२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

विद्यार्थी तथा अभिभावकको हितविपरीतका निर्णय भएको भन्दै फिर्ता लिन नेविसंघको माग

बुधवार , आश्विन १४, २०७७

भैरहवा, १४ असोज ।
सिद्धार्थनगर नगरपालिकाको शिक्षा शाखाले विद्यार्थी तथा अभिभावकको हितविपरीत निर्णय गरेको भन्दै तत्काल फिर्ता लिन नेपाल विद्यार्थी संघ (नेविसंघ) सिद्धार्थनगर र भैरहवा बहुमुखी क्याम्पस इकाइ समितिले माग गरेको छ । 

नगरपालिकाको शिक्षा शाखाले एकलौटी निजी विद्यालयहरुसंग मिलेर निजी विद्यालयहरुको मात्र हितका लागि गरिएको निर्णय मान्य नहुने भन्दै नेविसंघले नगरपालिका कार्यालय अगाडी बुधबार प्रदर्शन समेत गरेको छ । प्रदर्शनमा सहभागी विद्यार्थीहरुले शैक्षिक माफिया मुर्दावाद, अभिभावक र विद्यार्थीहरुको हितविपरीतका निर्णय फिर्ता गर लगायतका नारा लगाएका थिए ।

कोरोना भाइरसका कारण शैक्षिक संस्थाहरु पनि पूर्ण रुपमा बन्द रहेको अवस्थामा नगरपालिकाको शिक्षा शाखाले एकलौटी निर्णय गरेको नेविसंघ सिद्धार्थनगरका सभापति प्रतिक भण्डारीले बताए ।

नगरपालिकाले एकलौटी निर्णय गरेकोले आन्दोलनमा उत्रिएको नेविसंघ भैरहवा बहुमुखी क्याम्पस इकाई समितिका सभापति सम्राट थापाले बताए ।

त्यस्तै निर्णय फिर्ता गर्नुपर्ने माग गर्दै नेविसंघले शिक्षा शाखाका प्रमुख उपसचिव चेतनशील लम्साललाई ज्ञापनपत्र समेत बुझाएको छ । सो अवसरमा बोल्दै नेविसंघका निवर्तमान केन्द्रीय सदस्य लेखनाथ भट्टराईले नेविसंघले उठाएका मागलाई वेवास्था गरिए जस्तोसुकै आन्दोलन गर्न पछि नपर्ने चेतावनी दिए । उनले आन्दोलनबाट हुन सक्ने नोक्सानीको जिम्मेवारी नगरपालिकाको शिक्षा शाखाले नै लिनुपर्ने बताए ।

असोज ८ गते शिक्षा समितिको बैठकले विद्यालय शिक्षा सम्बन्धि आकस्मिक कार्ययोजना २०७७ अनुसार असोज दोस्रो हप्तासम्म विद्यालयमा भर्ना हुन बाँकी र स्थानन्तरित विद्यार्थीहरुलाई भर्ना गर्ने निर्णय गरेको थियो । त्यस्तै समितिले संस्थागत विद्यालयको शुल्क निर्धारण सम्बन्धमा आर्थिक वर्ष २०७६ को शुल्कलाई आधार मानी सो बाट हुन आउने रकममध्ये असार, साउन, भदौ महिनाको ७० प्रतिशत र असोजबाट ८० प्रतिशत लिने निर्णय गरेको थियो ।