२०८३, कार्तिक २१ गते

Nov 07 2026 | २०८३, कार्तिक २१ गते

सरकारले काम गरिरहेको छ, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चाँडै चल्छ : सांसद अग्रवाल

शनिवार , कार्तिक २१, २०८३

  • 124
    Shares
  • 124
    Shares
  • भैरहवा, २१ कार्तिक । प्रतिनिधि सभा सदस्य पुनम कुमारी अग्रवालले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकार निकै सकारात्मक ढंगले अगाडि बढिरहेको बताउनुभएको छ । संसदको शून्य, विशेष तथा आकस्मिक समयमा निरन्तर गौतमबुद्ध विमानस्थलको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गर्दै उहाँले विमानस्थलका विषयमा फैलाइएका नकारात्मक भ्रम र आशंकाहरुलाई चिरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    शनिबार भैरहवास्थित चेम्बर अफ कमर्स, रुपन्देहीको सभाहलमा आयोजित निजी क्षेत्रका प्रतिनिधि र पर्यटन व्यवसायीहरुसँगको छलफलमा सांसद अग्रवालले जसरी हुन्छ, विमानस्थल सञ्चालन भएरै छाड्ने जनाउँदै त्यसमा सरकार लागिपरेको दावी गर्नुभयो । ‘सरकारले आवश्यक आन्तरिक तयारी गरिरहेको छ । यसमा यहाँहरुको जनप्रतिनिधिको हिसाबले संसद बैठक, मन्त्रालय, विभाग, विभिन्न कुटनीति नियोगहरुमा मैले पनि पहल गरिरहेकी छु । सबैभन्दा महत्वपूर्ण कुरा सरकारले आन्तरिक रुपमा तयारी गरिरहेको छ’, रास्वपा सांसद अग्रवालले भन्नुभयो–‘त्यसैले विमानस्थल छिट्टै पूर्णरुपमा सञ्चालनमा आउनेछ भन्ने मेरो विश्वास छ ।’

    सरकारले निरन्तर पहल र तयारीकै कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको जनाउँदै उहाँले गौतमबुद्ध विमानस्थल पनि अवश्य सञ्चालन हुन्छ भन्ने आश्वस्त हुन निजी क्षेत्रका प्रतिनिधि र पर्यटन व्यवसायीहरुलाई आग्रह गर्नुभयो । ‘विगतमा के भयो, कसले के गर्यो र कहाँ चुक्यौं भन्नेतिर अल्झिनुभन्दा अब कसरी अगाडि बढ्ने भन्नेमा ध्यान केन्द्रित गर्नुपर्छ,’ उहाँले भन्नुभयो–‘केही ढिलाइ पक्कै भएको हो । तर, यो विमानस्थल जसरी पनि चल्छ । यही सरकारले चाँडै नै चलाउँछ ।’ विमानस्थल नचल्दासम्म आफूले आवाज उठाइरहने जनाउँदै यसका लागि सबैको पहलकदमी उत्तिकै आवश्यक रहेको सांसद अग्रवालको भनाइ छ ।

    विमानस्थल सञ्चालन प्रक्रियालाई तीव्र बनाउन निजी क्षेत्र विभाजित नभइ एकताबद्ध भएर उभिनुपर्ने बताउँदै उहाँले त्यसका लागि आफू निजी क्षेत्रसँग हातेमालो गर्न सदैव तयार रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । विमानस्थल सञ्चालनमा नआउँदा निजी क्षेत्रले व्यहोर्नुपरेको आर्थिक मर्का र समस्याप्रति आफू पूर्णरुपमा सचेत रहेको उल्लेख गर्दै उहाँले विमानस्थल सञ्चालन हुँदा निजी क्षेत्र मात्र नभइ समग्र देशको अर्थतन्त्रले नै गति लिने स्पष्ट पार्नुभयो । पर्यटकहरुलाई आकर्षित गर्न उद्योगी–व्यवसायीहरुले आफ्ना सेवामा छुट तथा विशेष पर्यटकीय प्याकेजहरु ल्याउनुपर्ने सुझाव पनि उहाँले दिनुभयो ।

    विशेष आर्थिक क्षेत्र (सेज), गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, एकीकृत जाँच चौकी (आईसीपी), बुद्ध जन्मस्थल लुम्बिनी र सिद्धार्थ क्रिकेट रंगशालाको एकीकृत विकास र संचालनबाट नै समग्र रुपन्देही र यस क्षेत्रको आर्थिक समृद्धि सम्भव हुने उहाँको भनाइ थियो ।

    सांसद अग्रवालले विमानस्थल सञ्चालनका विषयमा छिट्टै नै प्रधानमन्त्रीको भारत भ्रमणबाट ‘गुड न्यूज’ आउने विश्वास व्यक्त गर्नुभयो । ‘यहाँहरुलाई थाहै छ, म सांसद भएपछि संसदमा पाँच पटकसम्म विमानस्थल संचालनको मुद्दा जोडदार रुपमा उठाइसकेकी छु’, उहाँले भन्नुभयो, ‘यो कुरा पक्कै पनि प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा छ । त्यसैले गुड न्युज यहाँहरुले पाउनुहुन्छ भनेकी हुँ ।’ उहाँले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा एयररुट लगायतका समस्या समाधान हुने विश्वास पनि गर्नुभयो । विगतमा केही उडान भए पनि निरन्तर हुन नसकेको जनाउँदै प्राविधिक कारणहरुका साथै रुट र निजी क्षेत्रको सहभागिताका विषयमा गम्भीर समीक्षा गर्नुपर्ने उहाँले औल्याउनुभयो।

    सांसद अग्रवालले निजी क्षेत्र बिना देशको आर्थिक विकास सम्भव नहुने स्पष्ट पार्दै सरकारले निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने नीति लिएको भन्दै ढुक्क भएर विश्वासका साथ काम गर्न आग्रह गर्नुभयो । नौतनवा रेल्वेसँग कनेक्टिभिटीमा जोड दिँदै उहाँले यसबारे पनि पहल भइरहेको बताउनुभयो । सांसद अग्रवालले लुम्बिनी प्रदेशका सबै जनप्रतिनिधि र निजी क्षेत्र एकताबद्ध भएर अगाडि बढेमा रुपन्देहीका सबै विकास निर्माणका कामहरु सफल हुने बताउँदै सबैलाई धैर्य गर्न र सकारात्मक भएर सहयोग गर्न आग्रह गर्नुभयो ।

    छलफलमा चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोक्का, पूर्वअध्यक्ष नारायण प्रसाद भण्डारी, वाणिज्य उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव लक्ष्मी अधिकारी, होटल संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, सिद्धार्थ होटल संघका वरिष्ठ उपाध्यक्ष किशोर जोशी, सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीका महासचिव कृष्ण प्रसाद घिमिरे, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देही अध्यक्ष राजेश महोत्रा, नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष चन्द्र बहादुर थापा, सोट्टो नेपाल लुम्बिनी प्रदेश उपाध्यक्ष संजीव जोशी लगायतले बोल्दै विमानस्थल नचल्दा निजी क्षेत्रमा मात्रै नभई समग्र अर्थतन्त्रमा असर परिरहेको जनाउँदै सरकारले तत्काल पूर्ण क्षमतामा संचालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँहरुले विगतमा जति पहल गर्दा पनि विमानस्थल पूर्णक्षमतामा चल्न नसकेको जनाउँदै अहिलेको सरकारबाट थोरै आशा पलाएको बताउँदै सबै मिलेर नियमित उडानमा पहल गर्नुपर्ने बताउनुभयो । व्यवसायीले प्रधानमन्त्रीको आगामी भारत भ्रमणमा विमानस्थलको एजेण्डा प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए  । यसका लागि पहल गर्न सांसद अग्रवाललाई आग्रह गरे ।