२०८३, आश्विन ११ गते

Sep 27 2026 | २०८३, आश्विन ११ गते

भिषण वर्षाकाबीच पश्चिम नेपाल सहकारीको रक्तदान, १२० पिन्ट रगत संकलन

शनिवार , आश्विन १०, २०८३

  • 205
    Shares
  • 205
    Shares
  • बुटवल, १० असोज । भिषण वर्षा र विपद् जोखिमकाबीच पश्चिम नेपाल यातायात सहकारी संस्था लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रममा १२० पिन्ट रगत संकलन भएको छ ।

    विपदका बेला हुन सक्ने सम्भावित दुर्घटना र रगतको अभाव आपूर्ति गर्न बस ब्यबसायी, चालक, मजदूर र कर्मचारीको सहभागीतामा बृहत रक्तदानको आयोजना गरिएको संस्थाका अध्यक्ष दधिराम खरेलले बताउनुभयो । गत महिना आएको भोटेकोशी रसुवा भिषण वितण्डाकारी बाढीका कारण हजारौं घाइते भएको र यसमहिना पनि पुनः बाढीपहिरोको जोखिम रहेको मौसमविदहरुको भनाइ रहेकोले संभावित रगतको अभाव पूर्ति गर्न आकस्मिक रक्तदानको आयोजना गरिएको अध्यक्ष खरेलले बताउनुभयो । भिषण वर्षा र उच्च विपद् जोखिमकाबीच सामाजिक उत्तरदायित्व र मानवीय भावनाका साथ पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.को सहजीकरणमा रक्तदान कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो ।

    प्रतिकुल मौसम र सम्भावित विपदबाट सर्वसाधारण यात्रुसहित यातायात व्यवसायी, चालक, मजदूर र कर्मचारीसमेत जोखिममा रहेकोले पनि यतिबेला रगत संकलनको आवश्यकता रहेको संस्थाका प्रबन्ध संचालक रामचन्द्र भुसालले बताउनुभयो । रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सञ्चालन गरिएको यो कार्यक्रमले विद्यमान र भैपरी आउने रगतको समस्या समाधान गर्न सघाउ पुर्याउने उहाँले दावी गर्नुभयो । 

    कार्यक्रममा संस्थाका सञ्चालक तथा दुर्घटना न्यूनीकरण अभियानका संयोजक नारायण घिमिरे, सञ्चालक तथा प्रा.लि.का लेखा संयोजक मोहन पि.एस, संस्थाका सञ्चालक तथा सहकारीका उपाध्यक्ष जीवन बन्जाडे, संचालकहरु गोपाल पौडेल, चेतनारायण बेलबासे, जितेन्द्र खत्री, नारायण भण्डारी, रामचन्द्र खड्का, सुरेन्द्र श्रेष्ठ, गोपाल पौडेल, सुरेन्द्र श्रेष्ठ, मज्जु बस्नेत, पत्रकार हरिष ढकाल लगायतले वर्तमान अवस्थामा रक्तदानको महत्व र आवश्यक्ता बारे चर्चा गर्नुभएको थियो ।

    नेपाल रेडक्रस सोसायटी रक्त संचार केन्द्र बुटवलका अनुसार रक्तदान मानव जीवन बचाउने महत्वपूर्ण मानवीय कार्य हो । दुर्घटना, शल्यक्रिया, प्रसूति, क्यान्सर तथा विभिन्न रोगका कारण धेरै मानिसलाई समय–समयमा रगत आवश्यक पर्छ । यस्तो अवस्थामा अस्पतालमा पर्याप्त रगत उपलब्ध भएमा बिरामीको जीवन बचाउन ठूलो सहयोग पुग्छ । स्वस्थ व्यक्तिले स्वेच्छाले रक्तदान गर्दा रगतको अभाव कम हुन्छ र आवश्यक परेका व्यक्तिलाई समयमै उपचार गर्न सकिन्छ। रक्तदान गर्दा शरीरमा रहेको पुरानो रगतको स्थानमा नयाँ रक्तकोष बन्ने प्रक्रिया सक्रिय हुन्छ । 

    सामान्यतया स्वस्थ वयस्कले चिकित्सकीय मापदण्ड पूरा गरेमा निश्चित अन्तरालमा रक्तदान गर्न सक्छ । रक्तदान सुरक्षित, सरल र केही मिनेटमै सम्पन्न हुने प्रक्रिया हो । त्यसैले रक्तदान केवल अरूको जीवन बचाउने कार्य मात्र नभई सामाजिक जिम्मेवारी र मानव सेवाको उत्कृष्ट उदाहरण पनि हो । ‘रक्तदान, जीवनदान’ भन्ने भावनाका साथ योग्य व्यक्तिहरूले नियमित रूपमा रक्तदान गर्नुपर्छ । यसले आपत्कालीन अवस्थामा रगतको उपलब्धता सुनिश्चित गरी धेरै अमूल्य जीवन जोगाउन मद्दत गर्छ ।