
शुक्रवार , भाद्र १२, २०७७
भैरहवा, १२ भदौ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वैकल्पिक तरिकाले विद्युतीउ (भर्चुअल) माध्यमबाट स्रोहश्राद्ध गर्न/गराउन व्यवस्था मिलाउन आग्रह गरेको छ । एक जना पूरोहित स्रोहश्राद्ध कार्यमा एकैदिनमा समेत धेरै जनाको घरमा जाने प्रचलन रहेकोमा यस पटक विषम् परिस्थितिका कारण यथाशक्य विद्युतीय माध्यमबाट स्रोहश्राद्ध गर्न आग्रह गरेको हो ।
नगरपालिकाले शुक्रबार सूचना जारी गर्दै कोरोना महामारीको कारण स्रोहश्राद्ध (पितृपूजन) कार्यमा आफन्त, छरछिमेकी, इष्टमित्र, बन्धुबान्धवलाई आमन्त्रण नगरी परिवारका सदस्यहरु मात्र सामेल हुन व्यवस्था आग्रह गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माले सूचना जारी गर्दै भनेका छन, ‘महामारीको समयमा पनि परम्परागत संस्कार, संस्कृति, धर्म, पूजा जस्ता कार्यहरु जर्गेना गर्ने हामी सबैको परम कर्तव्य भएकाले तोकिएकै तिथिमा गर्नुपर्ने स्रोहश्राद्ध कार्यमा यसपटक वैकल्पिक विधि अपनाउन सकिने विषयमा गुरु पूरोहितहरुले समेत यस विषम् परिस्थितिमा प्रविधिको उच्चतम प्रयोग गरी समयमै आफ्ना यजमानहरुसंग परामर्श गरी सोही बमोजिम तयार रहनका लागि जानकारी गराउनुहोस् ।’
त्यस्तै जन्म, न्वारान, व्रतबन्ध, मृत्यु संस्कार लगायतका पारिवारिक तथा सामाजिक जमघट जस्ता क्रियाकलापहरुमा सहभागिता न्यून गर्ने/गराउने व्यवस्था मिलाएर सम्भावित गराउने व्यवस्था मिलाएर सम्भावित कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन नगरपालिकाले सूचनामार्फत आग्रह गरेको छ ।
प्रत्येक वर्ष आश्विन कृष्ण पितृपक्षमा गरिने महालय श्राद्ध (पितृपूजन) यही भदौ १७ गतेदेखि सुरु हुँदैछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij