
बुधवार , भाद्र १०, २०७७
भैरहवा, १० भदौ ।
आँपको रुखबाट लडेर टाउकोमा गम्भिर चोट लागि झण्डै तीन महिनादेखि उपचार गराइरहेका नवलपरासीको रामग्राम नगरपालिका–१७ देवगाउँ फुलवरियाका १७ वर्षिय छोटु सहानीको परिवारलाई सहयोग जुट्न थालेको छ । छोटुको उपचारमा समस्याबारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि सहयोग जुट्न थालेको हो ।
बुधबार मारवाडी युवा मंचले भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा पुगेर छोटुका परिवारलाई ५१ हजार १ सय रुपैयाँ सहयोग गरेको छ । त्यस्तै विरामी कुरुवाको रुपमा बस्ने उनको आमासहित दुई जनालाई बिहानसांझको खानाको समेत व्यवस्था गरिएको मारवाडी युवा मंचका अध्यक्ष मनोज अग्रवालले बताए । रकम हस्तान्तरण कार्यक्रममा मंचका संस्थापक अध्यक्ष सन्दिप अग्रवाल, वरिष्ठ उपाध्यक्ष सुदिप शर्मा लगायतको उपस्थिति रहेको थियो ।
गत जेठ १२ गते घरनजिकै आँप टिप्ने क्रममा रुखबाट लडेर घाइते भएका छोटुको उपचारको लागि सुरुमा परासीस्थित पृथ्वीचन्द्र अस्पताल लगेको थिए । तर त्यहाँ उपचार सम्भव नभएपछि भैरहवा रिफर गरिएको थियो । टाउकोको अपरेशन सफल भए पनि छोटु अचेत अवस्थामा नै छन् ।
विपन्न परिवारका सहानी परिवारलाई उपचारमा आर्थिक समस्याले थप पिरोलेको छ । छोटुका बुवा अमेरिका मजदूरी गरेर परिवारको जीविकापार्जन गर्दै आएका छन् । सहानी परिवारमा एक पछि अर्को समस्या थपिदै गएको छ । यो परिवारले केही वर्ष अघि सर्पले टोकेर जेठो छोरा गुमाइसकेको छ भने अमेरिकाको छोरी अञ्जना दुई वर्ष अघि पत्थरीको शल्यक्रिया र श्रीमती रमावतीको पाठेघरको शल्यक्रिया भएको थियो । यो परिवार विभिन्न समस्याबाट गुज्रिदै आएको छ । उपचारका क्रममा अब यो परिवारसंग खर्च गर्ने रकम छैन । उनीहरुले छोरोका उपचारका क्रममा भएको सम्पत्ति बेचिसके । अब सम्पत्तीको नाममा २ धुरमा बनेको कच्ची घर मात्र बाँकी रहेको अमेरिकाले बताए ।
अस्पतालका जनसम्पर्क अधिकारी शुशिल गुरुङका अनुसार हालसम्म विरामीको परिवारले ३ लाख ५६ हजार ३ सय ३८ रुपैयाँ तिर्न बाँकी छ ।
हाल विरामीलाई आइसीयूमा राखेर उपचार भइरहेको अस्पतालका प्रशासन संयोजक तेज कुमार के.सी.ले बताए । ‘पोष्ट अपमा राखेर उपचार भए पनि हाल छोटुको आइसीयूमा राखेर उपचार भइरहेको छ, आइसीयूमा राखिए पनि पोष्ट अपकै शुल्क लिइनेछ, अवस्था सहज भएपछि पुनः पोष्ट–अप वार्डमा लगिनेछ, के.सी.ले भने ।‘ पोष्ट अपमा कारोना संक्रमण देखिएपछि शिल गरिएकोले विरामीलाई आइसीयूमा राखेर उपचार भइरहेको उनले जानकारी दिए ।
आर्थिक अभावका कारण उपचारमा समस्या आएपछि विभिन्न संघ–संस्थाले छोटु सहानीको उपचारको लागि सहयोग गर्ने प्रतिबद्धता गरेको लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धका तृतीय उपाध्यक्ष रविकान्त उपाध्यायले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij