२०८३, मंसिर १२ गते

Nov 28 2026 | २०८३, मंसिर १२ गते

लुम्बिनीमा दक्षिण एसियाली चिनियाँ भाषा शिक्षा तथा सहकार्य मञ्चको उद्घाटन

शनिवार , मंसिर १२, २०८३

  • 124
    Shares
  • 124
    Shares
  • लुम्बिनी, १२ मंसिर । लुम्बिनीमा तीन दिनसम्म सञ्चालन हुने दक्षिण एसियाली चिनियाँ भाषा शिक्षा तथा सहकार्य मञ्च (South Asian Forum on Chinese Language Education and Cooperation) को उद्घाटन र गोष्ठी प्रारम्भ भएको छ । 

    नोभेम्बर २७ देखि २९ सम्म लुम्बिनी बौद्ध विश्वविद्यालयमा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय मञ्चको उद्घाटन समारोहमा नेपाल, चीन तथा दक्षिण एसियाका विभिन्न देशका प्राध्यापक, अनुसन्धानकर्ता, चिनियाँ भाषाका शिक्षक, शिक्षाविद् तथा शैक्षिक संस्थाका प्रतिनिधिहरूको सहभागीता छ । 

    चिनियाँ भाषा शिक्षक संघको आयोजनामा, विश्व चिनियाँ भाषा शिक्षण समाजको सहयोगमा तथा लुम्बिनी बौद्ध विश्वविद्यालय र विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटको सहकार्यमा आयोजना गरिएको हो । 

    कार्यक्रममा कन्फ्यसियस इन्स्टिच्यूट, काठमाडौं विश्वविद्यालय, कन्फ्यसियस इन्स्टिच्यूट, त्रिभुवन विश्वविद्यालय, चिनियाँ भाषा तथा तथा अध्ययन केन्द्र र कन्फ्युसियस कक्षाकोठा, एलआरआइ स्कूलको संमेत संलग्नता रहेको छ ।

    कार्यक्रममा मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तौफिक अहमख खाँले चिनियाँ भाषामा पोख्त जनशक्तिको विकासमा कन्फ्युशियस इन्स्टिच्युटको भुमिकाको सह्राना गर्नुभयो । उहाँले नेपालमा चिनियाँ मूल भाषी स्वयम्सेवी शिक्षकलाई सहजीकरण गर्न र त्यसमा देखिने जटिलता हटाउने सन्दर्भमा सदैव सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । लुम्बिनी क्षेत्रमा आउने पर्यटकहरूलाई चाहिने चिनियाँ भाषाका दोभाषेहरूको विकासमा स्थानीय युवाहरूलाई प्रोत्साहन दिन र प्रशिक्षित गर्नका लागि अनुरोध गर्नुभयो । त्यस कार्यमा सहजीकरण र व्यवस्थापनमा सदैव सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । 

    कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. मणिकरत्न शाक्य, रजिस्ट्रार इन्द्र काफ्ले, नेपाल चिनियाँ भाषा शिक्षक संघका उपाध्यक्ष डा. रामचन्द्र कार्की, बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयकी प्रा. झाओ जिङ, काठमाडौं विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ निर्देशक ली श्वाङछङ तथा लुम्बिनी बौद्ध विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटकी निर्देशक काओ रुईलगायतले चिनियाँ भाषाको महत्व र चिनियाँ संस्कृतिको प्रभावबारेमा बोल्नुभएको थियो ।

    लुम्बिनी बौद्ध विश्वविद्यालय, कन्फ्युसियस इन्स्टिच्युटकी निर्देशक कावो रूइले चिनियाँ भाषालाई भाषाका रूपमा मात्र बुझ्नुभन्दा पनि चिनियाँ कला, संस्कृति, दर्शन, चिन्तन र चिनियाँ जीवनप्रणालीको एकीकृत स्वरूपमा बुझ्न सक्दा मात्र चीनियाँ भाषामा पोख्त हुन सकिने धारणा राख्नुभयो । उहाँले चिनियाँ भाषाको ज्ञान अन्तराष्ट्रिय समूदायसँगको सम्बन्ध विस्तार र अर्थिक सहकार्यको ढोका खोल्ने माध्यम रहेको धारणा राख्नुभयो । नेपालका विद्यालयमा चिनियाँ भाषा र चिनियाँ संस्कृतिबारेको सिकाइलाई विद्यालय शिक्षाको एक पक्षका रूपमा समावेश गर्दा नेपाली विदयार्थीहरूले चीनमा अवसरको ढोका खोल्न सफल हुने उहाँको भनाइ थियो । उहाँले कन्फ्युसियस इन्स्टिच्युटको निर्देशकका हैसियतमा नेपालका शैक्षिक संस्थासँग चिनियाँ भाषा र संस्कृतिलाई नेपाली विद्यार्थीहरूसम्म पुर्याउन र सिकाउनका लागि अवश्यक सहकार्यमा सदैव तयार रहेको जानकारी दिनुभयो ।

    कार्यक्रममा सहभागी वक्ताहरूले दक्षिण एसियामा चिनियाँ भाषा शिक्षाको विकास, स्थानीय स्तरमा नै चिनियाँ भाषा पढाउन सक्ने सक्षम शिक्षकको उत्पादन, पाठ्यक्रमको स्थानीयकरण, बौद्ध अध्ययन तथा अनुवाद, अनुसन्धान र क्षेत्रीय शैक्षिक सहकार्यका विषयमा आ–आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो । त्यसअवसरमा नेपाल-चिनियाँ शिक्षा अनुसन्धान संघको उद्घाटन पनि गरिएको छ । 

    दुई दिनसम्म चल्ने यस कार्यक्रम अन्तर्गत चिनियाँ भाषा र यसको महत्वबारेमा कूल ३० वटा अनुसन्धानपत्र प्रस्तुत हुने डा. रामचन्द्र कार्कीले दिनुभयो । कार्कीका अनुसार प्रस्तुत हुने अनुसन्धानपत्रमा चिनियाँ भाषा शिक्षण, पाठ्यक्रम विकास, शिक्षक तालिम, स्थानीयकरण, अनुवाद तथा चीन–दक्षिण एसिया सम्बन्धलगायतका विषय समेटिएका छन् ।