२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

कोरोना परिक्षण गर्दा सीमावर्ति क्षेत्रका क्रियाशील पत्रकार खुसी

मंगलवार , श्रावण ६, २०७७

भैरहवा ११ असार । सीमावर्ति क्षेत्रमा क्रियासील पत्रकारहरुको कोरोना परिक्षणकोलागि स्वाब संकलन भएको छ । पिसिआर परिक्षणको लागि संकलित नमूनाको रिजल्ट चार दिन पछि आउने बताइएको छ ।

‘पिसिआर परिक्षण जरुरी थियो । कयौं पटक क्वारेन्टाइन तथा सीमावर्ति क्षेत्रमा रिर्पोटिंगकोलागि खटिरहदा मनमा डर पनि छ कि कतै कोरोना त भएको छैन भनि बल्ल परिक्षणकोलागि स्वाब संकलन भएको छ । अब चेकजाच गराएपछि ढुक्क हुन्छ ।’ लुम्बिनी क्षेत्रमा क्रियासील पत्रकार बिन्दु कुमार चौहानले भने ।

धकधई क्षेत्रमा क्रियासील पत्रकार पशुपति यादवले कोरोनाको पिसिआर परिक्षण सीमावर्ति क्षेत्रमा क्रियासील पत्रकारहरुकोलागि जरुरी रहेको बताए । उनले भने, ‘हामी भारतबाट आउने नेपाली, नेपालबाट भारतजाने भारतीयहरु त्यसैगरी विभिन्न व्यक्तिसंग नियमित सम्पर्कमा समाचारकोलागि भईरहेका छौं । सीमावर्ति जिल्लाहरु कपिलवस्तु, पर्साका पत्रकारहरुलाई कोरोना देखिएपछि डर लागिरहेको थियो । यसैले स्थानिय सरकार, प्रशासन धेरैलाई सीमावर्ति क्षेत्रमा कोरोना चेकजांचकोलागि पहल गरिदिन धेरैपटक भनियो तर सुनुवाई भएन । तर ढिला भएपनि लुम्बिनी प्रेस क्लबले संयोजन गरेर जुन काम गरेको छ । त्यसले हामीलाई खुसी बनाएको छ ।’

असारको झरीमा भिज्दै २० किलोमिटर टाढाको मर्चवारदेखि जिल्ला सदरमुकाम भैरहवामा कोरोना चेकजाच गराउन आउनुभएका पत्रकार राजकुमार धवलले भने, ‘लुम्बिनी प्रेस क्लबले पत्रकारहरुको पिसिआरकोलागि नमूना संकलन गर्ने भनेपछि बिहानै साईल चलाएर आईयो । पानीले निथु्रुक्कै भिजीयो तर धेरै दिन देखि पिसिआर गर्न पाए हुन्थ्यो भन्ने लागि रहेको थियो । आज गराउन पाउदां खुसी लागेको छ ।’ धवलले अगाडी भने, ‘यतिबेला डर पनि लागेको छ । कतै रिजल्ट पोजेटिभ आउछ की भन्ने पनि छ । तर चेक गराउन पाउदा धेरै खुसी लागेको छ ।’

भिम अस्पतालमा ४२ जना पत्रकारहरुको पिसीआर बिधिबाट कोरोना परिक्षण गर्नका लागि स्वाब संकलन गरिएको भिम अस्पतालका सुचना अधिकारी गोपाल उपाध्यायले बताए । लुम्बिनी प्रेस क्लबको संयोजनमा उच्च जोखिममा रहेको नेपाल भारत सीमावर्ति क्षेत्र भैरहवा, मर्चवार, धकधइ, लुम्बिनी क्षेत्रमा क्रियासील विभिन्न सन्चार माध्ययममा काम गर्ने पत्रकारहरुको पिसिआर परिक्षणकोलागि स्वाब संकलन गरिएको लुम्बिनी प्रेस क्लबका अध्यक्ष दिपेश पछाईले बताए ।

कोरोना परिक्षण गर्नका लागि सिद्धार्थनगर नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, ओमसतिया गाउँपालिका, रोहिणी गाउँपालिका, सियारी गाउँपालिका, मायादेवी गाउँपालिका र कोटहिमाई गाउँपालिका अन्तर्गत रहेर रिर्पोटिङ गर्ने पत्रकारहरुको स्वाब संकलन गरिएको हो । जनस्वास्थ्य प्रयोगशाला प्रदेश नम्बर ५ मा पठाइएको ४२ जना पत्रकारहरुको स्वाब संकलनको रिर्पोट ४ दिनमा आउने छ । पत्रकारहरुको कोरोना चेकजाचमा प्रदेश प्रयोगशाला भैरहवा, भिम अस्पताल भैरहवा, रोटरी क्लव अफ लुम्बिनी र जेसीआइ सिद्धार्थ लेडि जेसिजले सहयोग गरेका छन् ।