२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

ब्लड क्यान्सरपीडित बालकको उपचारका लागि लायन्स सिद्धार्थनगरको सहयोग

शनिवार , भाद्र २०, २०७७

भैरहवा, २० भदौ ।
लायन्स क्लब अफ सिद्धार्थनगरले ब्लड क्यान्सर पीडित बालकलाई आर्थिक सहयोग गरेको छ । क्लबले अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ का ९ वर्षिय विष्णुहरि पोखरेलको उपचारका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको हो । 

शनिबार क्लबले पीडित विष्णुहरिका भिनाजु हरि प्रसाद घिमिरेलाई रकम हस्तान्तरण गरेको हो । घिमिरेलाई लायन्स क्लब इन्टनरनेशनल ३२५ बी २ का स्ट्रेटेजिक चिफ पीएमजेएफ धर्मराज श्रेष्ठले उक्त रकमको चेक हस्तान्तरण गरे ।

चेक हस्तान्तरण कार्यक्रममा डिष्ट्रिक स्ट्रेटेजिक चिफ पीएमजेएफ नवराज न्यौपाने, एमजेएफ महेशचन्द्र थापा, इभ्यालुएसन हेड विनोद खरेल, क्लबका पदाधिकारी, सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

विगत ५ महिनादेखि काठमाण्डौंस्थित कान्ति बाल अस्पतालमा उपचाररत बालकलाई केही भए पनि सहयोग होस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष एमजेएफ नेत्र प्रसाद आचार्यले बताए । आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले पीडित परिवारलाई ५१ हजार प्रदान गरिएको क्लबका सह–सचिव तथा आर्थिक सहयोग कार्यक्रम संयोजक कुलचन्द्र गौतमले बताए ।

ब्लड क्यान्सर पीडित बालकका भिनाजु हरि प्रसाद घिमिरेले स्वास्थ्यमा समस्या देखिएपछि विष्णुहरिको उपचारका लागि चैतमा पाल्पास्थित मिसन अस्पतालमा उपचार गरिएको र त्यहाँबाट काठमाण्डौं लगिएपछि क्यान्सर पुष्टि भएको बताए । कक्षा ५ मा अध्ययन गरिरहेका बालकको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको र उनको उपचारको लागि करिब ७० लाख खर्च लाग्ने घिमिरेले बताए । 

यस अघि क्लबले भीरबाट ढुंगा खसेर दुवै खुट्टा भांचिएका प्युठानका १३ वर्षिय जीवन पुनको उपचारका लागि ५१ हजार रुपैयाँ प्रदान गरेको थियो ।