२०८३, कार्तिक २० गते

Nov 06 2026 | २०८३, कार्तिक २० गते

मदिराको नियमन र नियन्त्रणमा सरोकारवालाको भूमिका विषयमा छलफल

शुक्रवार , कार्तिक २०, २०८३

  • 187
    Shares
  • 187
    Shares
  • भैरहवा, २० कार्तिक । मदिराको प्रयोगबाट महिला तथा बालबालिकामा पर्ने नकारात्मक असर न्यूनीकरण र मदिराको नियमन तथा नियन्त्रणमा सरोकारवाला निकायको भूमिकाबारे शुक्रबार रुपन्देहीको बुटवलमा छलफल गरिएको छ ।
    सिविन नेपालको आयोजनामा भएको कार्यक्रममा वक्ताहरूले मदिराको प्रयोगलाई व्यवस्थित गर्न स्पष्ट मापदण्ड र कार्यविधि बनाएर प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले यसपटकको नगर कार्यपालिका बैठकमा मदिरा नियमनसम्बन्धी प्रस्ताव पेस गर्ने बताउनुभयो । त्यस्तै उपप्रमुख सावित्रा देवी अर्यालले गंगाजल ल्याउन कठिन हुने तर, मदिरा सहजै उपलब्ध हुने अवस्था रहेको उल्लेख गर्दै यसको नियमन र नियन्त्रणका लागि कडा कानूनी व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रहरी निरीक्षक कल्पना घर्तीले मादकपदार्थको परिचय र यसले बालबालिकामा पार्ने असरबारे प्रस्तुतीकरण गर्नुभएको थियो । त्यस्तै रेडियो मुक्तिकी स्टेशन म्यानेजर कल्पना तिवारीले मदिराको दुरुपयोगका कारण बालबालिकाले भोग्नुपरेको मौन पीडा, त्यसका प्रभाव र कारण, पत्रकारको दृष्टिकोणबाट देखिएका सवाल तथा नेपालको नीतिगत व्यवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिका–५ का वडाध्यक्ष हरिप्रसाद श्रेष्ठ, माइती नेपाल भैरहवाकी प्रमुख माया क्षेत्रीलगायत विभिन्न विद्यालयका शिक्षक तथा संघ-संस्थाका प्रमुख र प्रतिनिधिहरूले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

    सिविन नेपालद्वारा सञ्चालित बाल हेल्पलाइन भैरहवाका व्यवस्थापक विष्णु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सिविन नेपाल काठमाडौंकी कार्यक्रम प्रबन्धक भगवती श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन फूलमाया पासवानले गर्नुभएको थियो ।

    सिविन नेपाल विगत ३८ वर्षदेखि बाल संरक्षण तथा बाल अधिकार प्रवद्र्धनको क्षेत्रमा क्रियाशील सामाजिक संस्था हो । संस्थाले रुपन्देहीमा विगत पाँच वर्षदेखि नेपाल सरकारसँगको सहकार्यमा बाल हेल्पलाइन नेपाल १०९८ समेत सञ्चालन गर्दै आएको छ ।