२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

रोटरीद्वारा इन्ट्रयाक्टरहरुलाई जीवन उपयोगी सीप विकास कार्यशाला

शनिवार , आश्विन १०, २०७७

बुटवल, १० असोज ।
रोटरी क्लब अफ बुटवलले इन्ट्रयाक्ट क्लबका पदाधिकारी एवं सदस्यहरुका लागि जीवन उपयोगी सीप विकास सम्बन्धि कार्यशाला सम्पन्न गरेको छ । रोटरी क्लब अफ बुटवलको १३३१ औं नियमित बैठककै क्रममा इन्ट्रयाक्ट क्लवमा आवद्ध पदाधिकारी एवं सदस्यहरुलाई प्रशिक्षण दिइएको हो । 

जीवनउपयोगी सीप विकाससँगै कोभिड–१९ बाट बच्ने उपायका बारेमा पनि प्रशिक्षण दिइएको थियो । कार्यशालामा रोटरी क्लवमा आवद्ध ६ वटा इन्ट्रयाक्ट क्लबहरु इन्ट्रयाक्ट क्लव अफ न्यू होराइजन, इन्ट्रयाक्ट क्लब अफ कालिका मानवज्ञान, इन्ट्रयाक्ट क्लब अफ दीप बोर्डिङ, इन्ट्रयाक्ट क्लव अफ क्यानन् र इन्ट्रयाक्ट क्लब अफ पामिर एकेडेमी तथा अन्य इन्ट्रयाक्टर क्लब सहभागी थिए ।

जीवनउपयोगी सीप विकास सम्बन्धी प्रशिक्षण दिंदै क्लबका पूर्व अध्यक्ष, आरआई डिष्ट्रिक ३२९२ जोन ६ रिजन टु का एजी एवं लुम्बिनी वाणिज्य क्याम्पसका सह–प्राध्यापक राजेन्द्र लम्सालले सकारात्मक सोच र चिन्तनका साथ अघि बढे जीवन सफल हुने बताए । 

अहिले कोरोना भाइरसले निम्त्याएको महामारीका कारण मानिसमा नकारात्मक सोचको विकास हुँदै गएको, शिक्षण संस्था प्रभावित हुँदा विद्यार्थीहरुमा मानसिक असर परेको भन्दै उनले सकारात्मक सोच राख्न आग्रह गरे ।

जीवनउपयोगी सीप विकास जस्ता कार्यक्रमले विद्यार्थीमा आन्तरिक क्षमताको विकास हुने र दैनिक जीवनयापन र काममा सकारात्मक प्रभाव पर्ने उनले बताए । उनले विद्यार्थीकालदेखि नै रोटरीको सिद्धान्त स्वार्थ भन्दा माथि सेवा भन्ने भावका साथ काम गर्नका लागि यस्ता क्लबहरुले सहयोग गर्ने बताए । 

कार्यक्रमका अर्का प्रशिक्षक रोटरी क्लव अफ बुटवलका पुर्व अध्यक्ष डा. मनोहर जोशीले कोभिड–१९, यसले मानिसको स्वास्थ्यमा पार्ने प्रभाव, यसबाट बच्ने उपाय र पूर्व तयारीबारे जानकारी गराएका थिए ।

कोरोना भाइरस कमजोर प्रकृतिको भाइरस भएकाले यसबाट आत्तिन नहुने तर सतर्कता भने अपनाउनुनैपर्ने बताउँदै उनले सकभर बाहिर हिंडडुल नगर्न, गर्नैपरे मास्कको प्रयोग गर्न र जहाँ रहे पनि कोभिड–१९ बाट सुरक्षित हुन आग्रह गरे ।

कार्यक्रममा रोटरी क्लब अफ बुटवलका अध्यक्ष सुनिल श्रेष्ठले कोभिड–१९ का कारण यसपटक भर्चुअल रुपमै कार्यशाला आयोजना गर्नुपरेको जानकारी दिंदै आगामी दिनमा भने औपचारिक रुपमा विद्यार्थीहरुलाई सहभागी गराएर कार्यक्रम गर्ने योजना रहेको बताए ।

प्रशिक्षणमा सहभागी विद्यार्थीहरु हिमाल आचार्य, शर्मिला पन्थी लगायतले यस्ता कार्यक्रमले आफूहरुको जीवनमा सकारात्मक प्रभाव पर्ने बताएका थिए ।  त्यस्तै कार्यक्रममा रोटरी क्लव अफ बुटवलका सचिव रोम शर्मा, सह–सचिव शिव कुमार ज्ञवाली, रोटरीयनहरु कृष्ण पराजुली, सावि बि.क.लगायतले पनि बोलेका थिए ।