
मंगलवार , भाद्र २३, २०७७
बुटवल, २३ भदौ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सडकमा रात बिताउन बाध्य बेसहारा सहयोगापेक्षीहरुको उद्धार गरी निःशुल्क पीसीआर परीक्षण थालेको छ । बुटवललाई सडक मानवमुक्त घोषणा गरिसकिएको छ । घोषणा गरे यता सडकमा फेला पर्ने कुनै पनि बेसहारा तथा सहयोगापेक्षीलाई तत्काल उद्दार गरिंदै आएको छ ।
आफन्तबिहिन भएर सडकमा बेवारिसे जीवन बिताएका बेसहाराहरुलाई कोरोना भाइरस संक्रमण हुन सक्ने र उनीहरुको जीवन रक्षा गर्ने उद्देश्यले पीसीसआर परीक्षण सुरु गरेको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए ।लकडाउनको अवधिमा उपमहानगरपालिकाले २८ जना बेसहाराहरुको उद्दार गरि बुटवलस्थित मानव सेवा आश्रममा राखिएको नगरप्रमुख सुवेदीले बताए ।यसमध्ये आठ जनाको पीसीआर परीक्षण गरिएको छ र उनीहरूको रिपोर्ट आइसकेको छैन । उनीहरुलाई अलग्गै राख्ने व्यवस्था मिलाइएको छ । सुवेदीका अनुसार बुटवलभित्र कोही पनि अशक्त र रोगीहरु कोरोनाको जोखिममा नपरुन भन्ने उद्देश्यले सडकमा बेसाहरा भएकाहरुको उद्दार र पीसीआर परीक्षण गरिएको हो ।
आठ जनाको स्वाव संकलन गरी प्रयोगशालामा पठाइएको र रिर्पोट नआउञ्जेल छुट्टै आइसोलेशनमा राखिएको छ । उनीहरूमा त्यस्तो कुनै लक्षण नदेखिएको उपमहानगरपालिकाका स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । पीपीई लगाएका उद्दारकर्ता र स्वास्थ्यकर्मीले मानवीय सहयोगका काम निरन्तर गर्दै आएका छन् ।
कोरोना कहरका कारण एक व्यक्तिले अर्को व्यक्तिलाई सम्पर्क समेत गर्न नसकेको अवस्थामा बुटवल उपमहानगरले भने सडकमा बेसाहरा भएर बैचैन जीवन बिताएकाहरुलाई नगर प्रहरीमार्फत उद्दार गरी मानव सेवा आश्रममा राखेर नमूना काम गरेको छ ।
मानव सेवा आश्रम रुपन्देही जिल्ला संयोजक सरु अधिकारीका अनुसार बुटवल उपमहानगरले सहयोगापेक्षीहरुको उद्दार र व्यवस्थापनमा समेत सहयोग गरेको छ । उनका अनुसार बुटवल क्षेत्रबाट मात्रै लकडाउनको अवधिमा २८ जनाको उद्दार गरिएको हो भने प्रदेश ५ भरी ४५ जनाको उद्धार गरिएको छ । प्रदेशभरीमा बुटवलमा प्रभावकारी र नमुना काम भइरहेको उनको भनाइ छ ।
बुटवल उपमहानगरले कोरोना महामारीबाट नागरि बचाउने गरी पीसीआर परीक्षणलाई फराकिलो बनाएको उपप्रमुख गुमादेवी आचार्यले बताइन् । उनले लैंगिक हिंसामुक्त नगरको कार्ययोजना अनुरुपका पनि काम भइरहेको बताइन् । मिर्गौलाको डायलासिस गराउनुपर्ने र क्यान्सर रोगीहरुको निःशुल्क पीसीआर परीक्षण गरिसकेको थियो । उपमहानगरले सडकमा बेसहाराहरु भएकारुहको समेत पीसीआर परीक्षण गरेर अर्को नमूना काम गरेको भन्दै धेरैतिरबाट प्रशंसा भएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij