२०८३, कार्तिक २० गते

Nov 06 2026 | २०८३, कार्तिक २० गते

बजेट सीमाभित्र रहेरै काम गर्ने अर्थमन्त्री वाग्लेको प्रतिवद्धता

शुक्रवार , कार्तिक २०, २०८३

  • 187
    Shares
  • 187
    Shares
  • काठमाडौं, २० कार्तिक । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी र त्रिशुली क्षेत्रमा गएको विपदपछि पुनर्निर्माणका लागि ४.७ देखि ५ अर्ब डलरसम्म आवश्यक पर्ने प्रारम्भिक अनुमान सार्वजनिक गर्नुभएको छ । 

    शुक्रवार सिंहदरबारमा आयोजित संसदीय विशेष समितिको बैठकमा उहाँले विपद्बाट भएको भौतिक र आर्थिक क्षति नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिव १० प्रतिशत रहेको जानकारी दिँदै सो रकम व्यवस्थापनका लागि सरकारले चरणवद्ध कार्ययोजना अघि बढाएको बताउनुभएको हो ।

    अर्थमन्त्री वाग्लेले भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको बाढी–पहिरोले २.७ देखि २.८ अर्ब डलर बराबरको क्षति पु¥याएको उल्लेख गर्दै ‘बिल्डिङ ब्याक बेटर’ (थप समृद्ध पूर्वाधार निर्माण) को अवधारणाअनुसार पुनर्निर्माणमा ठूलो लगानी आवश्यक रहेको बताउनु भयो । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भएको १८ अर्ब रुपैयाँ संकलनलाई सरकारप्रति जनताको उच्च विश्वासको कडीका रूपमा अर्थमन्त्रीले अथ्र्याउनु भयो । उहाँले उक्त रकम जथाभावी नबाँडी कार्यविधि र आवश्यकताका आधारमा खर्च गरिने स्पष्ट पार्नुभयो । 

    उहाँले भन्नुभयो, ‘पाँच दिनभित्रै गरिएको ¥यापिड ड्यामेज निड्स एसेसमेन्ट (आरडिएनए) र विश्व बैंकको ग्रेड मेथोडोलोजी दुवैले करिब ४.७ देखि ५ अर्ब डलरसम्मको पुनर्निर्माण आवश्यकता देखाएको छ । यो सित्तैमा आएको पैसा होइन, यसको मर्म अनुसार ६ महिनाको होराइजन राखेर अन्य विपदका लागि समेत बचत गर्दै पूर्वाधार र कृषि क्षेत्रको राहतमा केन्द्रित गर्ने योजनामा छौँ ।’ 

    बजेट व्यवस्थापनका सम्बन्धमा उहाँले चालु आर्थिक वर्षको २१ खर्ब २४ अर्बको बजेट सीमा नाघ्ने गरी पूरक बजेट ल्याउनुभन्दा मौजुदा विनियोजनबाटै बजेटको पुनःप्राथमिकीकरण गरी काम गर्ने तयारी रहेको बताउनु भयो । पूर्वाधार मन्त्रालयलाई जिम्मेवारी दिने र आवश्यकता परे आगामी वर्षको बजेटमा पुनर्निर्माणलाई प्राथमिकताका साथ समावेश गरिने उहाँको भनाइ छ ।