२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

मुटु अस्पतालले मिर्गौलाका बिरामीको निःशुल्क कोरोना बीमा गरिदिने

बिहिवार , भाद्र २५, २०७७

बुटवल, २५ भदौ ।
बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौलाको नियमित डायलाईसिस गराइरहेका विरामीहरुको निःशुल्क कोरोना बीमा गरिदिने भएको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढिरहेको र मिर्गौलाका विरामीहरु संक्रमणको उच्च जोखिममा रहेकोले उनीहरुलाई केही भए पनि आर्थिक राहत होस् भनी निःशुल्क बीमा गरिदिने निर्णय गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका अध्यक्ष एजाज आलमले बीमा कम्पनीसंग सम्झौता गरी निःशुल्क रुपमा एक लाखको कोभिड १९ बीमा गर्ने निर्णय गरिएको बताए ।

कोभिड–१९ को बीमाले संक्रमणको उच्च जोखिममा रहेका र यस अघि नै स्वास्थ्य समस्यामा रहेका मिर्गौलाका विरामीहरुको मनोबल बढाउन सघाउ पुग्ने आलमले बताए । ‘विरामीहरुको कोरोना बीमा गरिदिंदा अस्पताललाई सामान्य आर्थिक भार थपिए पनि संक्रमण भइहाल्यो भने विरामीहरुको लागि भने त्यसले ठूलो राहत मिल्ने छ ।’ आलमले भने ।

सरकारले मिर्गौलाका विरामीहरुको डायलाईसिस निःशुल्क गरे पनि अन्य औषधी तथा बेलाबेलामा गर्नुपर्ने ल्याब परीक्षणलाई निःशुल्क गरेको छैन ।

अस्पतालले भने डायलाइसिस बाहेक बेलाबेलामा गर्नुपर्ने रुटिन र भाइरल टेष्ट समेत आफ्ना सबै विरामीहरुको निःशुल्क गर्दै आएको छ । त्यस्तै अतिविपन्न, परिवारबाट अपहेलित तथा परिवारमा रेखदेख गर्ने कोही नभएका मिर्गौलाका विरामीहरुको औषधी तथा अन्य उपचार पनि अस्पतालले निःशुल्क गर्दै आएको छ ।

त्यस्तै कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण सार्वजनिक सवारी साधन चल्न नसक्दा डायलाइसिसको लागि अस्पताल आउने विरामीहरुलाई नियमित अस्पताल ल्याउने र छोड्ने व्यवस्था समेत गर्दै आएको छ ।
अस्पतालले डायलाइसिसको विरामीहरुलाई लैजान र छोड्नको लागि कपिलवस्तुको वाणगंंगा नगरपालिकाको बनगाई र नवलपरासीको बर्दघाटसम्म नियमित रुपमा बस पठाउने गरेको छ ।

अस्पतालमा हाल ४ सय २६ जनाले नियमित मिर्गौलाको डायलाइसिस गराउंदै आएका छन् । काठमाण्डौ भन्दा बाहिर सबैभन्दा ठूलो मिर्गौलाको डायलाईसिस युनिट संचालन गर्दै आएको मुटु अस्पतालमा बुटवलमा ३ सय ५४, दाङको लमहीमा ४९ र पाल्पामा २३ जना विरामीले नियमित डायलाईसिस गराउंदै आएका छन् ।

अस्पतालले बुटवलमा २० तथा लमही र पाल्पामा १०/१० वटा मेशिनबाट डायलाईसिस सेवा सञ्चालन गर्दै आएको छ । त्यस्तै स्याङजाको वालिङमा पनि डायलाइसिस सेन्टर सञ्चालनको अन्तिम तयारीमा रहेको अस्पतालले जनाएको छ ।