शनिवार , मंसिर १२, २०८३
भैरहवा, १२ असार । नेपालमा उपेक्षित उष्णप्रदेशीय रोग (एनटीडी) नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल भए पनि लुम्बिनी प्रदेशमा कुष्ठरोगको भार अझै उच्च देखिएको छ । रोगको समयमै पहिचान नहुनु, उपचारमा ढिलाइ र सामाजिक लाञ्छनाका कारण कुष्ठरोग प्रभावित व्यक्तिहरूले अझै विभिन्न समस्या भोग्नुपरेको सरोकारवालाहरूले बताएका छन् ।
स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजना, नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वय तथा प्रेरणा परियोजना, फेयरमेड र इन्द्रेणीको सहयोगमा शुक्रबार भैरहवामा आयोजित अन्तरक्रियामा सहभागीहरूले कुष्ठरोगलगायत उपेक्षित उष्णप्रदेशीय रोग नियन्त्रणका लागि समयमै निदान, प्रभावकारी उपचार, जनचेतना अभिवृद्धि र सामाजिक विभेदको अन्त्यमा जोड दिएका हुन् ।
स्वास्थ्य कार्यालय रुपन्देहीका वरिष्ठ तथ्यांक अधिकृत टुकराज पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ क्षय–कुष्ठ अधिकृत टीकाराम अधिकारीले उपेक्षित उष्णप्रदेशीय रोगको विश्वव्यापी, राष्ट्रिय तथा स्थानीय अवस्थाबारे तथ्यांक प्रस्तुत गर्नुभयो । उहाँका अनुसार नेपालमा पहिचान गरिएका ११ प्रकारका उपेक्षित उष्णप्रदेशीय रोगमध्ये सन् २०१० मा कुष्ठरोगलाई जनस्वास्थ्य समस्याका रूपमा निवारण घोषणा गरिएको थियो भने सन् २०१८ मा ट्रकोमा निवारण भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट प्रमाणित भएको थियो ।
नेपाल सरकारले कालाजार सन् २०२६ भित्र तथा हात्तीपाइले र रेबिज सन् २०३० भित्र निवारण गर्ने लक्ष्य लिएको उहाँले जानकारी दिनुभयो ।
लुम्बिनीमा कुष्ठरोगको भार दोस्रो उच्च
प्रस्तुत तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/०८२ मा नेपालभर २ हजार ४०९ नयाँ कुष्ठरोगी पहिचान भएका थिए । सो अवधिमा कुष्ठरोगको प्रकोप दर प्रति १० हजार जनसंख्यामा ०.८८ र नयाँ बिरामी दर प्रति एक लाख जनसंख्यामा ८.१६ रहेको थियो ।
नयाँ पहिचान भएका बिरामीमध्ये १४ वर्षमुनिका बालबालिका ९१ जना अर्थात् ३.७८ प्रतिशत थिए । त्यस्तै, ग्रेड–२ असमर्थता भएका बिरामी १५४ जना (६.३९ प्रतिशत), महिला एक हजार १२ जना (४२.०१ प्रतिशत) र बहुब्यासिलरी (एमबी) प्रकारका बिरामी एक हजार ९५५ जना (८१.१५ प्रतिशत) रहेका थिए ।
प्रदेशगत रूपमा कुष्ठरोगको प्रकोप दर मधेश प्रदेशमा प्रति १० हजार जनसंख्यामा १.२८ रहेको छ । त्यसपछि लुम्बिनी प्रदेशमा १.२३ रहेको छ । नयाँ बिरामी दरमा पनि मधेश प्रदेश १३.७ सहित पहिलो र लुम्बिनी प्रदेश ११.१ सहित दोस्रो स्थानमा छन् । प्रकोपदर १ भन्दा बढी रहेका १६ जिल्लामध्ये लुम्बिनी प्रदेशका रुपन्देही, नवलपरासी पश्चिम, कपिलवस्तु, बाँके र बर्दिया रहेका छन् । यसले प्रदेशमा कुष्ठरोग नियन्त्रणका लागि थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देखाएको छ ।
रुपन्देहीमा एक वर्षमा ५१ बिरामी घटे
रुपन्देहीमा आर्थिक वर्ष २०८१/०८२ मा १७० नयाँ कुष्ठरोगी फेला परेका थिए । आर्थिक वर्ष २०८२/०८३ मा यो संख्या घटेर ११९ मा झरेको छ । एक वर्षको अवधिमा नयाँ बिरामीको संख्या ५१ ले घटेको तथ्यांकले देखाएको छ ।
आर्थिक वर्ष २०८२÷०८३ मा पालिकागत रूपमा बुटवल उपमहानगरपालिकामा १८, सिद्धार्थनगर नगरपालिकामा १४, तिलोत्तमा नगरपालिकामा ११, शुद्धोधन गाउँपालिकामा १२, देवदह नगरपालिकामा ९ र सैनामैना नगरपालिकामा ५ नयाँ बिरामी दर्ता भएका छन् ।
रुपन्देहीमा आर्थिक वर्ष २०८३÷०८४ को कात्तिकसम्म डेंगीका १ हजार १७५ बिरामी तथा कुकुरले टोकेका १ हजार १७८ घटना अभिलेख भएका छन् । यस अवधिमा कालाजार र खस्रेरोगका बिरामीसमेत फेला परेको प्रस्तुतिमा उल्लेख छ ।
रोग भन्दा सामाजिक लाञ्छना ठूलो चुनौती
कार्यक्रममा डा. सन्ध्या सेनले कुष्ठरोग तथा हात्तीपाइलेलाई पूर्वजन्मको पाप, श्राप, दैवी प्रकोप वा छुवाछुतसँग जोड्ने गलत धारणाका कारण प्रभावित व्यक्तिहरू सामाजिक बहिष्करणमा पर्ने गरेको बताउनुभयो ।
रोगको समयमै पहिचान र उपचार नहुँदा अपांगताको जोखिम बढ्ने उल्लेख गर्दै उहाँले बिरामीको गोपनीयता र सम्मान कायम राख्नुपर्नेमा जोड दिनुभयो । समुदायस्तरमा सम्पर्क परीक्षण, छालारोग शिविर, स्वयं हेरचाह समूह तथा सामाजिक समावेशीकरणका कार्यक्रममार्फत रोग नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो ।
स्थानीय तह, स्वास्थ्य संस्था र सामाजिक संघ–संस्थाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उहाँले प्रभावित व्यक्तिलाई समाजमा सम्मानपूर्वक बाँच्ने वातावरण निर्माण गर्नुपर्ने धारणा राख्नुभयो । स्थानीय तहको स्वास्थ्य बजेट, प्रारम्भिक निदान क्षमता र स्वास्थ्य सेवाको गुणस्तरका विषयमा सञ्चारकर्मीले निगरानी गर्नुपर्ने उहाँको भनाइ थियो ।
समुदायस्तरमा परीक्षण र सहकार्य आवश्यक
स्वास्थ्य तालिम केन्द्र लुम्बिनीका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत शैलेन्द्र कुमार पाण्डेयले सही र तथ्यपरक स्वास्थ्य सूचना प्रवाह तथा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका लागि तालिम आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा इन्द्रेणी ग्रामीण विकास केन्द्रका कार्यकारी निर्देशक प्रदीप शाह, फेयरमेडको प्रेरणा परियोजनाका सोभाराम भण्डारी, फेयरमेड फाउण्डेशन नेपालका तुलसीराम खनाललगायत स्वास्थ्य क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागीता थियो ।
सहभागीहरूले कुष्ठरोगलगायत उपेक्षित उष्णप्रदेशीय रोग उपचारयोग्य भएकाले समयमै स्वास्थ्य संस्थामा जान प्रेरित गर्ने, सामाजिक सञ्जालमा फैलिने भ्रामक सूचना चिर्ने तथा नीति र बजेट कार्यान्वयनमा खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रम स्वास्थ्य कार्यालय रुपन्देहीका वरिष्ठ ल्याब टेक्निसियन अधिकृत खिमलाल पाण्डेयले सञ्चालन गर्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij