
बिहिवार , भाद्र २५, २०७७
भैरहवा, २५ भदौ ।
रुपन्देहीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी (सिडियो) पिताम्बर घिमिरेले तस्करीको विषयमा कुनै खालको सम्झौता नहुने दावी गरेका छन् । उनले भन्सार छलेर अवैध रुपमा सामानहरु ल्याउन नपाइने भएकोले तस्करी नियन्त्रणमा प्रशासनसहित बहुआयामिक निकाय लागेर सीमामा कडाइ गरिने बताए ।
विभिन्न सीमा नाकाबाट अवैध रुपमा भारतबाट मालसामान तथा मानिसहरु भित्रिएको भन्ने समाचार आइरहेको बेला रुपन्देहीको प्रजिअको जिम्मेवारी सम्हालेका घिमिरेले तस्करी नियन्त्रणका लागि प्रभावकारी ढंगबाट अगाडी बढनुपर्ने बताए । भदौ २२ गतेदेखि रुपन्देहीको प्रजिअको जिम्मेवारी सम्हालेका घिमिरेले ऐन कानूनले दिएको अधिकार प्रयोग गर्न आफुले कुनै हिचकिचहाट नगर्ने समेत दावी गरे ।
बिहीबार प्रशासन कार्यालयमा पत्रकारहरुसंग कुराकानी गर्दै प्रजिअ घिमिरेले भने, ‘तस्करीको सूचना दिएर सहयोग गर्नुहोस्, प्रमुख जिल्ला अधिकारीको एक्लो प्रयासबाट मात्र सबै कुरा सम्भव छैन ।’
पछिल्लो समय प्रेस लेखेर सवारीसाधन दुरुपयोग भइरहेको भन्ने कुरा आएकोले तत्काल यो कार्य रोक्न चेकजाँच कार्यलाई थप प्रभावकारी बनाउन प्रहरीलाई निर्देशन दिने बताए ।
प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेश सय प्रतिशत नै कार्यान्यवन हुने उनले बताए । आफुले भर्खरै मात्र जिम्मेवारी सम्हालेकोले यो वा त्यो गर्ने भन्ने आश्वासन तत्काल नदिएको घिमिरेले बताए ।
‘महामारी रोकथामको लागि सबैले आफ्नो स्वास्थ्यको ख्याल आफै पनि राख्नुपर्छ, प्रहरीले लाठी लगाएर वा प्रशासनले कडा गरेर तथा पत्रकारले समाचारमार्फत औल्याएर मात्रै हुँदैन, उनले भने ।
सो अवसरमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जि.सी.ले कार्यालयहरुमा सामाजिक दुरीको पालनालाई विशेष ख्याल गर्नुपर्ने बताए । उनले प्रेस कार्डको दुरुपयोग भएकोले अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहभागी पत्रकारहरुले बैंकका एटिएम मेशिन अगाडी बढी भिडभाड भइरहेकोले बैंकले एटिएम मेशिनको संख्या थप्नुपर्ने, आर्थिक क्षेत्र चलायमानका साथै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने, कार्यालयबाट सहज रुपमा सूचना प्रभाव हुनुपर्ने, सीमा नाकामा आवतजावतलाई कडाई गर्नुपर्ने, प्रहरी प्रशासनको भुमिकालाई थप प्रभावकारी बनाउनुपर्ने, प्रशासनको निर्णयलाई अक्षरस पालना गर्नुपर्ने लगायतका सुझाव दिएका थिए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल, जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी जनक थापा लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij