
आइतवार , भाद्र ७, २०७७
भैरहवा, ७ भदौ ।
रुपन्देहीको मायादेवी गाउँपालिकाले गाउँपालिकाभित्र भदौ ७ गते राति १२ बजेदेखि भदौ १४ गते राती १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । गाउँपालिकाले आइतबार सूचना जारी गर्दै गा.पा. क्षेत्रभित्र पनि दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गएकोले समुदायस्तरमा संक्रमण फैलिन नदिन पूर्ण लकडाउनको घोषणा गरेको जनाएको छ ।
कोभिड–१९ को संक्रमण फैलिन नदिन र सो को नियन्त्रण रोकथाम तथा व्यवस्थापनको लागि पूर्ण लकडाउन गरिएको गाउँपालिका अध्यक्ष ध्रुव नारायण चौधरीले बताए ।
लकडाउन अवधिमा नेपाल सरकारद्वारा जारी गरिएको सुरक्षा मापदण्ड पूर्ण रुपमा कार्यान्यवन गराउन, औषधी पसल, मेडिकल, अस्पतालबाहेक सबै प्रकारका पसल, व्यवसाय, उद्योगधन्दा, कलकारखाना, होटल तथा रेष्टुरेण्ट, बैंक, वित्तीय, संस्था, बन्द गर्ने र वित्तीय सेवाका लागि प्रविधिको उपयोग गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ढुंगानाले बताए । त्यस्तै अत्यावश्यक सेवा सञ्चालनका लागि प्रयोग गरिने सवारीसाधन र एम्बुलेन्स, वारुणयन्त्र, शवबाहन, औषधी, एग्रोभेट, सञ्चार, पेट्रोलियम पदार्थ, खानेपानी, विद्युत, सरसफाई, दुधका टंयाकर, पशुपंक्षीको दानाका गाडीबाहेकका अन्य कुनै पनि प्रकारका सवारीसाधन प्रयोग गर्न नपाइने ढुंगाानाले जानकारी दिए ।
त्यसै गरी गाउँपालिका तथा अन्तर्गत कार्यालयबाट प्रवाह गरिने स्वास्थ्य लगायतका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु पूर्ण रुपमा बन्द गरिने गाउँपालिकाले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij