२०८३, जेठ १२ गते

May 26 2026 | २०८३, जेठ १२ गते

सिद्धार्थनगर नगरपालिकाको शिक्षा शाखामा अनेरास्ववियूले गर्‍यो तालाबन्दी

बुधवार , आश्विन १४, २०७७

  • 5.4K
    Shares
  • 5.4K
    Shares
  • भैरहवा, १४ असोज ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको शिक्षा शाखाले एकलौटी निजी विद्यालयहरुको हितका लागि हुने निर्णय नसच्याएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले बुधबार शिक्षा शाखामा तालाबन्दी गरेको छ । आम विद्यार्थी र अभिभावकको मर्मविपरीत शिक्षा शाखाले गरेको निर्णय सच्याउन २४ घण्टे अल्टिमेटम दिए पनि शिक्षा समितिले त्यसको वेवास्ता गरेकोले तालाबन्दी गरिएको अनेरास्ववियू भैरहवा क्याम्पस कमिटीका अध्यक्ष मनिष ढकालले बताए ।

    कोभिड–१९ का कारण सम्पूर्ण क्षेत्रको आर्थिक तथा शैक्षिक गतिविधि पूर्ण रुपले ठप्प रहेकोले विषम परिस्थितिमा निजी विद्यालयको भर्ना कार्यक्रममा सहभागि नहुन ढकालले आग्रह गरेका छन् । अनेरास्ववियूले सुरु गरेको आन्दोलनमा ऐक्वद्धता जनाउन समेत उनले अभिभावकहरुलाई आग्रह गरेका छन् । 

    भर्ना कार्यक्रम सञ्चालन गरेको पाइएमा जस्तासुकै आन्दोलनको लागि संगठन तयार रहेको अनेरास्ववियू भैरहवा बहुमुखी क्याम्पस कमिटीका सचिव सागर न्यौपानेले बताए ।

    तत्कालको लागि निजी शैक्षिक संस्थाहरुलाई भर्ना कार्यक्रम स्थगित गर्न आग्रह गरिएको अनेरास्ववियू रुपन्देही जिल्ला कार्यालय सदस्य कपिल चापागाईले बताए ।

    यस अघि असोज १२ गते अनेरास्ववियू भैरहवा बहुमुखी क्याम्पस कमिटीले सिद्धार्थनगर नगरपालिकाको शिक्षा समितिले गरेको निर्णय सच्याउन माग गर्दै २४ घण्टे अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाएको अनरास्ववियू रुपन्देही जिल्ला सदस्य सरोज ठकुरीले जानकारी दिए ।

    असोज ८ गते शिक्षा समितिको बैठकले विद्यालय शिक्षा सम्बन्धि आकस्मिक कार्ययोजना २०७७ अनुसार असोज दोस्रो हप्तासम्म विद्यालयमा भर्ना हुन बाँकी र स्थानन्तरित विद्यार्थीहरुलाई भर्ना गर्ने निर्णय गरेको थियो । त्यस्तै समितिले संस्थागत विद्यालयको शुल्क निर्धारण सम्बन्धमा आर्थिक वर्ष २०७६ को शुल्कलाई आधार मानी सोबाट हुन आउने रकममध्ये असार, साउन, भदौ महिनाको ७० प्रतिशत र असोजबाट ८० प्रतिशत लिने निर्णय गरेको थियो ।