
बुधवार , भाद्र १०, २०७७
अर्घाखाँची १० भदौ । अर्घाखाँची जिल्लामा भदौ १७ गते सम्म निषेधाज्ञा हुने भएको छ । जिल्ला स्तरीय कोभिड—१९ संकट व्यवस्थापन समितीको बैठकले भाद्र ३ गतेदेखि जारी निषेधाज्ञा आज राति १२ बजे सकिदै छ । त्यस लाई निरन्तरता दिनको लागि भाद्र १७ गते राति १२ बजे सम्म निषेधाज्ञा गरिने निर्णय भएको हो ।
जिल्लामा कोरोना संक्रमण समुदाय सम्म पुगेको भन्दै बैठकले जिल्लाबासीलाई कोभिड १९ को महामारीबाट सुरक्षित राख्न पुनः निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले खबरपात्रोलाई बताए । उनका अनुसार निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने छन् । तरकारी, खाद्य पसल दिउँसो साढे ३ बजेदेखि ७ बजेसम्म सञ्चालन हुनेछन् भने दुधजन्य पसल बिहान ६ देखि ८ बजेसम्म खोल्न पाउने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले बताए ।
पछिल्लो समय जिल्लामा दुइ स्वास्थ्यकर्मी, एक कार्यालय प्रमुख, एक सञ्चारकर्मी, सहित १३ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि अर्घाखाँची अस्पतालमा सोमबारदेखि आकस्मिक र प्रसूति सेवाबाहेक अरु सबै सेवा बन्द गरिएको छ । अस्पताल डाक्टर र स्वास्थ्यकर्मीको पीसीआर रिपोर्ट नआउँदासम्म उनीहरु होम आइसोलेसनमा बसेका छन् ।
अस्पतालका कर्मचारी, संञ्चारकर्मी र संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका एकसय ११ जनाको स्वाब संकलन गरेर सोमबार पठाईएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिए।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij