२०८३, आश्विन ११ गते

Sep 27 2026 | २०८३, आश्विन ११ गते

अबोध बालक

आइतवार , आश्विन ११, २०८३

  • 208
    Shares
  • 208
    Shares
  • मेरा कलिला हातहरुमा
    चाँदीका डोरी बाँधिदिन्छन्,
    अझै पाइला चिन्न नसकेका खुट्टामा
    थरिथरिका कल्ली झुन्ड्याई दिन्छन्।
    मेरा कोमल गालामा
    थरि थरिका सुगन्ध पोतिदिन्छन्,
    मनले नरुचाएका स्वादहरु 
    जबरजस्ती मुखमा कोचिदिन्छन्।

    आफ्ना खुसीका बस्त्रहरु 
    मेरो सानो शरीरमा थोपरि दिन्छन्
    उनका रहरका लागि 
    पाउमा थरि थरिका 
    जुत्ता,चप्पल लगाई दिन्छन्। 

    निद्रा नलागे पनि
    सुताइदिन्छन्,
    निद्राले छोएपछि
    फेरि उठाइदिन्छन्।

    मेरो नाम पनि
    मेरो कहाँ रह्यो र?
    कहिले ‘साने’,
    कहिले ‘पुन्टे’,
    कहिले ‘राजा’,
    कहिले ‘गुन्थे’,
    कहिले ‘काले’ भन्छन, 
    मान्छे फेरिए संगै 
    मेरो नाम फेरि दिन्छ्न्
     
    मेरो वास्तविक नाम के हो?
    म सोध्न सक्दिनँ
    मलाई कहाँ दुख्छ
    म भन्न सक्दिनँ
    बोल्न खोज्छु,
    म बोल्न सक्दिन 
    मलाई मन नपर्ने कुरा 
    म भन्न सक्दिन 

    हे ईश्वर, 
    जन्मँदै बोल्न सक्ने
    किन बनाइनस् मलाई ?
    मेरो पीडा,
    मेरो आँखाले बोलिरहँदा पनि
    किन सुन्न सकिनस मलाई ?
    धिक्कार छ तलाई l
     
    सक्छस् भने,
    अलि छिटो हुर्काइदे मलाई
    यति ठूलो बनाइ दे कि 
    मेरो मौनताको अर्थ
    म आफैँ भन्न सकूँ ।

    किनकि,
    मलाई सजाउनेहरू धेरै छन् यहाँ,
    मलाई हँसाउने र रुवाउने पनि धेरै छन् यहाँ 
    मलाई आफ्ना रहरले भर्नेहरू धेरै छन्
    तर मेरो सानो मन भित्रको पीडा 
    बुझ्ने छैन कोही यहाँ।