
बुधवार , भाद्र १०, २०७७
भैरहवा, १० भदौ ।
आँपको रुखबाट लडेर टाउकोमा गम्भिर चोट लागि झण्डै तीन महिनादेखि उपचार गराइरहेका नवलपरासीको रामग्राम नगरपालिका–१७ देवगाउँ फुलवरियाका १७ वर्षिय छोटु सहानीको परिवारलाई सहयोग जुट्ने क्रममा जारी छ । आर्थिक अभावका कारण छोटुको उपचारमा समस्यासम्बन्धि सञ्चारमाध्यमहरुमा समाचार प्रकाशित भएपछि सहयोग जुट्न थालेको हो ।
बुधबार सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लब अफ सिद्धार्थनगर युथले भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा पुगेर छोटुकी आमा रमावतीलाई ३० हजार १ सय रुपैयाँ हस्तान्तरण गरेको क्लबका वर्ष २०२०/२१ का द्वितीय उपाध्यक्ष अनित गुप्ताले बताए ।
‘तीन महिनादेखि उपचार गराइरहेका छोटुको समस्याबारे जानकारी पाएर केही भए पनि सहयोग गर्नुपर्छ भन्ने सोच बनायौं, त्यसैले बुधबार अस्पतालमै पुगेर पीडित परिवारलाई रकम हस्तान्तरण ग¥यौं, क्लबका अध्यक्ष असिम सैंजुले भने ।
क्लबका कोषाध्यक्ष निकेशदेव हटुवालको सक्रियता र संयोजनमा दुवै पीडित परिवारलाई सहयोग गरिएको क्लबका तृतीय उपाध्यक्ष सुनिल सेञ्चुरीले बताए ।
गत जेठ १२ गते घरनजिकै आँप टिप्ने क्रममा रुखबाट लडेर घाइते भएका छोटुको उपचारको लागि सुरुमा परासीस्थित पृथ्वीचन्द्र अस्पताल लगेको थिए । तर त्यहाँ उपचार सम्भव नभएपछि भैरहवा रिफर गरिएको थियो । टाउकोको अपरेशन सफल भए पनि छोटु अचेत अवस्थामा नै छन् ।
आर्थिक अवस्था कमजोर भएका सहानी परिवारलाई उपचारमा आर्थिक समस्याले थप पिरोलेको छ । छोटुका बुवा अमेरिका मजदूरी गरेर परिवारको जीविकापार्जन गर्दै आएका छन् । सहानी परिवारमा एक पछि अर्को समस्या थपिदै गएको छ । यो परिवारले केही वर्ष अघि सर्पले टोकेर जेठो छोरा गुमाइसकेको छ भने अमेरिकाको छोरी अञ्जना दुई वर्ष अघि पत्थरीको शल्यक्रिया र श्रीमती रमावतीको पाठेघरको शल्यक्रिया भएको थियो । यो परिवार विभिन्न समस्याबाट गुज्रिदै आएको छ । उपचारका क्रममा अब यो परिवारसंग खर्च गर्ने रकम छैन । उनीहरुले छोरोका उपचारका क्रममा भएको सम्पत्ति बेचिसके । अब सम्पत्तीको नाममा २ धुरमा बनेको कच्ची घर मात्र बाँकी रहेको बुवा अमेरिकाले बताए ।
छोटुको उपचारमा हालसम्म ९ लाख रुपैयाँ खर्च भइसकेको छ । अझै एक महिना अस्पतालमै राखेर उपचार गर्नुपर्ने भएकोले सहानी परिवार चिन्नित छ । अस्पतालका अनुसार उपचार गराइरहेको परिवारले अझै अस्पतालाई तीन लाख रुपैयाँ तिर्न बाँकी छ ।
छोटुको उपचार र उनको परिवारको आर्थिक सहयोगका लागि भैरहवामा विभिन्न संघ–संसथा जुट्न थालेको लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धका तृतीय उपाध्यक्ष रविकान्त उपाध्यायले बताए । भैरहवामा ‘छोटु सहानी बचाउ अभियान’ नै सञ्चालन गरिएको छ ।
सहानी परिवारलाई मारवाडी युवा मञ्च, भैरहवाले बुधबार ५१ हजार १ सय रुपैयाँ सहयोग गरिसकेको छ । त्यस्तै छोटुकी आमासहित दुई जना विरामी कुरुवालाई खानपिनको समेत व्यवस्था गरिएको मंचका अध्यक्ष मनोज अग्रवालले बताए ।
त्यस्तै क्लबले भीरबाट ढुंगा खसेर दुवै खुट्टा भांचिएका प्युठानको नौबहिनी गाउँपालिका–८ फोप्ली, १३ वर्षिय जीवन पुनको परिवारलाई सहयोग गरेको छ । आर्थिक अभावको कारण उपचारमा समस्या आएपछि क्लबले सहयोग गरेको जनाएको छ ।
भैरहवास्थित युनिभर्सल मेडिकल कलेज (युसीएमएस)मा भर्ना भइ खुट्टाको अपरेशनको लागि आर्थिक रकमको अभाव भएको जानकारी पाएपछि बुधबार अस्पतालमा पुगेर पीडित परिवारलाई ३० हजार १ सय रुपैयाँ प्रदान गरिएको क्लबका वर्ष २०२०/२१ का तृतीय उपाध्यक्ष सुनिल सेञ्चुरीले बताए ।
जीवनलाई सिद्धार्थ जेसीज, लायन्स क्लब अफ सिद्धार्थनगर, लायन्स क्लब अफ सिद्धार्थनगर लोटस, लायन्स क्लब अफ सिद्धार्थनगर टुलिप, स्व. कमलापती गंगादेवी पन्थ स्मृति प्रतिष्ठान भैरहवा, रोट्रयाक्ट क्लब अफ भैरहवा, रोट्रयाक्ट क्लब अफ बुटवल साउथ लगायतका संघ–संस्थाले सहयोग गरेका छन् ।
गत साउन ३० गते घरबाट स्थानीय बहाने बजार जादैं गर्दा लम्पुकभीरमा एक्कासी ढुंगा खस्दा जीवन घाइते भएका थिए । भीरबाट खसेको ढुंगाले उनको खुट्टा किच्दा दुबै खुट्टाको हड्डी भांचिएर छतविक्षत भएको उपचारमा संलग्न चिकित्सहरुले बताएका छन् ।
सहयोग पाएपछि गाउँघरमा खेतीपाती गरेर जीविकोपार्जन गरिरहेका कर्णबहादुर छोरोलाई पैसा नहुँदा बचाउन सकिन्न कि भन्ने चिन्ता पनि हटेको छ ।
प्युठानको नौबहिनी गाउँपालिका वडा नम्बर ८ फोप्ली स्थायी घर भएका कर्णबहादुरको जीवनसहित १० वर्षकी छोरी पनि छन् । स्थानीय नेपाल राष्ट्रिय आधारभूत विद्यालय कक्षा ७ मा पढ्दै गरेका जीवन आफ्ना बाबुसंगै साउन ३० गते बिहान बहाने बजार जादैं थिए । बहाने जाने क्रममा टिम्ले खोलास्थित लम्पुक भीरमा हिंड्दै गर्दा माथिबाट खसेको ढुंगाले च्याप्दा जीवनको दुवै खुट्टा भांचिएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij