
मंगलवार , भाद्र ९, २०७७
भैरहवा, ९ भदौ ।
भीरबाट ढुंगा खसेर दुवै खुट्टा भांचिएका प्युठानको नौबहिनी गाउँपालिका–८ फोप्ली, गौराचोकका १३ बर्षिय जीवन पुनको आर्थिक अभावको कारण उपचारमा समस्या देखिएपछि जेसीआई सिद्धार्थ, नेपाल (सिद्धार्थ जेसीज)ले सहयोग गरेको छ ।
भैरहवास्थित युनिभर्सल मेडिकल कलेज (युसीएमएस)मा भर्ना भइ खुट्टाको अपरेशनको लागि आर्थिक रकमको अभाव भएको जानकारी पाएपछि मंगलबार अस्पतालमा पुगेर पीडित परिवारलाई ७१ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरिएको जेसीआई सिद्धार्थ वर्ष २०२० का अध्यक्ष मंगल भण्डारीले बताए ।
माधव शर्माको संयोजनमा शाखाका पूर्व अध्यक्ष तथा अन्य सहयोगी हातहरुबाट रकम संकलन गरी उपलब्ध गराइएको भण्डारीले जानकारी दिए । लायन्स क्लब अफ सिद्धार्थनगर, होलिसिटीका निवर्तमान अध्यक्ष दिपेन्द्र प्रधानले सहयोग गर्न आह्वान गरेपछि केही भए पनि रकम उपलब्ध गराउनुपर्छ भन्ने सोचमा जेसीज पुगेर रकम हस्तान्तरण गरेको उनले बताए ।
सिद्धार्थ जेसीजसहित लायन्स क्लब अफ सिद्धार्थनगर, लायन्स क्लब अफ सिद्धार्थनगर लोटस, लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगर, लायन्स क्लब अफ सिद्धार्थनगर टुलिप, स्व. कमलापती गंगादेवी पन्थ स्मृति प्रतिष्ठान भैरहवा लगायतका संघ–संस्थाले सहयोग गरेका छन् ।
जीवनको उपचारमा डा. प्रकृतिराज कडेंल, डा. किशोरमान श्रेष्ठसहितको चिकित्सको टोली संलग्न छ । चिकित्सकहरुका अनुसार ढुंगाले थिच्दा उनको खुट्टाको हड्डी सबै भाचिएको छ । खुट्टाको हड्डी धेरै ठाउमा भाचिंएकोले अप्रेशन पनि गम्भिर ढंगले गर्नुपर्ने हुन्छ । अस्पताल प्रशासनको अनुसार उनको उपचारको लागि करिब चार लाखको हाराहारी खर्च आउने देखिन्छ ।
रकम प्राप्त भएपछि जीवनका बुबा कर्णबहादुरले समाचारमार्फत छोरोको उपचारको लागि रकम जुटेको भन्दै खुशी व्यक्त गरे । उनले सहयोग गर्ने सम्पूर्ण संघ–संस्थालाई धन्यवाद दिए ।
सहयोग पाएपछि गाउँघरमा खेतीपाती गरेर जीविकोपार्जन गरिरहेका कर्णबहादुर छोरोको उपचारलाई पैसा नहुँदा बचाउन सकिन्न कि भन्ने चिन्ता पनि हटेको छ ।
कर्णबहादुरको जीवनसहित १० वर्षकी छोरी पनि छन् । स्थानीय नेपाल राष्ट्रिय आधारभूत विद्यालय कक्षा ७ मा पढ्दै गरेका जीवन आफ्ना बाबुसंगै साउन ३० गते बिहान बहाने बजार जादैं थिए । बहाने जाने क्रममा टिम्ले खोलास्थित लम्पुक भीरमा हिंड्दै गर्दा माथिबाट खसेको ढुंगाले च्याप्दा जीवनको दुवै खुट्टा भाचिएको हो ।
त्यसदिनको घटना सम्झिदैं कर्णबहादुर भन्छन्, ‘जीवनलाई कपडा किन्न भनेर हामी बाबु छोरा बहाने जाँदै थियौं । लम्पुकभीरमा हिंड्दै गर्दा एक्कासी माथिबाट ढुंगा खस्यो । म अलि पछि थिए र जोगिए । छोरालाई लागिहाल्यो । त्यसपछि हारगुहार गरेर बिजुवार पुराएं । बिजुवार अस्पतालले तुरुन्तै भैरहवा जान भन्यो । अनि एम्बुलेन्समा त्यसैदिन सांझ यहां आएका हौं । ’
सुरुमा आइसीयुमा राखेर उपचार गरिएको जीवनको स्वास्थमा सामन्य सुधार भएपछि हाल वार्डमा राखेर उपचार भइरहेको युसिएमएस भैरहवाका प्रशासन संयोजक तेज कुमार के.सीले बताए । उनले भने, ‘अस्पतालको तर्फबाट सकेको सहयोग गरेका छौं ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij