२०८३, कार्तिक २८ गते

Nov 14 2026 | २०८३, कार्तिक २८ गते

चीनमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री कोर्समा रुपन्देहीका राकेश यादव सहभागी हुँदै

शनिवार , कार्तिक २८, २०८३

  • 130
    Shares
  • 130
    Shares
  • भैरहवा, २८ कार्तिक । रुपन्देहीका तेक्वान्दो खेलका अन्तर्राष्ट्रिय निर्णायक (इन्टरनेशनल रेफ्री) राकेश यादव चीनको गोन्जाउमा आयोजना हुने अन्तर्राष्ट्रिय रेफ्री रिफ्रेसर कोर्समा सहभागी हुनुहुने भएको छ ।

    चिनियाँ तेक्वान्दो संघको निमन्त्रणामा आगामी नोभेम्बर १७ देखि २० तारिखसम्म सञ्चालन हुने उक्त कार्यक्रममा यादवसहित नेपालका १७ जना अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक सहभागी हुँदैछन् ।

    राष्ट्रिय खेलकुद परिषद्को प्रधान कार्यालय त्रिपुरेश्वर, काठमाडौं र नेपाल तेक्वान्दो संघले पत्राचार गर्दै उक्त कार्यक्रममा सहभागी हुने नेपाली निर्णायकहरूका लागि आवश्यक सहयोग तथा सहजीकरण गरिदिन सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।

    विश्व तेक्वान्दोअन्तर्गत सञ्चालन हुने १६० औं क्योरुगी अन्तर्राष्ट्रिय रेफ्री रिफ्रेसर कोर्समा सहभागी भएर यादवले अन्तर्राष्ट्रियस्तरमा निर्णायकका रूपमा आफ्नो ज्ञान, सीप र अनुभवलाई थप अद्यावधिक गर्ने अवसर प्राप्त गर्नुहुनेछ ।

    सन् १९९९ देखि तेक्वान्दो खेलमा आबद्ध यादव लामो समयदेखि खेलाडी उत्पादन, प्रशिक्षण तथा निर्णायकको भूमिकामा सक्रिय हुनुहुन्छ । उहाँको यस अन्तर्राष्ट्रिय सहभागीताले रुपन्देहीसहित समग्र नेपाली तेक्वान्दो खेलको विकास र प्रवद्र्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ । यस सहभागीताले जिल्लाको खेलकुद क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धि गर्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ ।