२०८३, मंसिर १२ गते

Nov 28 2026 | २०८३, मंसिर १२ गते

रुपन्देही क्याम्पसको १६ औं क्याम्पस सभा सम्पन्न, शिक्षण संस्था विद्यार्थीमुखी बनाउनुपर्नेमा जोड

शनिवार , मंसिर १२, २०८३

  • 169
    Shares
  • 169
    Shares
  • भैरहवा, १२ मंसिर । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त रुपन्देही क्याम्पसको १६ औं क्याम्पस सभा शनिबार सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिका–९ स्थित क्याम्पस परिसरमा सभा सम्पन्न भएको हो ।

    सभालाई सम्बोधन गर्दै रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि डा. लेखजंग थापाले शिक्षण संस्थालाई विद्यार्थीमुखी बनाउनुपर्नेमा जोड दिनुभयो । ‘एक्लै हिँड्दा छिटो पुग्न सकिन्छ, तर, साथमा हिँड्दा टाढा पुग्न सकिन्छ । आजका विद्यार्थीको भविष्य उज्ज्वल बनाएर देशको भविष्य पनि उज्ज्वल बनाउनुपर्छ,’ उहाँले भन्नुभयो ।

    उहाँले अस्पताल बिरामीका लागि भएजस्तै कलेज तथा विद्यालय पनि विद्यार्थीका लागि हुनुपर्ने बताउनुभयो । शिक्षण संस्थाले विद्यार्थीको हितलाई केन्द्रमा राखेर लगानी र खर्च गर्नुपर्ने उहाँको भनाइ थियो । विद्यार्थी नै क्याम्पसका वास्तविक राजदूत भएको उल्लेख गर्दै उहाँले पूर्वविद्यार्थीबाट समेत सुझाव र सल्लाह लिनुपर्ने बताउनुभयो । क्याम्पसले विद्यार्थीका उपलब्धी बेलाबेलामा सार्वजनिक गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो–‘मैले के योगदान गर्न सक्छु, यहाँहरूले निर्धक्कसँग भन्नुहोस् । त्यसका लागि मेरो साथ र सहयोग रहनेछ ।’

    जिल्ला समन्वय समिति, रुपन्देहीका प्रमुख उमाकान्त चपाईले आफूले रुपन्देहीमै रहेर अध्ययन गरेको र जिल्लाका क्याम्पसहरूको अवस्थाबारे जानकार रहेको बताउनुभयो । शिक्षा क्षेत्रमा केही गर्नुपर्छ भन्ने उद्देश्यले आफू विगतदेखि नै सक्रिय रहेको उहाँको भनाइ थियो ।

    विद्यार्थीको क्षमता र पारिवारिक वातावरण बुझेर उनीहरूलाई आवश्यक सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । विद्यार्थीको अवस्थाबारे अभिभावकलाई जानकारी गराउनुका साथै आवश्यक परामर्शसमेत दिनुपर्ने उहाँको भनाइ थियो ।

    क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा. राम प्रसाद बस्यालले एउटा कोठाबाट सुरु भएको रुपन्देही क्याम्पस आजको अवस्थामा आइपुग्नुमा अग्रज, व्यवसायी तथा विभिन्न सहयोगीहरूको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । क्याम्पसमा कार्यरत शिक्षकहरूको मेहनत र पसिनाले संस्थालाई यहाँसम्म ल्याउन सहयोग गरेको उहाँले उल्लेख गर्नुभयो । उहाँले समाजसेवी स्वर्गीय लिलाराम न्यौपानेले शिक्षा तथा सामाजिक क्षेत्रमा पुर्याउनुभएको अतुलनीय योगदानको स्मरण गर्दै उहाँको अथक प्रयासको प्रशंसा गर्नुभयो । क्याम्पसमा अध्ययन गरेका विद्यार्थीहरूको उपलब्धी र योगदानको समेत चर्चा गर्नुपर्ने उहाँले बताउनुभयो ।

    क्याम्पस प्रमुख तथा सञ्चालक समितिका सदस्य सचिव मोतीलाल सुवेदीले क्याम्पसको स्थापनादेखि हालसम्म योगदान पुर्याउने व्यक्ति तथा संघ–संस्थाप्रति आभार व्यक्त गर्नुभयो । उहाँका अनुसार समुदायमा सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले यस क्षेत्रका शिक्षाप्रेमीहरूको सक्रियतामा वि.सं. २०४८ सालमा त्रिभुवन विश्वविद्यालयबाट सहमति लिएर कानून विषय अध्यापन गराउने लक्ष्यसहित क्याम्पस स्थापना गरिएको हो ।

    २०७५ सालसम्म कक्षा ११ र १२ (प्रमाणपत्र तह) को अध्ययन हुँदै आएकोमा सरकारले कक्षा ११ र १२ लाई विद्यालय तहमा समायोजन गरेपछि उक्त कार्यक्रम सञ्चालन हुन छाडेको उहाँले जानकारी दिनुभयो ।

    विश्वविद्यालय तहको शिक्षालाई निरन्तरता दिने क्रममा २०६३ सालमा बी.एड. र २०६६ सालमा बी.बी.एस कार्यक्रम त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन हुँदै आएको उहाँले बताउनुभयो । यसै वर्ष थप कार्यक्रमका रूपमा बीबीए र एमबीएस सञ्चालनका लागि त्रिविबाट स्वीकृति प्राप्त भइसकेको र सम्बन्धनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो । सम्बन्धन प्राप्त भएपछि नियमानुसार कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ थियो ।

    aaaa.JPG

    क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष तथा पूर्वक्याम्पस प्रमुख प्रा.डा. गितु गिरीको स्वागत तथा सहायक क्याम्पस प्रमुख बसन्तमणि पोखरेलको सञ्चालनमा सम्पन्न सभामा सिद्धार्थनगर नगरपालिकाको पूर्व उपप्रमुख तथा छात्रवृत्ति दाता उमा काफ्ले, क्याम्पसको व्यवस्थापन विभागका संयोजक सुरेश खनाल, दाताका तर्फबाट कुन्तीदेवी न्यौपाने, अनामिका बस्याललगायतले बोल्नुभएको थियो ।