
बुधवार , भाद्र १०, २०७७
पोखरा । निशेधाज्ञाका बावजुत गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङख्यामा बृद्धि भएको छ । पछिल्लो केही दिनयता गण्डकी प्रदेशका अधिकांश जिल्लामा सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मी सहित स्थानियमा कोरोना सङ्क्रमण बढेको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बुधबार बिहान प्रदेशका कास्की, लमजुङ र नवलपरासीमा गरी दुई महिला र ३० पुरुष गरी ३२ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । कास्कीमा दुई सङ्क्रमितमध्ये एक जना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र अर्का विदेशबाट आएर क्वारेन्टिनमा बसेका व्यक्ति हुन् ।
लमजुङमा २३ जना थपिएकामा २० नेपाली सेनामा कार्यरत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए । लमजुङका सङ्क्रमित अर्का एक पुरुष बेँसीशहरमा एक बैंकमा कार्यरत रहेको बताइएको छ ।
नवलपरासी बर्दघाट सुस्तापूर्वको गैँडाकोट र कावासोतीमा गरी सात जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
हालसम्म प्रदेशमा सङ्क्रमित एक हजार ९ सय ३६ पुगेका छन भने एक हजार ६ सय ४३ जना निको भएका छन् । प्रदेशमा सङ्क्रमणबाट निको हुने दर ८४ दशमलव ८६ प्रतिशत रहेको छ ।
गण्डकी प्रदेशमा हालसम्म आठ जनाले कोरोनाबाट ज्यान गुमाएको निर्देशनालयले जनाएको छ । प्रदेशमा अहिलेसम्म ४१ हजार ३९१ जनाको पिसीआर विधिबाट कोरोना परीक्षण गरिएकामा ३९ हजार ४ सय ५५ मा सङ्क्रमण देखिएको छैन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij