
बुधवार , भाद्र १७, २०७७
भैरहवा, १७ भदौ ।
बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा नित्य पूजा सुरु भएको छ । ‘मायादेवी मन्दिरमा बिहान ढोका खोल्नु अगाडि र साँझ ढोका बन्द गर्नु अगाडी पुजापाठ गर्ने परम्पराको भाद्र पुर्णिमाको अवसर पारेर बुधबारदेखि सुरुवात गरेका छौ, लुम्बिनी विकाष कोषका कामु सदस्य सचिव ज्ञानिन राईले भने । उनले भने ‘मायादेवी मन्दिरमा बेलाबेला पूजापाठ हुने गर्दथ्यो तर नियमित थिएन, हामीले बुधबारदेखि लुम्बिनीमा नयाँ कार्यको प्रारम्भ गरेको हो ।’
धूप, दीप, जल अर्पण गरी त्रिरत्न वन्दना, परित्राण पाठ लगायतका कार्य गरी नियमित पूजा आयोजना गरिने कोषका सूचना अधिकृत राजन बस्नेतले बताए । लुम्बिनी गुरुयोजना क्षेत्रमा रहेका विभिन्न विहारका भिक्षु भिक्षुणीहरुले हरेक दिन आलोपालो गरी नियमित पूजा सञ्चालन गर्ने उनले जानकारी दिए । मायादेवी मन्दिर परिसरमा अशोक स्तम्भको छेउमा पूजा सञ्चालन हुनेछ । पूजा सञ्चालनका लागि पूर्वी विहार क्षेत्रबाट नेपाल परम्परागत बुद्ध धर्म संघका भिक्षु वजीर एवं पश्चिमी विहार क्षेत्रबाट सिंगापुर टेम्पलका लामा टासीले समन्वय गर्ने जनाइएको छ ।
हरेक दिन बिहान एवं बेलुकी ६ बजे पूजा सञ्चालन गरिनेछ । पूजा सञ्चालनका लागि विकास कोषले भिक्षु भिक्षुणीका लागि सेनिटाइजेशनको व्यवस्था गर्नेछ । साथै पूजा थाली, जल पात्र, धूप, दीप, फूल र प्रसादको व्यवस्था पनि कोषले गर्ने जनाइएको छ । कोरोना संक्रमणको कारण पूजामा सहभागिहरुले सामाजिक दुरी कायम गरेर पूजा गर्नेछन् । पूजाका क्रममा मायादेवी मन्दिर नखोलिने एवं सर्वसाधारण सहभागी हुन नसक्ने कोषले जनाएको छ ।
मायादेवी मन्दिरमा सुरुवात भएको नियमित पूजापाठले कोरोना संक्रमण सामान्य भइसकेपछि घुम्न आउने पर्यटकको लागि थप आकर्षण हुने अपेक्षा गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij