
शनिवार , भाद्र ६, २०७७
बुटवल, ६ भदौ ।
रोटरी क्लब अफ बुटवलको १३ सय २६ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । बैठकमा रोटरी इन्फरमेशन सम्बन्धि एजेण्डामा छलफल भएको थियो ।
बैठकमा उपस्थित रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ कि मेम्वरसिप कमिटी चेअर मन्जु कार्की लामिछानेले रोटरीबारे जानकारी गराउँदै रोटरीको सदस्य संख्या र रोटरीको पब्लिक इमेज कसरी बढाउने भन्नेतर्फ ध्यान दिन रोटरीयनहरुलाई आग्रह गरिन् । रोटरी क्लब मात्र नभएर अवसर पनि रहेको चर्चा गर्दै उनले नयाँ सदस्य भित्र्याउन हरेक महिना क्लवको ढोका खुला राख्नुपर्नेमा जोड दिइन् ।
सदस्य संख्या बढाउने मात्र नभइ उनीहरुको निरन्तरता र क्रियाशिलतामा मुख्य ध्यान दिन पनि उनको आग्रह छ । खासगरी युवा र महिलाहरुलाई केही वर्ष यता रोटरीमा आउन आह्वान गरिरहेको भन्दै लामिछानेले नेतृत्व विकास गर्न र पव्लिक इमेज कायम गर्न रोटरी महत्वपूर्ण संस्था भएको बताइन् ।
‘राम्रा कामलाई अगाडि बढाउँदै जाँदा समाजका विभिन्न पेशा र व्यवसायमा आवद्ध प्रबुद्ध वर्गको रोटरीप्रति आकर्षण बढ्छ र राम्रा, असल नागरिकको प्रवेशले रोटरीको इमेज पनि बढाउँछ’–उनले भनिन् । रोटरी भनेको सामान्य जनताको सेवामा समर्पित संस्था हो भन्ने कुरालाई पहिले स्थापित गर्न सक्नुपर्ने पनि उनले बताइन् । उनले रोटरीले गरेका राम्रा र सफल कामलाई प्रचारमा ल्याउन पनि आग्रह गरिन् ।
रोटरी क्लब अफ बुटवलका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा पूर्व अध्यक्ष पुरन श्रेष्ठ, रोटरीयनहरु मणिरत्न पाण्डे र सृष्टि गुरुङले विभिन्न जिज्ञासा राखेका थिए । त्यस्तै बैठकमा क्लबका सचिव रोम शर्मा, सह–सचिव शिवकुमार ज्ञवाली, रोटरीयनहरु संगीता गौतम अर्याल, सावि विश्वकर्मा लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij