२०८३, मंसिर १२ गते

Nov 28 2026 | २०८३, मंसिर १२ गते

विपद् प्रतिकार्य प्रभावकारी बनाउन रेडक्रसको पूर्वतयारी जाँच कार्यक्रम

शनिवार , मंसिर १२, २०८३

  • 331
    Shares
  • 331
    Shares
  • भैरहवा, १२ मंसिर । विपद् जोखिम न्यूनीकरण तथा प्रभावकारी प्रतिकार्यका लागि पूर्वतयारी क्षमता सुदृढ गर्ने उद्देश्यले रुपन्देहीको भैरहवामा नेपाल रेडक्रस सोसाइटीका जिल्ला तथा पालिका शाखाहरूका लागि पूर्वतयारी जाँच कार्यक्रम सुरु भएको छ ।

    नेपाल रेडक्रस सोसाइटीको आयोजना तथा स्वीस रेडक्रसको सहयोगमा शहरी पूर्वतयारी तथा वातावरणीय उत्थानशीलता प्रवद्र्धन परियोजनाअन्तर्गत प्रिपेयर्डनेस फर इफेक्टिभ रेस्पोन्स (पीईआर) मा आधारित पूर्वतयारी जाँच कार्यक्रम शुक्रबार (हिजो) देखि सुरु भएको हो । मंसिर १३ गतेसम्म सञ्चालन हुने तीनदिने कार्यक्रममा जिल्ला तथा पालिका शाखाहरूको विपद् पूर्वतयारी अवस्थाको मूल्यांकन गरी आवश्यक सुधारका लागि कार्ययोजना निर्माण गरिनेछ ।

    कार्यक्रमको उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्नुहुँदै नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाका सदस्य तथा सुपर–२ परियोजनाका संयोजक महेन्द्र कुमार श्रेष्ठले सुपर–२ परियोजनालाई व्यवस्थित र समयमै प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्रीय कार्यालयबाट यो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले तीनदिने कार्यक्रममा गहन छलफल हुने भएकाले सहभागीहरूलाई आफ्ना विचार, अनुभव तथा भावी योजना प्रस्तुत गर्न आग्रह गर्नुभयो ।

    तालिमका सहजकर्ता यज्ञ लामिछानेले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै स्थानीयस्तरमा सम्भावित विपद् जोखिम, त्यसको सामना गर्न आवश्यक स्रोतसाधन र सम्बन्धित निकायको तयारी अवस्थाबारे मूल्यांकन गरिने बताउनुभयो । उहाँका अनुसार यो कार्यक्रमले जिल्ला तथा पालिका शाखासँग उपलब्ध जनशक्ति, बजेट, उपकरण, स्वयंसेवक, आवश्यक सामग्री र समन्वयको अवस्थाबारे जानकारी लिन सहयोग गर्छ । साथै, कुन स्थानीय तहमा बाढी, आगलागीलगायतका कस्ता विपद्को जोखिम छ र त्यसको प्रतिकार्यका लागि के–कस्ता तयारी आवश्यक छन् भन्ने विषय पनि मूल्यांकनमा समेटिनेछ ।

    मूल्यांकनबाट शाखाहरूका कमजोरी तथा सुधार गर्नुपर्ने पक्ष पहिचान गरी आवश्यक कार्ययोजना बनाइने उहाँले बताउनुभयो । स्थानीय सरकार तथा सुरक्षा निकायसँगको साझेदारी र समन्वयको अवस्थालाई समेत मूल्यांकनको विषय बनाइएको उहाँको भनाइ छ ।
    नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाका सभापति राम चन्द्र उपाध्यायले सन् २०२३ देखि सैनामैना नगरपालिकाबाट सुपर परियोजना सुरु भएको जानकारी दिनुभयो । सैनामैनामा परियोजना सफल भएपछि त्यसको मूल्यांकनका आधारमा दोस्रो चरणको परियोजना ‘सुपर–२’ सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

    हाल रुपन्देहीको सैनामैना र सिद्धार्थनगर नगरपालिकामा सुपर–२ परियोजना सञ्चालन भइरहेको उल्लेख गर्दै उहाँले यस कार्यक्रमबाट सहभागी शाखाहरूले अधिकतम लाभ लिनुपर्नेमा जोड दिनुभयो । सैनामैना शाखाले जस्तै अन्य शाखाहरूले पनि प्रभावकारी काम गर्न सके भविष्यमा तेस्रो चरणको परियोजना सञ्चालन हुने सम्भावना रहने उहाँको भनाइ छ ।

    विगतमा रेडक्रसको भूमिका विपद् आइसकेपछि प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा राहतमा केन्द्रित हुने गरेको स्मरण गर्दै उहाँले अहिले विपद् आउनुअघि नै पूर्वतयारी गरेर जोखिम र क्षति न्यूनीकरण गर्ने अवधारणाअनुसार काम भइरहेको बताउनुभयो । उहाँले रेडक्रस राज्यको सहायक अंगका रूपमा विपद् व्यवस्थापनमा आफ्नो भूमिका निर्वाह गरिरहेको पनि उल्लेख गर्नुभयो ।

    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाको उपसभापति रुपमा कुमारी हिराचनले रेडक्रसका सात सिद्धान्त वाचन गर्नुभएको थियो । सुपर–२ परियोजनाकी सैनामैना संयोजक प्रभा थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।