शनिवार , आश्विन १०, २०८३
भैरहवा, १० असोज । युवा नेता तथा सामाजिक अभियन्ता भोपेन्द्र प्रसाद यादवले राजनीतिक यात्रा केवल पद र प्रतिष्ठाको खोजी नभएको बताउनुभएको छ । उहाँले राजनीति भनेको जनताका समस्या बुझ्ने, नेता–नेतामा निरन्तर संवाद, भेटघाट र अनुभवबाट विचारलाई परिष्कृत गर्ने यात्रा भएको बताउनुभयो ।
यादवले विभिन्न राजनीतिक दलका नेता तथा राजनीतिक हस्तीहरूसँगको भेटघाटलाई आफूले राजनीतिक यात्रा र विचार निर्माणकै क्रममा लिएको बताउनुभएको हो । उहाँले हरेक भेटले नयाँ दृष्टिकोण र हरेक संवादले जिम्मेवारीबोध गराउने उल्लेख गर्नुभएको छ ।
उहाँले भन्नुभयो–‘राजनीतिक यात्रा केवल पद र प्रतिष्ठाको खोजी होइन, जनताको समस्या नेता–नेतामा निरन्तर संवाद, भेटघाट र अनुभवबाट विचारलाई परिष्कृत गर्ने यात्रा हो । हरेक भेटले नयाँ दृष्टिकोण दिन्छ, हरेक संवादले जिम्मेवारीबोध गराउँछ ।’ विचार, सिद्धान्त र जनसेवाको भावनालाई आत्मसात् गर्दै अघि बढ्नु नै सार्थक राजनीतिक यात्राको आधार भएको यादवको भनाइ छ ।
विभिन्न राजनीतिक नेताहरूसँगको भेटघाटपछि आफू कुनै पार्टीमा प्रवेश गर्न लागेको चर्चा हुनसक्ने भए पनि अहिले नै आफू कुनै दलमा प्रवेश नगरेको उहाँले स्पष्ट पार्नुभएको छ ।
‘अहिले नै कुनै पार्टीमा प्रवेश गरेको होइन । अन्यथा कसैले सोची हाल्नुपर्ने र टिकाटिप्पणी गरी नै हाल्नुपर्ने अवस्था छैन । हामी जे गर्छौं, खुलेआम गर्छौं । गरौंला पनि कुनै दिन,’ यादवले भन्नुभयो ।
उहाँले आफूहरूको टीम रहेको तथा मधेश र देशको नेतृत्व गर्ने क्षमतावान साथीहरू साथमा रहेको दावीसमेत गर्नुभयो। राजनीतिक यात्रामा आफूहरू धैर्यताका साथ अघि बढिरहेको र आगामी दिनमा पनि धैर्यता कायम रहने उहाँले बताउनुभयो ।
यादवले आफ्नो राजनीतिक यात्रामा संवाद, सहकार्य र अनुभवका क्रममा जोडिएका विभिन्न राजनीतिक व्यक्तित्वहरूप्रति आभारसमेत व्यक्त गर्नुभएको छ । उहाँले रवि लामिछाने, पुष्पकमल दाहाल ‘प्रचण्ड’, ई.दीपककुमार साह, डा. अमरेशकुमार सिंह, राजकिशोर यादव, डा. शरदसिंह यादव तथा आफ्ना अभिभावक महेन्द्र राय यादव लगायतप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।
भोपेन्द्र प्रसाद यादव जनमत पार्टीका पूर्व सचिव हुनुहुन्छ । उहाँले उक्त पार्टीको सचिव पदबाट राजीनामा दिइसक्नुभएको छ । यादव रुपन्देही क्षेत्र नम्बर ४ बाट दुईपटक प्रतिनिधि सभा सदस्यको उम्मेदवारसमेत भइसक्नुभएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij