images

शुक्रवार, चैत्र १६ गते २०८०

बेलढुङ्गामा उभिएर...

बेलढुङ्गामा उभिएर...

images
images
images
बिहिवार, भाद्र ३ २०७८
बिहिवार, भाद्र ३ २०७८
  • बेलढुङ्गामा उभिएर...

    बागलुङ, ३ भदौ ।
    पोखरामा एकै मञ्चबाट ८० देशका राष्ट्रगान गाउने तयारीमा कोभिड–१९ को दोस्रो लहरका कारण बिराम लागेपछि विश्व राष्ट्रगान यात्री रामजी नेपाली अहिले गृहजिल्ला फर्किएका छन् । गायक नेपालीले कोरोना महामारीले विश्वयात्रामा त अवरोध खडा गर्यो नै देशभित्रै पनि निष्फिक्री घुम्न पाएका छैनन् । मानिस भेला पारेर कार्यक्रम गर्नु त झनै टाढाको कुरा भयो । पर्यटकीय शहर पोखराको फेवा किनारमा उभिएर विभिन्न देशका राष्ट्रगानमार्फत विश्व बन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावनाको सन्देश प्रवाह गर्ने उनको योजना तत्काललाई पर सरेको छ । महामारी थामिएर स्थिति सहज हुनासाथ कार्यक्रमको चाँजोपाँचो मिल्नेमा उनी निर्धक्क छन् । 

    images
    images
    images

    पोखराका स्थानीय आयोजक संस्था र शुभेच्छुकले पनि कार्यक्रम गरी छाड्ने वचन उनलाई दिएका छन् । लम्बिँदो निषेधाज्ञाबीच केही समय घरमै बसेर ध्यान, साधना गर्ने र राष्ट्रगान गाउने अभ्यासलाई निरन्तरता दिन जन्मथलो फर्केको नेपालीले सुनाए । महामारीका बेला लामो यात्रा तय गर्न नपाए पनि उनले नजिकका गन्तव्य चहार्ने, पर्यटन प्रवद्र्धनमा स्थानीयवासीसँग हातेमालो गर्ने र आफ्नो राष्ट्रगानको अभ्यासलाई निरन्तरता दिँदै आएका छन् ।

    सो सिलसिलालाई नेपालीले यसपालि काठेखोला गाउँपालिका–३ धम्जा र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सीमामा पर्ने पर्यटकीय लेक बेलढुङ्गासँग जोडे । गत सप्ताहन्तमा पर्यटनकर्मी र पत्रकारकासाथ पुगेका उनले बेलढुङ्गामा उभिएर राष्ट्रगान गाए । आफ्नो विश्वयात्राको सन्देश दिए ।

    त्यहाँ उनले नेपालसहित छिमेकी देश भारत, चीन, मित्रराष्ट्र अमेरिका र फ्रान्सको राष्ट्रगान गाउए । चालीस वर्षीय गायक नेपालीले पर्यटकीयस्थलबाट प्रतिकात्मकरुपमा सन्देश जाओस् भनेर राष्ट्रगान गाएको बताए । त्यसबखत बेलढुङ्गामा उपस्थित स्थानीयवासीसहित सबैले देशको राष्ट्रगानको सम्मान गरे । गायक नेपालीप्रति श्रद्धा राखे ।

    समुद्री सतहदेखि २६१४ मिटरको उचाइमा अवस्थित बेलढुङ्गाबाट राष्ट्रगान गाउँदा आनन्दको अनुभूति भएको नेपालीले सुनाए । “देश विदेशका धेरै समारोहमा मैले राष्ट्रगान गाएको छु, यहाँ उभिएर गाउँदा नयाँ र रोमाञ्चक अनुभव सँगाले”, उनले भने ।

    बेलढुङ्गा एउटा उदाउँदो पर्यटकीय गन्तव्यस्थल हो । त्यसको प्रवद्र्धनमा बागलुङ र म्याग्दी दुवैतर्फबाट प्रयास भइरहेको छ । ‘प्राकृतिक दृश्यावलोकन’ स्तम्भका रुपमा चिनिने बेलढुङ्गा पदयात्रासहित सूर्योदय र मनोरम हिमशृङ्खला अवलोकनका लागि पर्यटकको रोजाइमा पर्छ । त्यहाँ अहिले पर्यटनमैत्री हिसाबले पूर्वाधार बनिरहेका छन् ।

