
शिक्षामा अपुरणीय क्षति हुन सक्ने विज्ञहरुको भनाइ
शनिवार , भाद्र २७, २०७७
बुटवल, २७ भदौ ।
विभिन्न क्षेत्रका विज्ञहरुले कोरोना भाइरस (कोभिड–१९) का कारण शिक्षा क्षेत्रमा अपुरणीय क्षति हुन सक्ने खतरा औंल्याएका छन् । लामो समयसम्म विद्यालय बन्द हुँदा बालबालिकाले विद्यालयबाट अहिलेसम्म हासिल गरेका सिकाई उपलब्धि गुम्न सक्ने र बीचमै पढाई छाड्ने दर बढ्ने खतरा रहेको उनीहरुको भनाइ छ ।
रोटरी क्लब अफ बुटवलको आयोजना र रिजन फाईभ अन्तर्गतका रोटरी र रोट्रयाक्ट क्लबहरुको सह–आयोजनामा भएको ‘शिक्षा क्षेत्रमा कोभिड–१९ को प्रभाव र अबको अभ्यास’ विषयक भर्चुअल अन्तर्क्रियामा सहभागी विज्ञहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का गभर्नर राजीव पोखरेलले कोभिड–१९ को महामारीले शिक्षा क्षेत्रमा अन्यौलतासँगै चुनौती थपिएको बताए । लामो समय विद्यालय जान नपाउँदा बालबालिकामा मनोवैज्ञानिक असर परेको, पढ्ने बानी छुटेपछि बीचमै पढाई छाड्ने दर बढ्ने खतरा रहेको उनको भनाइ छ । शहरी क्षेत्रमा भर्चुअल माध्यमबाट शिक्षण सिकाई सहज मानिए पनि ग्रामीण क्षेत्रमा यो निकै कठिन रहेको र अधिकांश विद्यार्थी प्रविधिको पहुँचबाट समेत बाहिर रहेको उल्लेख गर्दै उनले संकटको बेलामा शिक्षा क्षेत्रमा जागरुकता ल्याउन रोटरीयनहरुको भूमिका बढेको बताए ।
शिक्षा मन्त्रालयका सह–सचिव एवं प्रवक्ता दिपक शर्माले सरकारले वैकल्पिक शिक्षा प्रणालीलाई जोड दिंदै आगामी असोज १ गतेदेखि लागू हुने गरी सिकाई सहजीकरण निर्देशिका ल्याएको जानकारी दिए । विज्ञहरुको सुझावका आधारमा ३० प्रतिशत पाठ्यक्रम घटाएर भए पनि शैक्षिक सत्र खेर जान नदिइने उनको भनाइ छ ।
‘नियमित पठनपाठन सुरु नभएसम्म वैकल्पिक पठनपाठनमा जानुको विकल्प छैन, कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा नियमित पठनपाठन सुरु गर्न सकिने अवस्था पनि छैन–उनले भने ।’ प्रवक्ता शर्माले प्रविधिको पहुँच नपुगेका विद्यार्थीलाई पनि पठनपाठनमा सहभागी गराउने तरिका र विकल्पबारे मन्त्रालयले गृहकार्य गरिरहेको बताउँदै विश्वविद्यालयहरु भने वैकल्पिक सिकाईमा अझ अगाडि बढ्नुपर्नेमा जोड दिए ।
निजी तथा आवासीय विद्यालयहरुको संगठन (प्याब्सन) का केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजेन्द्र बानियाँले विद्यालय बन्द हुँदा बालबालिकाले बीचमै पढाई छाड्न सक्ने खतरा सबैभन्दा ठूलो चुनौतीको रुपमा रहेको बताए । सिकाई निर्देशिका ल्याउन मन्त्रालयले छ महिना लगाएको भन्दै उनले शिक्षामा निजी क्षेत्रको योगदानलाई पनि नबिर्सन सरकारको ध्यानाकर्षण गराए ।
अहिले देशभरका दुई हजार भन्दा बढी निजी विद्यालय बन्द रहेको र त्यहाँ कार्यरतमध्ये ४० हजार शिक्षक कर्मचारीले रोजगारी गुमाउन सक्ने सम्भावना रहेको भन्दै उनले २० प्रतिशत विद्यार्थीले निजी स्कुल छोड्न सक्ने सम्भावना पनि औंल्याए ।
बालबालिकाका लागि हालको शिक्षण सिकाई प्रणाली गलत रहेकाले अव भने कोभिड–१९ को प्रभावसंगै सिकाई प्रणालीलाई पनि परिवर्तन गर्नुपर्ने बेला आएको बानियाँले बताए । उनले विद्यार्थी भर्ना र वार्षिक शुल्क उठाउने कुरालाई खुला गर्न पनि उनले माग गरे ।
रोटरी नेपाल साक्षरता अभियान आरआई डिष्टिक ३२९२ का चेअर एवं पिडिजी तीर्थमान शाक्यले शिक्षा क्षेत्रमा रोटरीले चलाएको अभियानबारे जानकारी गराउँदै शतप्रतिशत साक्षर बनाउने गरी रोटरी अभियान अघि बढेको बताए । उनले शिक्षकहरुलाई इ–लर्निङप्रति उत्प्रेरणा जगाउने गरी रोटरीले अभियान चलाएको पनि उनले बताए ।
अन्तर्क्रियामा रोटरी क्लव अफ बुटवलका पुर्व अध्यक्ष एवं कार्यक्रम संयोजक राजेन्द्र ध्वजू, अर्का पुर्व अध्यक्ष राजेन्द्र लम्साल, पिडिजी किरण श्रेष्ठ, सञ्जय गिरी लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए । क्लबका अध्यक्ष सुनिल श्रेष्ठले १३२९ औं नियमित बैठकका साथै कोरोना भाइरसका कारण शिक्षा क्षेत्र अस्तव्यस्त अवस्थामा पुगेकाले विज्ञहरुलाई सहभागी गराएर शिक्षामा अवको योजनाबारे अन्तक्र्रिया गरिएको जानकारी गराए । भर्चुअल अन्तक्र्रियामा रोटरीयन, रोट्रयाक्ट र शिक्षा क्षेत्रसँग सम्बद्ध करिव साढे २ सय जनाले सहभागिता जनाएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij