२०८२, श्रावण १ गते

Jul 17 2025 | २०८२, श्रावण १ गते

तिलोत्तमाको वडा नम्बर १ र ३ मा पनि आधारभूत स्वास्थ्य केन्द्र

मंगलवार , आश्विन ६, २०७७

तिलोत्तमा, ६ असोज । 
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा थप दुई वटा सरकारी स्वास्थ्य संस्था थपिएका छन् । यो संगै नगरपालिकामा एउटा आयुर्वेद औषधालयसहित सरकारी स्वास्थ्य संस्थाको संख्या १३ पुगेको छ । मंगलबारबाट वडा नम्बर १ र ३ मा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएका हुन् ।  

वडा नम्बर १ को शिव चोक र वडा नम्बर ३ को सीमानगरमा स्थापना भएको आधारभूत स्वास्थ्य केन्द्रको नगर प्रमुख बासुदेव घिमिरेले उद्घाटन गरे । नगरपालिकाले केही दिन भित्रै वडा नम्बर ९ र १२ मा पनि आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरी सेवा प्रवाह गरिने जनाएको छ ।   

हरेक वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था पु¥याउने नीति अनुसार तिलोत्तमामा स्वास्थ्य चौकी नभएका वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र स्थापनाको काम तीव्रताको साथ अघि बढेको हो । स्वास्थ्य केन्द्रका आफ्नै सुविधासम्पन्न भवनहरु पनि निर्माण भइरहेका छन् । 

हालसम्म तिलोत्तमाका वडा नम्बर १, २, ३, ४, ६, ७, ८, १०, ११, १४, १६ र १७ मा सरकारी स्वास्थ्य संस्थाहरु सञ्चालनमा आएका छन् । आधारभूत स्वास्थ्य सेवा जनताको घरदैलोमै पुर्याउने सरकारी नीति अनुरुप हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आउन थालेका हुन् । 

स्वास्थ्य केन्द्र उद्घाटन कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरेले पछिल्लो समय तिलोत्तमाका सरकारी स्वास्थ्य संस्थामा धेरै परिवर्तन आएको बताउँदै सरकारी स्वास्थ्य संस्थाबाट पनि गुणस्तरीय सेवा पाइन्छ भन्नेमा विश्वस्त रहन नगरबासीलाई आग्रह गरे । 

आधारभूत स्वास्थ्य केन्द्रमा सामान्य उपचार, परिवार नियोजन, पोषण तथा एकीकृत बालरोग व्यवस्थापन, गर्भवती जाँच तथा सुत्केरी जाँच, खोप लगायतका सेवाहरु उपलब्ध छन् । केन्द्रमा पारामेडिक्सको नेतृत्वमा स्वास्थ्यकर्मीहरु कार्यरत छन् । फरक–फरक रुपमा भएका कार्यक्रममा नगर उप–प्रमुख जगेश्वरदेवी चौधरी, वडा नम्बर १ का वडाध्यक्ष तामानाथ पाण्डे, वडा नम्बर ३ का अध्यक्ष टंक प्रसाद तिवारी, स्वास्थ्य शाखा प्रमुख मोती पौडेल, सिनियर अहेव अधिकृत गणेश गौतम, केशव भट्टराई लगायतले आधारभूत स्वास्थ्य सेवाको बारेमा बोलेका थिए ।