    बेलढुङ्गा पुग्नुभन्दा अघिल्लो रात राष्ट्रगान यात्री नेपालीले धम्जाको ओखलेमा रहेको सामुदायिक घरबास (होमस्टे) को पाहुना सत्कारकक्षमा पनि आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । कुनैताका ‘दोहोरी’ र ‘लोकपप’ गाउँदै हिँड्ने गायक नेपालीको अहिले मूल विधा नै राष्ट्रगान भएको छ ।

    विश्वका सबै देशका राष्ट्रगान गाउने ध्याउन्नमा उनी छन् । नेपालीको संगीत अभ्यास र साधना पनि त्यसमै केन्द्रित छ । यात्रामा हुँदा होस् या विस्तारामा निदाउनुअघिसम्म उनी राष्ट्रगानको अभ्यासमै लिप्त देखिन्छन् । 
    साथै रहेका पर्यटन अभियानकर्मी आरके अदीप्त गिरीले गायक नेपालीको क्षमतालाई ‘विलक्षण’को उपमा दिए । उनले अलग भाषाका सयौँ राष्ट्रगान गाउनसक्नु चान्नेचुन्ने विषय नभएको बताए । “उहाँको प्रतिभा, क्षमताबारे पछि अध्ययन–अनुसन्धान पनि हुन सक्छ”, गिरीले भने ।

    गायक नेपालीले आफ्नो सम्पूर्ण ध्यान, दृष्टि कसरी विश्वभरका राष्ट्रगान गाउने भन्नेमा रहेको र त्यसकै अभ्यासमा तल्लिन भइरहेको बताए । कोरोना महामारीले विश्वयात्रा रोकिन पुगे पनि फुर्सदको समय संगीत साधनामा बिताउन पाएको नेपालीले सुनाए ।

    यसबीचमा उनले १३० देशका राष्ट्रगान गाउन सक्ने भइसकेका छन् । बागलुङ नगरपालिका–६ भीरलाङ्खुरीका नेपाली ‘विश्व बन्धुत्व, साँस्कृतिक पर्यटन र सद्भावना’को सन्देशसहित २५ देशका राष्ट्रगान गाउँदै सन् २०१७ देखि विश्वयात्रामा निस्केका थिए । 

    संयुक्त राष्ट्रसंघका १९५ वटै सदस्य राष्ट्रका राष्ट्रगान गाउँदै विश्वका २३२ देश पुग्ने उनको महत्वकांक्षी सपना छ । सन् २०२५ भित्र विश्वयात्रा पूरा गर्ने उहाँको योजना कोरोनाकै कारण पछाडि धकेलिने देखिएको छ । विश्वभर एकाएक फैलिएको कोरोना महामारीका कारण उनले आफ्नो विश्व यात्राबीचमै स्थगन गर्नुपरेको थियो । भारतका सात प्रान्त घुमेर बंगलादेश जाने क्रममा विसं २०७६ पुसमा सिलुगढीबाट नेपाली घर फर्केका थिए ।

    उनले सन् २०१७ मा बेल्जीयम, फ्रान्स, स्पेन र नेदरल्याण्डका विभिन्न शहरमा राष्ट्रगान गाइसकेका छन् । चाँडै स्थिति ठीकठाक भए आफ्नो विश्वयात्रा फेरि सुरु हुनेमा नेपाली आशावादी छन् । सबैभन्दा धेरै देशका राष्ट्रगान गाउनसक्ने गायकका रुपमा विश्व कीर्तिमान पनि राख्ने उनको लक्ष्य छ । संसारका अनेक भाषामा बनेका राष्ट्रगान गाउनु चुनौतीपूर्ण भए पनि त्यसलाई देश चिनाउने माध्यम र आफ्नो आत्म गौरवका रुपमा नेपालीले स्वीकारेका छन् । नेपालीले गत वर्ष विश्व पर्यटन दिवसको सन्दर्भ पारेर यहाँ आयोजित समारोहमा एकै मञ्चबाट ५० देशका राष्ट्रगान गाएका थिए । रासस

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij