकमा थ्रेसर मेसिन राखेर धान काट्दा÷झाट्दा धुलो–धुँवाका कारण सडक दुर्घटनाको जोखिम बढ्नुका साथै सर्वसाधारण तथा सवारीसाधन आवागमनमा गम्भिर बाधा पुग्ने गरेको नगरप्रमुख खाणले बताउनुभयो । साथै, खेतमा पराल तथा अवशेष जलाउनाले वायू प्रदूषण भइ मानव स्वास्थ्यमासमेत प्रतिकूल असर पर्नुका साथै माटोको उर्वरशक्ति नष्ट हुने तथा वरपरका घरबस्तीमा आगलागीको उच्च जोखिम हुने उहाँले बताउनुभयो । ‘फोहोरमैला व्यवस्थापन ऐन, २०६८ वातावरण संरक्षण ऐन, २०७६ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिधिभित्र रही वातावरण संरक्षण, सार्वजनिक सुरक्षा तथा जनस्वास्थ्यको रक्षा गर्नु हामी सबैको साझा दायित्व भएको हुँदा स्वच्छ, हराभरा र सुरक्षित तिलोत्तमा निर्माणको अभियानमा यहाँहरुको पूर्ण सहयोगको अपेक्षा गरेका छौं, ’नगरप्रमुख खाणले भन्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij