२०८३, मंसिर १२ गते

Nov 28 2026 | २०८३, मंसिर १२ गते

पूर्ण छात्रवृत्तिमा नाम निकालेका विद्यार्थीलाई कालिकाको सम्मान

शनिवार , मंसिर १२, २०८३

  • 145
    Shares
  • 145
    Shares
  • बुटवल, १२ मंसिर । रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले एमबीबीएस तथा इन्जिनियरिङतर्फ पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल मेधावी विद्यार्थीहरुलाई सम्मान गरेको छ । शुक्रबार एक समारोहकाबीच विद्यार्थीहरुलाई नगद र मायाको चिनोसहित सम्मान गरिएको थियो ।

    कालिका मानवज्ञान माविबाट एमबीबीएसको पूर्ण छात्रवृत्तिमा ‘टप टेन’ र्‍याङ्कसहित २२ जना र इन्जिनियरिङतर्फ ३० जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । त्यस्तै बीएएमएसतर्फ आकाश मिश्र नेपाल प्रथम र इशान ज्ञवाली नेपाल द्वितीय हुन सफल भएका छन् भने बिएस्सी नर्सिङतर्फ ३ जनाले पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन् । एमबीबीएसतर्फ विद्यार्थी शिशिर मल्ल टप टेनमा परेका छन् । उनी माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पनि कालिकाबाटै ४ जीपीएसहित उत्तीर्ण भएका थिए । 

    देशभरबाट एमबीबीएसतर्फ ४०० जनाको कोटामा एउटै सामूदायिक विद्यालयबाट २२ जना र इन्जिनियरिङतर्फ ३० जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा नाम निकाल्नु ठूलो उपलब्धी रहेको विद्यालयका प्रधानाध्यापक विष्णुहरि ज्ञवालीले बताउनुभयो । महंगो मेडिकल शिक्षा अध्ययनका लागि विद्यार्थीहरुले आफूलाई अब्बल साबित गर्न सफल भएको उहाँले बताउनुभयो । विभिन्न समस्या र चुनौतीकाबीच पनि शिक्षक, विद्यार्थी र अभिभावकको अथक मिहिनेतका कारण कालिकाले उत्कृष्ट नतिजा ल्याउन सफल भएको उहाँको भनाइ थियो । ‘विद्यार्थीको निरन्तर मेहनत, अभिभावकको विश्वास र शिक्षकको समर्पणका कारण विद्यालयले गौरवपूर्ण सफलता हासिल गरेको हो,’ ज्ञवालीले भन्नुभयो ।

    विद्यालयका विज्ञान संकाय संयोजक कृष्ण अधिकारीले योजनाबद्ध पठनपाठन, नियमित मूल्यांकन र अतिरिक्त तयारी कक्षाले विद्यार्थीको सफलतामा सहयोग पुगेको बताउनुभयो ।  उहाँका अनुसार कक्षा ११ र १२ देखि नै विद्यार्थीलाई चिकित्सा तथा इन्जिनियरिङ प्रवेश परीक्षाका लागि आवश्यक आधार तयार गराउने गरिएको छ । 

    कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख विष्णु प्रसाद पन्थीले सामूदायिक विद्यालयमा शिक्षकले पढाउँदैनन्, पढाइ राम्रो हुँदैन भन्ने भाष्य चिर्दै कालिका मानवज्ञान मावि देशभरमै उत्कृष्ट हुन सफल भएको बताउनुभयो । यस नतिजाले सामूदायिक विद्यालयले पनि गुणस्तरीय र प्रतिष्पर्धी शिक्षा प्रदान गर्न सक्छ भन्ने प्रमाणित गरेको उहाँले बताउनुभयो । नेपालका सामूदायिक विद्यालयले पनि विश्वस्तरीय विद्यालयसँग प्रतिष्पर्धा गर्न सक्ने भन्दै उहाँले अब गुणस्तरीय शिक्षासँगै दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

    WhatsApp Image 2026-11-27 at 5.42.06 PM (1).jpeg

    कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक तथा बुटवल कालिका क्याम्पस प्रमुख घनश्याम पाठकले सामूदायिक विद्यालयतर्फ नमूना विद्यालयका रूपमा परिचित कालिका मानवज्ञान माविले एमबीबीएस तथा इन्जिनियरिङतर्फ प्राप्त गरेको सफलताले विद्यालयको शैक्षिक पहिचानलाई थप बलियो बनाएको बताउनुभयो । आफू प्रअ हुँदा २०६५ सालमा प्लस टु सञ्चालन गरेको स्मरण गर्दै उहाँले सबैको साथ, सहयोग र सहकार्यबाट कालिका देशभरमै उत्कृष्ट विद्यालय बन्न सफल भएको उहाँको भनाइ थियो । सफल हुनका लागि विद्यार्थीले अध्ययनसँगसँगै लगनशीलता र अनुशासनलाई पनि सँसँगै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।   

    त्यस्तै कार्यक्रममा एमबीबीएसको पूर्ण छात्रवृत्तिमा ‘टप टेन’मा पर्न सफल बिद्यार्थी शिशिर मल्ल, इन्जिनियरिङतर्फ २७ नम्बरमा नाम निकाल्न सफल विद्यार्थी आरोहण तिवारीले बोल्दै निरन्तर मिहेनत गरेर अध्ययन गर्ने हो भने सफलता हात पार्न सकिने बताउनुभयो । उहाँहरुले कालिकामा अध्ययनका लागि उत्कृष्ट वातावरण रहेको उल्लेख गर्दै विद्यालयको थप सफलताको कामना गर्नुभयो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजेन्द्र खनाल, शिक्षक अभिभावक संघका अध्यक्ष इन्द्रमणि अर्याललगायतले बोल्दै कालिकाले किताविज्ञानसँगै उत्कृष्ट नतिजा र दक्ष जनशक्ती उत्पादनलाई प्राथमिकतामा राखेर अघि बढेको उल्लेख गर्नुभयो । 

    सोही अवसरमा उत्कृष्ट नतिजा ल्याउन सफल शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका निवर्तमान अध्यक्ष नित्यानन्द ज्ञवाली, कालिका क्याम्पसका अध्यक्ष होमबहादुर गलामी, शिक्षा विकास तथा समन्वय इकाईका शिक्षा शाखा अधिकृत झविलाल विक, अभिभावक लगायतको सहभागीता थियो । कार्यक्रमको सञ्चालन सह–प्राचार्य दीपक बञ्जाडेले गर्नुभएको थियो । कालिका देशभरमै सबैभन्दा धेरै विद्यार्थी पढ्ने सामुूायिक स्कुल हो । विद्यालयमा ८ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।